देवघाटः नेपाली कांग्रेसका केन्द्रीय सदस्य गोविन्द भट्टराईले चुनाव हारे पनि आफूले चुनावमा बोलेका बाचा पूरा गर्ने अभियानमा आफू सक्रिय रहेको बताएका छन् ।
देवघाट १ कोटामा श्रीजनशील युवा क्लबद्वारा आयोजित भलिबल प्रतियोगिताका विजेतालाई पुरस्कार वितरण गर्दै उनले भने,‘ मैले पानी ल्याइदिन्छु भनेको थिएँ । अहिलेको बजेटमा खानेपानीको योजनामा वृहत कोटा १८लाख विनियोजन गराइदिएको छु । चाहिने अरु पैसा दिलाउने बाचा गर्न चाहन्छु ।’
‘देवघाटलाई दक्षिण भेगको केन्द्र बनाउँछु’
आफू हरेक दिदी बहिनीको भान्सामा पानी पुग्नुपर्छ भनेर लागेको भन्दै उनले आफ्नो सक्रियतामा तनहुँका ५९ खानेपानी योजना बनेको उल्लेख गरे ।
‘चुनाव हारे पनि तनहुँमा २० ओटा खानेपानीका नयाँ योजना पार्न पहल गरेको छु,’ देवघाटमासमेत त्यस्ता योजनाहरु परेको उल्लेख गर्दै उनले थपे,‘५८ करोडको शालिग्राम करिडोरको ठेक्का पनि हाम्रै पहलमा लागेको छ ।’
देवघाटमा अरु विकासका योजना ल्याउनसमेत प्रयास गरिरहेको बताएका भट्टराईले भने,‘म यस ठाउँलाई दक्षिण भेगको विकासको केन्द्र बनाउन चाहन्छु । ’
‘जितेका सांसदको चासो खै ?’
आफूलाई काम गर्न पद र सरकार नचाहिने तर्क गर्दै उनले भने,‘म यही ठाउँको हो । मलाई काम गर्न हाम्रो सरकार पनि चाहिन्न । तर, गोरु बेचेकै साइनो छैन भन्ने जितेका व्यक्ति कता हिँड्नुभएको छ ?’
तनहुँ १ बाट निर्वाचित सांसद स्वर्णिम वाग्लेप्रति लक्षित गर्दै उनले थपे,‘उहाँलाई यहाँको विकासको चासो पनि छैन । उहाँहरुको चासो साना ठेलागाडा चलाउने, दुध बेचेर संकलन गरेको पैसा ६ सहकारीबाट ३ खर्ब हिनामिना गरेका ठग्ने मान्छेको संरक्षणमा छ ।’
कार्यक्रममा भटुटराईले खेलका लागि ३२ हजार तथा कांग्रेस महासमिति सदस्य पुरुषोत्तम खनालले ५० हजार व्यक्तिगत सहयोगसमेत गरेका थिए ।
Video Link: https://www.facebook.com/100004607597196/videos/1401698464564590/