बजारमा ग्यास अभाव भएपछि सहज आपूर्तिको माग गर्दै बसे अधिकारी अनसन

दमौली न्युज
  • ख-
  • ख+

दमौली: अहिले देशभर खाना पकाउने एलपीजी ग्यासको चरम अभाव देखिएको छ । उपभोक्ताहरू एक सिलिन्डर ग्यास खरिदका लागि हप्तौँ सम्म कुर्न बाध्य छन् ।

बजारमा ग्यास नपाएर सास्ती व्यहोर्नु परेको भन्दै दमौलीका स्थानीय माधव प्रसाद अधिकारीले आज देखि अनसन सुरु गरेका छन्। व्यास नगरपालिका–३ स्थित अनसन चौतारीमा अनसन बसेका अधिकारीले ग्यास जस्तो अत्यावश्यक वस्तुको अभाव हुँदा समेत सम्बन्धित निकाय गम्भीर नबनेको भन्दै सरकार र प्रशासनको ध्यानाकर्षण गराउन अनसन थालेका हुन्।

बजारमा पर्याप्त ग्यास उपलब्ध नहुँदा उपभोक्ताले घण्टौँसम्म लाइन बस्नुपर्ने, लामो समय कुर्दासमेत आवश्यक परिमाणमा ग्यास नपाउने र दैनिक खाना पकाउने आधारभूत आवश्यकता नै प्रभावित हुने अवस्था सिर्जना भएको अधिकारीको आरोप छ। ग्यासको अभावले सर्वसाधारणको भान्सा प्रभावित भइरहँदा समस्या समाधानका लागि जिम्मेवार निकायबाट प्रभावकारी पहल हुन नसकेको भन्दै उनले असन्तुष्टि जनाउँदै अनसन बसेको बताए ।

अधिकारीले दमौली तथा आसपासका क्षेत्रमा ग्यासको नियमित आपूर्ति तत्काल सुनिश्चित गर्न, कृत्रिम अभाव सिर्जना गर्ने तथा कालोबजारी गर्ने प्रवृत्तिमाथि कडाइ गर्न र उपभोक्ताले सहज रूपमा ग्यास पाउने व्यवस्था मिलाउन माग गरेका छन्। “ग्यास जस्तो अत्यावश्यक वस्तुका लागि नागरिकले घण्टौँ लाइन बस्नुपर्ने अवस्था स्वीकार्य छैन। उनले भने “जनताको चुलो बल्ने व्यवस्था मिलाउनु राज्यको दायित्व हो,” ।

ग्यासको अभाव तत्काल समाधान नगरिए यसको प्रत्यक्ष असर सर्वसाधारणको दैनिक जनजीवनमा थप गम्भीर रूपमा पर्ने देखिएको छ। अधिकारीले स्थानीय प्रशासन, सम्बन्धित सरकारी निकाय र ग्यास व्यवसायी बीच तत्काल समन्वय गरी आपूर्ति व्यवस्था सहज बनाउनु पर्ने माग गरेका छन्।बजारमा ग्यास नपाएर सास्ती व्यहोर्नु परेको चौतर्फी गुनासो बढ्दा इन्धनको एकाधिकार रहेको नेपाल आयल निगमले भने बजारमा ग्यासको कुनै अभाव नरहेको र आवश्यकता भन्दा बढी आयात भइरहेको दाबी गरेको छ।

 

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि damaulinews.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्

कभर स्टोरी