मानुङ इफेक्टः सामाजिक सञ्जालमा आफ्नो ठाउँ चिनाउने लहर

  • ख-
  • ख+

दमौली : व्यास ५ को मानुङकोट पर्यटक थेग्नै नसक्ने अवस्थामा पुग्यो । मूलतः सामाजिक सञ्जालका कारण पर्यटकीय मानुङले चर्चा पाएको धेरैको ठम्याई छ । एकै दिन १० हजार बढी मानिस आएर थेग्न नसक्ने अवस्थामा पुगे पछि अब मानुङमा सीमित संख्यामा मात्र मानिस पठाउन दैनिक तीन सयको संख्या तोकिएको छ ।


तर, अझै धेरै प्रचार पाउन नसकेका ठाउँ धेरै छन् । तनहुँका पर्यटकीय स्थलहरुको प्रचारका लागि युवाहरुले अभियान थालेका छन् । चाहे केशवटार होस् वा भुजीकोट, तनहुँसुर वा मिर्लुङकोट नै किन नहोस् स्थानीयले सामाजिक सञ्जालमार्फत आफ्नो ठाउँको प्रचारलाई गति दिन थालेका छन् । र, उनीहरुले प्रयोग गर्ने माध्यम सामाजिक सञ्जाल नै बन्न थालेको छ ।

ऋषिङ दुबुङबाट देखिएको सूर्योदयको दृश्य ।
तस्बिरः दानबहादुर श्रेष्ठ


कोहीले ड्रोनबाट भिडियो खिच्ने, कोही युट्युब तथा कोही टिकटक । अनि धेरैले सामाजिक सञ्जाल फेसबुकमा आफ्ना फोटो र भिडियो पनि पोष्ट गरिरहेका छन् । सबैको आशा छ, आफ्नोमा पनि पर्यटकको घुईचो लगाउने ।
युट्युबमा सक्रिय फल थापाले आफ्नो गाउँ क्षेत्रको ड्रोनमार्फत भिडियो तथा सामाजिक सञ्जालमा फोटो पोष्ट गरेका छन् । ‘हाम्रो ठाउँ पनि प्राकृतिक दृश्यावलीका कारण अगाडि छ,’ उनले भने,‘प्रचारका लागि भिडियो तयार पारेको छु ।’

मिर्लुङबाट देखिएको दृश्यावलीतस्बिरः संगम सुमिर पिया


ऋषिङका दानबहादुर श्रेष्ठ बिहानै गाउँ नजिकैको भ्यु टावरमा पुगे । उनले सूर्योदय अगाडि देखिने दृश्यावलीको वर्णन गर्दै फेसबुकमा लाईभ गरे ।
मिर्लुङमा सक्रिय व्यवसायी तथा युवा अगुवा सुमिर संगम पियाले सामाजिक सञ्जालमा मिर्लुङकोट तथा आसपासका फोटोहरु बेलाबखत राखिरहन्छन् ।

तर उनले अहिले यसलाई बढाएका छन् ।
तनहुँसुरलाई चिनाउन भन्दै युवा अनुज पण्डितले फेसबुक ग्रुप नै तयार पारेर निरन्तर पोष्ट गरिरहेका छन् । गाउँ आएका अरु युवाले पनि निरन्तर सामाजिक सञ्जालमा फोटो राखिरहेका छन् । यसले प्रचार प्रसारमा मद्दत पुग्ने विश्वास उनको छ ।

सेनवंशी ऐतिहासिक तनहुँसुर दरबार ।
तस्बिरः अनुज पण्डित


तनहुँसुरका पर्यटन विज्ञ ध्रुवराज पण्डित यसले ठाउँको चिनारीका लागि स्थानीय लाग्नुपर्ने रहेछ भन्ने सन्देश दिएको छ । ‘हामी अन्तजस्तो एकैचोटि भीड बढाउन त चाहन्नौं,’ उनले भने,‘तर प्रचारसँगै पर्यटक आएमा खुशी भएर फर्कने वातावरण बनाउन चाहन्छौं ।’


मध्य नेपाल पर्यटन विकास समितिका पर्यटन क्षेत्रका अर्का जानकार हरिसिं गुरुङ प्रचारप्रसारलाई अहिलेको प्रवृत्तिले सघाउने बताउँछन् । ‘प्रचारप्रसार नभैकन मानिस आउने सम्भावना हुँदैन,’ उनले भने,‘तर सँगसँगै मानिसलाई त्यहीं भुलाउने र संस्कृतिमा रमाउने वातावरण पनि बनाउन सकिए दिगो पर्यटनमा मद्दत पुग्छ ।’

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि damaulinews.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्

कभर स्टोरी