पोखरा मुग्लिन सडक बन्ने शंकेतः २२ अर्ब लागतमा बनाउने सम्झौता

  • ख-
  • ख+

दमौलीः एसियाली विकास बैंक (एडिबी) ले बैंकले पोखरा–मुग्लिन सडकखण्ड स्तरोन्नतिका लागि नेपाल सरकारसँग सम्झौता गरेको छ । २२ अर्ब ३५ करोड रुपैयाँ लागतमा ५ वर्षभित्र काम सक्ने गरी अर्थ मन्त्रालयसँग सम्झौता भएको हो ।

सम्झौतापत्रमा एडिबी बैंकका देशीय निर्देशक मुख्तोर खामुदखानोभ र अर्थ सचिव राजन खनालले हस्ताक्षर गरेका छन् । दक्षिण एसिया उपक्षेत्रीय आर्थिक सहयोग (सासेक) अन्तर्गत उपलब्ध हुने उक्त ऋण ८१ किलोमिटर लामो मुग्लिन–पोखरा सडकको पोखरा–आँबुखैरनीखण्डलाई ४ लेन विस्तारमा उपयोग गरिनेछ ।

मुग्लिन–पोखरा खण्ड सन् २०२५ सम्म निर्माण सम्पन्न हुनेछ । नेपाल सरकारले पनि साढे ५ अर्ब लगानी गर्ने यो सडकको बाँकी ८ किलोमिटर खण्ड पनि मर्मत हुनेछ ।

मुग्लिन पोखरा सडक खण्डमा दैनिक ७ हजार ४ सय गाडी आवतजावत गर्छन् । अहिले उक्त सडक साँघुरो तथा गुणस्तर कमजोर हुँदा यातायात असहज भएको छ ।

सहरी क्षेत्रमा सडकमा साइकल लेन, फुटपाथ तथा मोटरसाइकल प्रयोगकर्ताका लागि विशेष पूर्वाधार बनाइने बैंकले प्रेस विज्ञप्तिमार्फत् जानकारी गराएको छ ।

२० किलोमिटर सडक बजार क्षेत्रमा पर्छ । मुग्लिन–पोखरा सडक खण्डमा पर्ने आँबुखैरेनी, विमलनगर, डुम्रै हुँदै पोखरासम्मका १३ ठाउँका घर व्यवस्थापन गर्नुपर्ने अध्ययनले देखिएको छ । १३ सहरका ८ सय ६० घर विस्थापित हुनेछन् भने ३ हजारभन्दा बढी बिजुलीका पोल हटाउनु पर्नेछ ।

विस्थापित हुने घरलाई क्षतिपूर्तिसहित हटाइनेछ । यो बीचमा ३ सय ५० रुख काट्नुपर्ने छ । बिजुलीका पोल सार्न पनि समस्या आउन सक्छ । गण्डकी प्रदेश सरकारको विशेष सहयोग आवश्यक पर्ने आयोजनाले जनाएको छ ।

यसबीचमा ६२ वटा पाइप कल्भर्ट, २ सय ३० वटा स्ल्याब कल्भर्ट, ८ वटा साना, ठूला पुल र ३१ वटा सामान्य पुल रहने छन् । सबैभन्दा ठूलो मादी नदीमा ३ सय १५ मिटर र सेती नदीमा १ सय ८० मिटर लम्बाइका ४ लेनका पुल बन्नेछन् । मुख्य सडक डिजाइनको काम एडिबीले नै गर्नेछ ।

मुग्लिन–आबुखैरनी खण्डमा ६७ मेगावाट क्षमताको मस्र्याङ्दी जलविद्युत् आयोजना पर्छ । जसका कारण सडक फराकिलो बनाउन समस्या पर्ने भएकाले मस्र्याङ्दीको वारि–पारि २÷२ लेनको सडक निर्माण गरिनेछ ।

मुग्लिङ–आँबुखैरनी खण्डमा मस्र्याङ्दी नदी किनार अहिले भइरहेको सडक २ लेन र नदीको अर्को किनार गोरखा क्षेत्रमा २ लेनको सडक निर्माण गर्न अध्ययन भइरहेको छ । विस्तारित सडक दुवैतर्फ ७÷७ मिटरको हुनेछ । १ लेन साढे ३ मिटर चाक्लो हुन्छ । मुख्य सडकको बीचमा डिभाइडर राखिने छ ।

मुग्लिन–पोखरासहित ४ वटा नयाँ परियोजना कार्यान्वयन गर्न नेपाल सरकारलाई ४० अर्ब ४५ करोड ४० लाख रुपैयाँ ऋण सहयोग उपलब्ध गराउने भएको हो ।

मुग्लिन–पोखरा सडक विस्तार गर्न ठूलो मात्रामा चाहिने ढुंगा, गिटी, बालुवा आसपासकै नदीबाट निकालिनेछ । ग्राभेल गर्न १८ लाख घनमिटर, सडकको बेस निर्माण गर्न ९ लाख घनमिटर, ९३ हजार घनमिटर अरु कामका लागि ढुंगा, गिटी बालुवा चाहिने अनुमान छ ।

मुग्लिन–पोखरासहित ४ वटा नयाँ परियोजना कार्यान्वयन गर्न नेपाल सरकारलाई ४० अर्ब ४५ करोड ४० लाख रुपैयाँ ऋण सहयोग उपलब्ध गराउने भएको हो ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि damaulinews.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्

कभर स्टोरी