काठमाडौं : भोटेकोशी क्षेत्रमा आएको बाढी तथा पहिरोबाट प्रभावित तथा पीडित परिवारको सहयोगका लागि झुलबहादुर आले स्मृति प्रतिष्ठानले ४० हजार रुपैयाँ सहयोग गरेको छ।
प्राकृतिक विपद्का कारण प्रभावित बनेका नागरिकलाई राहत तथा सहयोग पुर्याउने उद्देश्यले प्रतिष्ठानले उक्त रकम सहयोग गरेको हो।
झुलबहादुर आले स्मृति प्रतिष्ठानका अध्यक्ष कमल बहादुर आलेले बाढी–पहिरोबाट प्रभावित तथा पीडितहरूको पीडामा साथ दिन प्रतिष्ठानका तर्फबाट ४० हजार रुपैयाँ सहयोग गरिएको जानकारी दिए।
विपद्को समयमा पीडित परिवारलाई राहत उपलब्ध गराउनु सामाजिक दायित्व भएको उल्लेख गर्दै अध्यक्ष आलेले मानवीय सेवाका क्षेत्रमा प्रतिष्ठानले आगामी दिनमा समेत आवश्यक सहयोग र सहकार्य गर्दै जाने बताए।
भोटेकोशी क्षेत्रमा बाढी तथा पहिरोका कारण जनधनमा क्षति पुगेपछि विभिन्न संघ–संस्था तथा व्यक्तिहरूले पीडितको राहत तथा पुनःस्थापनाका लागि सहयोग गर्दै आएका छन्। प्रतिष्ठानको यो सहयोगले विपद्मा परेका परिवारलाई केही राहत पुग्ने अपेक्षा गरिएको छ।





