तनहुँ हाइड्रोसँग स्थानीयको ३५ बुँदे माग (माग पत्रसहित)

  • ख-
  • ख+

दमौली: तनहुँ जलविद्युत आयोजनाले आफ्ना माग सुनुवाई नगरेको भन्दै झण्डै पाँच सय स्थानीय प्रदर्शनमा उत्रिएका छन् । आयोजना प्रभावित ऋषिङ १ का झण्डै पाँच सय स्थानीयले आयोजना अगाडि धर्ना दिंदै माग सुनुवाईका लागि ध्यानाकर्षण गरेका हुन् ।

आयोजनाको सुरुङको काम गर्दा झापुटारमा वितरित दुई मुहानको पानी पाईपलाईन फुटे पनि मर्मत नभएको, साल्बास सामुदायिक वनको काठ कटानी गर्दा उपभोक्तालाई जानकारी नदिएको र काटिएका काठ हराएको तथा स्थानीय रोजगारी आदिमा प्राथमिकता नदिएको भन्दै वनका अध्यक्ष केशरबहादुर थापाको नेतृत्वमा गएको टोलीले आयोजनास्थलमा प्रदर्शन गरेको थियो ।

स्थानीयले आयोजनालाई मागपत्र पठाउँदै स्थानीयले ३५ बुँदे मागपत्र पेश गरेका छन् । आयोजना प्रमुख घिमिरेले माग प्राप्त भएको र प्राथमिकतामा परेका कतिपय माग पुरा हुने सूचीमा नै रहेको बताए । उनले खन्ने काम भैरहेकाले पानीको पाईप तत्काल मर्मत गर्न नसकिए पनि अब मर्मत गर्ने र अरु माग पुरा गराउन पनि सहकार्य गर्ने बताए ।

यस्तो छ स्थानीयको मागपत्र

श्रीमान प्रमुख ज्यू

तनहुँ जलविद्युत आयोजनाको कार्यालय, झापुटार, तनहुँ

विषयः माग पत्र सम्बन्धमा ।

प्रस्तुत विषयमा तनहुँ जलविद्युत आयोजना जस्तो गौरवमय आयोजना यस ऋषिङ्ग गाउँपालिकाको वडा नं. १ मा हुनु हामी सबै स्थानिय बासिन्दको लागि गर्वको बिषय हो यसै कुरालाई मध्यनजर गर्दै यस प्रभावित क्षेत्रका बासिन्दहरूद्वारा यस आयोजनाको संभाव्यता अध्ययनको बेला देखि निर्माणको चरणको समय सम्म कुनै पनि कार्यमा बाधा अवरोध सिर्जना गरेको रेकर्ड छैन । हामी तनहुँ जलविद्युत आयोजनाको मुख्य प्रभावित क्षेत्रका जनताहरूको माग हामीले यस भन्दा अगाडी पनि औपचारिक वा अनौपचारिक माध्यमबाट राख्दै आएको कुरा सर्वविद्वितै छ । यस मुख्य प्रभावित क्षेत्रका जनताहरू यस आयोजना प्रति सकरात्मक रहेको छ । तापनि जनस्तरबाट उठेको मागहरूको सम्बोधन गर्ने दिशा तर्फ आयोजनाले कुनै पनि चासो नलिनु दुखःद रहेको छ । आयोजनाले यस क्षेत्रको जनतामा पर्न जाने सामाजिक, आर्थिक तथा वातावरणीय असरलाई न्युन गर्ने खालका कार्यक्रमहरू संचालन नगर्नु खेदजनक छ । यस क्षेत्रमा स्थानिय जनतालाई प्रत्यक्ष असर पुर्याउने कार्यहरूमा समेत सरोकारवालहरूसँग परामर्श र समन्वय नगरी एकतर्फी रूपमा कार्य अगाडी बढाउँदै लगेको र यहाँका प्रभावित बासिन्दहरूको माग सम्बोधन गर्नुको साटो एक दुई जनालाई हातमा लिई काम गर्ने तथा जनताका न्यायोचित मागहरूलाई बेवास्त गर्दै काम गर्दै जाँदा आयोजनाको कारण यस मुख्य प्रभावित क्षेत्रमा पर्ने सामाजिक, आर्थिक तथा मुख्यतय वातावरणीय क्षेत्रमा पर्न जाने असरलाई कम नजर अन्दाज गरेको देखिन्छ । अतः यस प्रभावित क्षेत्रमा क्रियासिल संस्थाका प्रतिनिधि तथा सरोकारवाला सचेत नागरिकहरूको तर्फबाट  शान्तिपुर्ण रूपमा आज मिति २०७७ आश्विन २० गते तपसिलमा उल्लेखित  ३५  बुँदे माग पत्र पेश गर्दछौँ । हामी मुख्य प्रभावित क्षेत्रका आम सरोकारवालाहरूको माग सम्बोधन हुनेछ र आगामी दिनमा तनहुँ जलविद्युत आयोजनाले दुई चार जना स्थानियको साँघुरो घेराभित्र बसेर काम गर्नुको साटो सम्पुर्ण समग्र पिडित प्रभावित सरोकारवालाहरूको साथमा बसेर कार्य गर्ने नयाँ शैलिको विकास गर्नेछ जसले आगामी दिनमा हामी सबै सरोकारवालाहरूले यो आयोजनालाई हाम्रो आयोजना भनेर गर्वसाथ भन्न सक्ने वातावरण निर्माण हुनेछ भन्ने विश्वासका साथ यो मागपत्र पेश गर्दछ । 

तपसिलः  

  • तनहुँ जलविद्युत आयोजनाको कार्यालय तथा आवास क्षेत्र भित्र परेको यस बेल्टार बच्याङ्गौँडा वनको रूखविरूवाको हालसम्म पनि क्षतिपुर्तिको व्यावस्था नभएकोले  तत्काल सो को लागत लिई उचित क्षतिपुर्ति वन समूहलाई हस्तान्तरण गर्न जोडदार माग गर्दछ ।
  • तनहुँ जलविद्युत आयोजनाको कार्यालय तथा आवास क्षेत्रको पश्चिम पट्टी रहेको कुवादी खोलाको प्राकृतिक रूपमा रहिरहेको नदी सम्मको निकाशलाई तनहुँ जलविद्युत आयोजनाको कार्यालय र आवास क्षेत्र निर्माणको क्रममा अवरोध गरेको तथा त्यसले गर्दा पृथ्वीटोल क्षेत्रका घरहरू वर्षातको समयमा डुबानमा पर्न गएकोले सो खोलाको निकाशलाई व्यावस्थित गरि सेती नदी सम्म पुर्याउन तनहुँ जलविद्युत आयोजनाले तत्काल कदम चाल्न माग गर्दछ ।
  • झापुटार र तनहुँ जलविद्युत आयोजनाको कार्यालय को विचमा पर्ने टुरटुरे खोलाको पानी बर्षातको समयमा स्थानियको खेतबारी तथा घरमा गएर क्षति पुगेकोले सो खोलाको पानीको निकाशलाई दिगो व्यावस्थापन गरी सेती नदी सम्म पुर्याउन तनहुँ जलविद्युत आयोजनाले तत्काल कदम चाल्न जोडदार माग गर्दछ ।
  •  सिनो हाईड्रो कम्पनी, ऋषिङ्ग गाउँपालिका वडा नं १ को कार्यालय, काहुँमिलन युवा क्लब बिच खेल मैदान निर्माण गर्ने त्रिपक्षीय सम्झौता भएको तर सो काम हालसम्म पनि थालनी नगरेकोले तत्काल तनहुँ जलविद्युत आयोजनाले समन्वय गरी सो काम सुरू गर्न दबाब दिनु जोडदार माग गर्दछ ।
  • तनहुँ जलविद्युत आयोजनाको समन्वयमा सिनो हाईड्रो कम्पनीद्वारा वातावरणीय मापडण्द विपरीत सेती नदी घाटबाट ठुला मेसिन (Heavy Equipment) प्रयोग गरी नदीजन्य पदार्थको उत्खनन् तथा डम्पिङ गर्दा नदीले धार परिवर्तन गरी बेल्टार बच्याङ्गौडा वन क्षेत्र कटान गरेको तथा प्रस्तावित रंगशाला, शुक्ला माध्यामिक विद्यालय, ब्राईट भिलेज ईङ्गलिस वोर्डिङ स्कुल र यस आसपासका बस्तीमा असर पुग्ने देखिएकोले सो कार्य तत्काल बन्द गर्नुपर्ने ।
  • तनहुँ जलविद्युत आयोजना तथा ठेकदार कम्पनी  सिनो हाईड्रोको लागि आवश्यक पर्ने कामदार तथा कर्मचारी पदपुर्ति गर्दा राजनैतिक भनसुनको आधारमा नभई मुख्य प्रभावित क्षेत्रको रूपमा रहेको ऋषिङ्ग गाउँपालिका वडा नं १ का बासिन्दहरूलाई मुख्य प्रथामिकता दिन जोडदार माग गर्दछ ।
  • तनहुँ जलविद्युत आयोजना निर्माणको मुख्य प्रभावित क्षेत्र अन्तरगत पृथ्वीटोल, झापुटार, तल्लो झापुटार, भर्केनी, कुवादी, बोझादी, मालिङ्ग, घ्याँसीडाँडा, धारापानी, तल्लो मालिङ्ग, माथिल्लो मालिङ्ग, ग्याझाटार, हुक्सेटार, स्वामीडाँडा आदि स्थानमा रोड(सडक) निर्माण तथा भएका बाटोहरूको स्तर उन्नती गर्नु पर्ने साथै सो सडकमा निशुल्क रुपमा सडक बत्तीको व्यावस्था गर्न जोडदार माग गर्दछ ।
  • हुक्सेटारदेखि तनहुँ हाईड्रोको आवास तथा कार्यालय क्षेत्र सम्म जाने रोड (बाटो) मा पर्ने खोला तथा वर्षमा बग्ने भलहरूको उचित निकाशको व्यावस्थापन गर्नुपर्ने तथा सडक क्षेत्रमा थुप्रिएका माटो तथा ढुङ्गा नियमित रुपमा सफा गर्ने तथा धुलो व्यावस्थापनको लागि उचित कदम चाल्न जोडदार माग गर्दछ ।
  •  तनहुँ जलविद्युत आयोजनाको ड्याम क्षेत्र, सुरुङ निर्माण क्षेत्र, रोड निर्माण क्षेत्रमा पर्ने यस सालबास सामूदायिक वनको क्षेत्रमा रूख कटान गर्नुपुर्व सामूदायिक वनको समितिका पदाधिकारीहरूसँग समन्वय गर्नुपर्ने, कटान गरेका रूख विरुवाको क्षतिपुर्ति तत्काल उपलब्ध गराउनुपर्ने र सकेसम्म वन क्षेत्रको न्युनतम क्षति हुने गरी काम सम्पन्न गर्नु जोडडार माग गर्दछ ।
  • तनहुँ जलविद्युत आयोजना तथा सिनो हाईड्रोमा जागिरको अवसर आएको खण्डमा स्थानिय युवाहरूलाई प्रथामिकता दिनुपर्ने र त्यस सम्बन्धि सूचना जारी, फाराम भर्ने-भराउने काम वडा कार्यालयको समन्वयमा गर्नुपर्ने तथा विज्ञापन गर्दा निश्चित मापदण्ड पुरा गरेर प्रकाशन गर्न जोडदार माग गर्दछ ।
  • यस मुख्य प्रभावित क्षेत्रमा रहेका आमा समूह, विद्यालय, युवा क्लब, सामूदायिक वन समूह बाल क्लब गुठी आदीको भवन निर्माण तथा सचेतना मूलक कार्यक्रम संचालनका लागि तनहुँ जलविद्युत आयोजनाको सामाजिक विकास अन्तरगतको बजेट तत्काल विनियोजन गर्न जोडदार माग गर्दछ ।
  • कुनै पनि प्रभावित परिवार तथा स्थानिय व्याक्तिलाई काममा नियुक्ति दिईसकेपछि राजनैतिक प्रतिशोध वा अन्य कुनै बाहनामा कामबाट अवकास दिने वा हटाउन बन्द गर्न जोडदार माग गर्दछ ।
  • यस मुख्य प्रभावित क्षेत्रमा स्थानियलाई कुनैपनि दुरगामी प्रभाव पार्ने क्रियाकलाप संचालन गर्दा कुनै व्यक्तिसँग नभई वडा कार्यालय, वडा अध्यक्ष तथा यहाँ स्थित क्रियाशिल संघ संस्था संग समन्वय तथा हातेमालो गरेर अगाडी बढ्ने पहल गर्न जोडदार माग गर्दछ  ।
  • झापुटार र बेल्टार क्षेत्रमा विगतमा मुकुर्लुक खानेपानी योजनाबाट खानेपानी निरन्तर रुपमा आपुर्ति भैरहेको तर तनहुँ जलविद्युत आयोजनाको सुरूङ निर्माणको लागि माटो परीक्षणको क्रममा सो खानेपानीको मुहानमा क्षति पुगेको कारण सो पानीको आपुर्ती बन्द भएको तथा तत् पश्चात तनहुँ हाइड्रोकै सहयोगमा किस्रिडी रोह्ङसिंडी खानेपानी योजना संचालन भएतापनि पर्याप्त बजेटको आभावमा सो योजना अधुरो रहेको र बेला बेलमा सुरुंङ क्षेत्रमा भईरहेको निर्माण कार्याले गर्दा सो खानेपानीको पाईपमा क्षति पुग्ने गरेकोले हाल झापुटार र बेल्टार क्षेत्रमा खानेपानीको हाहाकार भएको छ । त्यसकारण सो समस्याको दिर्घाकालिन रुपमा समाधान गर्नका लागि सो अधुरो योजनालाई पुरा गरि कमसेकम टोलटोलमा पाईपलाईन बिस्तार गरि धाराको व्यावस्था गर्न तत्काल बजेट व्यावस्थापन गर्न जोडदार माग गर्दछ ।
  • तनहुँ जलविद्युत आयोजनाको मुख्य प्रभावित क्षेत्रका युवाहरूलाई लक्षित गरि आयोजनाकै पहलमा यहाँका युवाहरूलाई पायक पर्ने स्थान झापुटारमा स्वारोजगार बनाउने हेतुले विभिन्न सिपमुलक तालिमहरू संचालन गर्न जोडदार रूपमा माग गर्दछ
  • यस ऋषिङ्ग गाउँपालिका वडा नं १ मा  एउटा सामूदायिक भवन निर्माणको लागि बजेटको व्यावस्था गर्न जोडदार रूपमा माग गर्दछ । 
  • यस तनहुँ जलविद्युत आयोजनाको कार्यालयद्वारा जडान गरिएका पुराना सडक बत्तीहरूको नियामित रूपमा मर्मत गर्नुपर्ने तथा त्यस्ता बत्तीहरू अन्य स्थानहरुमा पनि बिस्तार गर्न जोडदार रूपमा माग गर्दछ ।  
  • सिनो हाईड्रो कम्पनीले यस ऋषिङ्ग गाउँपालिका वडा नं १ को बन्चरे मा निर्माण गरेको क्रसर प्लान्टका कारण भाइब्रेशन तथा ढुवानी प्रर्दुशन तथा हावा प्रर्दुशन उत्पन्न भई त्यस क्षेत्रका घरहरूमा क्षति पुर्याइएको तथा स्थानिय जनताको स्वास्थ्यमा गम्भिर असर पर्न जाने देखिएकोले सो स्थानका बासिन्दहरूलाई उचित क्षतिपुर्ति सहित अन्यत्र स्थान्तरण गर्ने पहल तनहुँ जलविद्युत आयोजनाले गर्न जोडदार रूपमा माग गर्दछ । 
  • प्रभावित क्षेत्रका जनतालाई ३३% रोजगारीको अवसर दिने भनिएतापनि त्यो लागु नभएको र केही स्थाननियलाई काममा समावेश गरेतापनि त्यहाँ विभेद गरिएकोले सो भेदभावको काम बन्द गरी स्थानिय प्रभावितहरूलाई ३३% रोजगारीको सुनिश्चितता गर्न जोडदार रूपमा माग गर्दछ ।  
  • तल्लो मालिङ्गको बेलडाँडामा स्थानिय जनताको परापुर्वाकालदेखि प्रयोगमा ल्याईरहेका बाटाहरू हाल तनहुँ हाईड्रोको पुर्वाधार निर्माणका क्रममा भत्काईएकाले सो बाटाहरू सुचारू रुपमा आवतजावतका लागि पुनः निर्माण गर्न जोडदार रूपमा माग गर्दछ । 
  • स्थानिय प्रभावित क्षेत्रका  जनताको  लागि कृषि, पशुपालन तथा विभिन्न सीपमुलक तालिम संचालन गर्नुपर्ने तथा उनिहरूका लागि विशेष अनुदानको व्यावस्था गर्न जोडदार रूपमा माग गर्दछ ।
  •  तनहुँ जलविद्युत आयोजनाले स्थानिय जनताको घर-जग्गा, बालीनाली, गोठ तथा रूखविरूवाको लागत संकलन र क्षतिपुर्ति निर्धारण गर्दा वडा कार्यालयको मातहतमा गर्नुपर्ने तथा त्यसको उचित क्षतिपुर्ति समयमै व्यावस्था गर्न जोडदार रूपमा माग गर्दछ ।
  • यस आयोजनाको प्रभावित क्षेत्रहरूमा खानेपानीको योजनाहरू संचालन गर्नुपर्ने तथा पुराना कुवा तथा मुहानहरूको संरक्षण गर्न बजेट व्यावस्था गर्न जोडदार रूपमा माग गर्दछ । 
  • मुख्य प्रभावित क्षेत्र ऋषिङ्ग गाउँपालिका वडा नं १ भरिका गाउँहरूमा   विजुलीका पोलमा भएका नाङ्गो तारहरू बिस्थापित गरी कालो तार प्रयोग गर्न बजेटको व्यावस्था गर्न जोडदार रूपमा माग गर्दछ ।
  • यसै ऋषिङ्ग गाउँपालिका वडा नं. १ को भर्केनीबाट ग्याझा जाने सिंढी बाटो मर्मतका लागि तत्काल बजेट व्यावस्था गर्न जोडदार रूपमा माग गर्दछ ।
  • यस सालबास सामूदायिक वन तथा बेल्टार-बच्याङ्गौडा सामूदायिक वन क्षेत्रकोलागि हेरालुको व्यावस्था गर्ने तथा सो तलब तनहुँ जलविद्युत आयोजनाले बेहोर्ने व्यावस्था गर्न जोडदार रूपमा माग गर्दछ ।
  • तनहुँ जलविद्युत आयोजनाको पूर्वाधार निर्माण स्थलमा कटान हुने रूखविरूहरूको जिम्मा उपभोक्ता समितिलाई हस्तान्तरण नगरे सम्म आयोजनाले जिम्मा लिनुपर्ने तथा कटान गरिसकेका काठहरू निश्चित स्थानामा भण्डारनको व्यावस्था गर्न जोडदार रूपमा माग गर्दछ ।
  • प्रभावित क्षेत्रका बासिन्दसँग निश्चित समय तालिका निर्माण गरी सार्वजनिक सुनुवाई तथा अन्तरक्रिया कार्याक्रम राख्नुपर्ने र दोभाषे सहित प्रभावित क्षेत्रका गुनासो सुन्ने व्यावस्था सहित छ्ट्टै हेल्प डेस्कको व्यावस्था गर्न जोडदार माग गर्दछ ।
  • प्रभावित क्षेत्रका जनतालाई रोजगारीमा लगाउँदा ज्यालामा पारदर्शिता अपनाउनु पर्ने तथा काममा विभेद गर्न नपाईने र कुनैपनि राजनैतिक आस्थाका आधारमा नियुक्ती बन्द गरी विस्थापित प्रभवित जनताको अवस्था, क्षमता र योग्यता अनुसार रोजगारीको व्यावस्था गर्न जोडदार रूपमा माग गर्दछ ।
  • झापुटार-धवला-कोईदिम मोटरबाटोको लागि बजेट विनियोजन गरि सो बाटोमा सहज रूपमा आवतजावतको व्यावस्था गर्न जोडदार माग गर्दछ ।
  • ऋषिङ गाउँपालिका वडा नं १ को धारापानीदेखि तनहुँ जलविद्युत आयोजनाको ड्यामसाईड सम्म जाने बाटोलाई बिस्तार गरी लोक्मा-बाँझो-तल्लो सेटाङ हुँदै ऋषिङ गाउँपालिकाको प्रशासनिक भवन रहेको स्थान पोखरीछाप सम्म जोड्न जोडदार माग गर्दछ ।
  • ऋषिङ गाउँपालिकाको वडा नं १ अन्तरगतको पृथ्वीटोल, झापुटार, तल्लो झापुटार, भर्केनी, कुवादी, बोझादी, मालिङ्ग, घ्याँसीडाँडा, धारापानी, तल्लो मालिङ्ग, माथिल्लो मालिङ्ग, ग्याझाटार, हुक्सेटार, स्वामीडाँडा क्षेत्रहरूमा विद्युतलाईनको बिस्तार गर्दा तनहुँ जलविद्युतको लाईनसँगै जडान गरी उक्त क्षेत्रहरूलाई लोसेडिङ मुक्त क्षेत्र बनाउनु पर्ने ।
  • ऋषिङ गाउँपालिकाको वडा नं १ हुक्सेटारमा सेतीनदीले गरेको कटानका कारण त्यहाँका बस्तीहरूमा असर पुगेको कारण सो नदी किनारमा कटान रोक्न तत्काल तटबन्धनको व्यावस्था गर्न जोडदार माग गर्दछ ।
  • ऋषिङ गाउँपालिकाको वडा नं १ मा रहेको तनहुँ जलविद्युत आयोजनाको आवास क्षेत्र तथा मुख्य कार्यालय नजिकै स्वास्थ्य चौकी निर्माण गर्ने भनिए पनि सो भवनमा हाल अस्थाई प्रहरी चौकी निर्माण गरिएकोले सो चौकी अन्यत्र स्थानान्तरण गरी सो भवनमा १ जना डाक्टर सहितको स्वास्थ्य चौकी स्थापना गरी प्रभावित स्थानिय बासिन्दलाई निशुल्क स्वास्थ्य सुविधा उपलब्ध गराउन जोडदार माग गर्दछ ।
  • यस तनहुँ जलविद्युत आयोजनाको आवास क्षेत्रसम्म जाने बाटो निर्माणको क्रममा केही जग्गाहरूको मुअब्जा अहिले सम्मपनि भुक्तानी नदिएकोले सो जग्गाको मुआब्जा तत्काल व्यावस्था गर्न जोडदार माग गर्दछ ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि damaulinews.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्

कभर स्टोरी