काठमाडौँ : राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले देशको वर्तमान राजनीतिक वातावरण र सानातिना उतारचढावबाट नआत्तिन आग्रह गर्दै सरकारलाई सही बाटोमा डोर्याएर गन्तव्यमा पुर्याउने दाबी गरेका छन् ।
शनिबार साँझ काठमाडौंमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै लामिछानेले यस्तो बताएका हुन् ।
सम्बोधनका क्रममा सभापति लामिछानेले हवाई उडानको उदाहरण दिँदै भने, ‘यात्राका क्रममा कहिलेकाहीँ मौसमका कारण टर्ब्युलेन्स आउन सक्छ, तर जहाज हल्लियो भन्दैमा दुर्घटना हुन्छ भनेर डराउनु पर्दैन । सिट बेल्ट बाँधेर ढुक्क हुनुहोस्, हामी सही नियतका साथ देशरूपी यो जहाजलाई सुरक्षित गन्तव्यमा पुर्याउँछौँ ।’
सरकारको कामकारबाही र राजनीतिक चर्चाबारे बोल्दै उनले बजारमा फैलिएका राजनीतिक अस्थिरताका हल्लाहरूलाई केवल विकेन्ड स्न्याक्सको रूपमा लिन आग्रह गरे । विगतका नेतृत्वलाई दोष देखाएर उम्किने पक्षमा आफूहरू नरहेको स्पष्ट पार्दै उनले अबको सम्पूर्ण जिम्मेवारी र उत्तरदायित्व नयाँ पुस्ताका युवा नेतृत्वले लिने बताए ।
त्यस्तै, निजी क्षेत्रमा देखिएको अन्योलता र त्रासप्रति लक्षित गर्दै लामिछानेले व्यावसायिक क्षेत्रलाई आतङ्कित पार्न नहुने बताए । ‘व्यापार व्यवसाय गर्दा केही कानुन परिपालनमा कमजोरी भएका भए तिनलाई आर्थिक अपराधका रूपमा हेरिनुपर्छ, अन्य अपराधी जसरी समात्ने वा थुन्ने त्रासमा व्यवसायीले काम गर्न सक्दैनन्,’ उनले भने ।
सरकारले आफ्नो बाचाअनुसार काम गर्न नसके वा बाटो बिराएमा आफ्नै पार्टीले कान समातेर पुनः सही ट्र्याकमा ल्याउने सामर्थ्य राख्ने उनको भनाइ थियो । सरकार बनेको चार महिना मूल्याङ्कनका लागि पर्याप्त नभए पनि प्राप्त सल्लाह र सुझावलाई मनन गर्दै अघि बढ्ने उनले प्रतिबद्धता जनाए । साभारः रातोपाटी





