काठमाडौं : एआईबाट आफ्ना मौलिक गीतलाई तोडमोड गरेर पुनरुत्पादन गर्ने तथा प्रतिलिपि अधिकार उल्लंघन गर्ने ९५ युट्युब च्यानलविरुद्ध कलाकार विमल अधिकारीले प्रहरीको साइबर ब्यूरोमा उजुरी दिएका छन् ।
केही दिनअघि उनले दर्ता गराएको उजुरीमा ती युट्युब च्यानलबाट क्षतिपूर्ति पाउनुपर्ने र कार्वाही हुनुपर्ने माग गरेका छन् । आफ्ना डेढसय जति गीतलाई एआईबाट तोडमोड गरेर सोसल मिडियामा हालिएको र अडियो प्लाटफर्ममा आफ्नो नाम दर्ता गरिएको गुनासो उनले गरे ।
‘मेरै आफ्नै ३ गीतमा कपिराइट स्ट्राइक आएका छन्’ विमलले अनलाइनखबरसँग भने, ‘क्षतिपूर्ति र कार्वाहीको माग गरेको छु ।’ आफ्नो यो अभियानमा वसन्त सापकोटा, शिव हमाल लगायतका अन्य कलाकारको साथ रहेको पनि उनले बताए ।
अन्य कलाकारलाई समेटेर सामूहिकरुपमा पनि उजुरी दिने तयारी रहेको उनले बताए । कामको कुरा गर्दा, विमल ‘ए होर माया ७’को म्यूजिक भिडियो छायांकनका लागि मनाङ जाँदैछन् । उनले अहिले ७ वटा तीजको गीतमा काम गरिसकेका छन् ।
गायक हमालले पनि संस्थागतरुपमै प्रतिलिपि अधिकार उल्लंघनविरुद्ध आफूहरू साइबर ब्यूरोमा जाने बताए । पपगायक सुगम पोखरेल र एक्स ब्यान्डका शिव मुखियाले सोसल मिडियाबाट यस्तो कार्यविरुद्ध आफू कानुनी उपचारमा जाने बताइसकेका छन् । साभारः अनलाइनखबर





