९८ वर्षका बाबुलाई भेट्न जाँदा फैलिएको संक्रमणले बाबुछोरासहित ३ को निधन, परिवारै आईसोलेसनमा

  • ख-
  • ख+

कोरोनाले उजाडेको परिवार
पवन पौडेल

दमौलीः
तनहुँ भिमादका ९८ वर्षका धर्मकुमार श्रेष्ठ दुई साता अघि चितवनमा बिरामी भए । हाल कान्छा छोरासँग चितवनमा बस्दै आएका उनी बिरामी परेपछि उनलाई भेट्न अस्पताल गएका छोरामध्ये दुईको कोरोनाका कारण निधन भयो । पहिले नेगेटिभ देखिएका उनको पनि उपचारका क्रममा आईतबार निधन भयो ।


अहिले परिवारका ६ जना कोरोना संक्रमणकै कारण उपचारका क्रममा छन् । तीमध्ये एकको आईसीयुमै उपचार भैरहेको छ ।
जेठा छोरा ७६ वर्षका रामकुमारको राजधानीको ह्याम्स अस्पतालमा चिन्ताजनक अवस्थामा उपचार भैरहेको छ । कान्छा छोरा चितवनको घरमा, जेठी बुहारी काठमाडौं घरमा छन् । साँहिली बुहारी र छोरी तथा ज्वाईं पोखरामा उपचारका क्रममा छन् ।


कोरोना कत्तिको निर्दयी बन्नसक्छ भन्ने उदाहरण हो, यो । देशमा पछिल्लो समय कोरोनाको संक्रमण दर बढिरहँदा मानिसको चहलपहल पनि बढिरहेको छ । र, धेरैले कोरोनालाई हल्का रुपमा पनि लिइरहेका छन् । तर सावधानी अपनाउँदा अपनाउँदै एउटा परिवारले विपत्तिको सामना गरिरहनुपरेको छ ।

अहिले परिवारका सबै सदस्य विक्षिप्त अवस्थामा छ । ‘एक पछि अरुलाई गुमाउनु पर्दाको पीडा कसरी व्यक्त गर्न सकिन्छ र?,’ हाल काठमाडौंमा रहेकी कृष्णकुमारकी छोरी सरिता श्रेष्ठले फोनमा भनिन्,‘यस्तो त कसैले भोग्नु नपरोस् ।’


बिरामी भेट्न जाँदा फैलिएको संक्रमण
कथा शुरु हुन्छ, चितवनको मेडिकल कलेज अस्पतालबाट । हाल चितवन बस्दै आएका तनहुँ भीमादका ९८ वर्षका धर्मकुमार दुई साता अघि कान्छा छोराको घरमा बेहोस् भए । उनलाई उपचारका लागि चितवन मेडिकल कलेज लगियो । अस्पतालको आईसीयु कक्षमा उपचार गराएका वृद्धलाई भेट्न विभिन्न ठाउँबाट छोराहरु पुगे ।


यस्तैमा अस्पतालमा चिकित्सक तथा बिरामीमा संक्रमण भेटियो । उनको स्वाब परीक्षण गरियो । उनमा नेगेटिभ देखियो । तर उनलाई भेट्न आएका काठमाडौंका ७६ वर्षका जेठा रामकुमार, साहिँला छोरा तनहुँ भिमादका ७१ वर्षका विष्णुकुमार र माहिला छोरा ७४ वर्षका कृष्णकुमार सबैमा संक्रमण भेटियो ।


‘अब बाँचेकालाई जोगाउन सकिन्छ कि?’
त्यति मात्र नभएर गएको असोज १९ सोमबार चितवनमै साहिंला विष्णुकुमारको कोरोना संक्रमणबाट चितवन मेडिकल कलेजमा ज्यान गयो । त्यसको केही दिनमै २४ गते शनिबार ७४ वर्षका माहिला छोरा कृष्णकुमारको पनि कोरोनाबाटै बिएण्डबी अस्पताल काठमाडौंमा ज्यान गयो । दुवैजनालाई बचाउनका लागि प्लाज्मा थेरापी पनि गरिएको थियो ।

‘अवस्था सुधार हुन्छ कि भनेर प्लाज्माथेरापी पनि गरियो,’ माहिला कृष्णकुमारका ज्वाईं एवं नेकपा नेता शंकरनारायण श्रेष्ठ भन्छन्,‘तर बचाउन सकिएन ।’ सामाजिक सञ्जालमा सुभेच्छुकको सहयोगमा कोरोना जितेका पत्रकार लिलप्रकाश चन्दले उनीहरुलाई प्लाज्मादान गरेका थिए ।


चितवन मेडिकल कलेजमा उपचारका क्रममा अवस्था चिन्ताजनक भए पछि ९८ वर्षका वृद्धको राजधानीको मेडिसिटी अस्पतालमा उपचार भैरहेको थियो । उनको पनि असोज २५ आईतबार निधन भयो । पहिले नेगेटिभ देखिएका वृद्धमा काठमाडौंमा भने पोजिटिभ देखिएको थियो ।
यसरी कोरोना संक्रमणबाट एकै परिवारका तीनको ज्यान जाँदा वृद्धका जेठा छोरा ७६ वर्षिय रामकुमार कोरोना जित्ने युद्धमा संघर्षरत छन् ।

ह्याम्स अस्पतालको आईसीयुमा उपचाररत उनकी पत्नी संक्रमणकै कारण घरमा होम आइसोलेसनमा छन् ।
कान्छा भाई ७० वर्षका छोरा चितवन घरमा होम आईसोलेसनमा रहँदा उपचाररत ती वृद्धका बहिनी ज्वाईं पोखरामा र साँहिली बुहारी पनि पोखरामै आईसोलेसनमा छन् ।


‘मानिस अस्पतालै जान डराउने अवस्था नआओस्’
उनीहरु सबै आफ्ना बुबा तथा ससुरा भेट्न चितवनको अस्पताल पुगेका थिए । अझै पनि जीवित सदस्य बचाउन अस्पताल धाईरहेकी सरितालाई बाँकी सदस्यलाई मात्र भए पनि बचाउन सकिन्छ कि भन्ने आश छ । तनहुँबाट आफन्तको उपचारमा सघाउन पतिसहित काठमाडौं पुगेकी उनले भनिन्,‘जाने त गैसक्नुभयो । तैपनि उहाँहरुलाई मात्र बचाउन सकिन्छ कि?’

सरिताका पति शंकरनारायण अहिले सबै परिवारको उपचारको रेखदेख गरिरहेका छन् । उनी अस्पतालले स्वास्थ्य उपचारमा सावधानी नअपनाउने हो भने बिरामी भएर अस्पताल जानै नहुने अवस्था आएको बताउँछन् । ‘अस्पतालबाटै संक्रमण फैलनु दुःखद् हो,’ उनले भने ।

उनका अनुसार केही पनि नभएका मानिस धमाधम ज्यान जाने अवस्था आउँदा अब अस्पतालमा संक्रमण फैलन नदिन अपनाउने तरिकामा परिवर्तन हुनु पर्ने देखिन्छ । ‘अब उपचार गराउन जाँदा केही नभएकामा पनि संक्रमण फैलँदै जाने हो भने मानिस अस्पताल नै जान डराउने देखिन्छ,’ उनले भने,‘अहिलेको सावधानीले नपुगेको देखियो ।’

(अन्नपूर्ण अनलाईनको सहयोगमा )

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि damaulinews.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्

कभर स्टोरी