ऋषिङको ५ वर्ष

ऋषिङः तनहुँको दक्षिणी भेग भन्ने बित्तिकै अविकास, पछौटेपन अनि विकट ठाउँको तस्बिर धेरैको मानसपटलमा आउँथ्यो । अझैसम्म पनि नपुगेका, नदेखेका र नभोगेकाहरुको दिमागमा आउने दक्षिण भेगको तस्बिर उही नै हो । तर, तनहुँ र आसपासमै विकट, सडक सञ्जालको कमजोर अवस्थाका कारण विकट भनेर चिनिएको दक्षिण भेग अनि त्यसको मानक ऋषिङ
अहिले त्यो पुरानो परिचय बदल्दैछ ।

कालोपत्रे सडकको सञ्जाल
सडकको कमजोर अवस्थाका कारण वर्षायाममा गाउँ पुग्न सास्ती भोग्ने ऋषिङवासीले अझै पनि पुरानो विगत बिर्सिसकेका छैनन् । घण्टौं लगाएर थर्पू, भीमाद, अनि दमौलीबाट भारी बोकेर हिंड्नुपर्नेहरु अहिले एकाध घण्टामै दमौलीबाट घर पुग्न सक्ने भएका छन् । विकटता अनि सामान लिन वा बेच्न खेप्नुपर्ने सास्तीका कारण आफूलाई निकै पछि परेको महसुस गर्ने ऋषिङवासीले अहिले सहरिया र आफूबीचको दूरी कम भएको महसुस गर्न थालेका छन् ।


हुन त स्थानीय सरकार आउनुअघि नै ऋृंगपथ नबनेको होइन । तर, पथ पुरै कालोपत्रे भैसकेको थिएन । र, आफ्नै बजेटबाट कालोपत्रे थाल्ने ऋषिङ पहिलो गाउँपालिका बन्न पुगेको थियो । सडक मात्र नभएर पुलको अभावमा वर्षायाममा सास्ती पाएका गाउँवासीलाई आफ्नै बजेटमा पक्की पुलसमेत बनाइदिएर ठूलै कामका लागि पनि प्रदेश वा संघ सरकार कुर्नु पर्दैन भन्ने सन्देश दियो ।
र, अहिले धेरैले ऋषिङबाट यो सिकाई लिएर आफ्नो विकटतालाई सुगमता बनाउने यात्रा थालेका छन् ।

कृषिमा आशा, युवा सहभागीता
गाउँपालिकाले आफ्नै बजेटबाट सडक कालोपत्रे थालेपछि घण्टौं लाग्ने ठाउँ एकाध घण्टामा पुग्न सकिने मात्र भएको छैन । यहाँका उपज बजारमा लैजान सकिने भएको छ । त्योभन्दा धेरै गाउँमै बसेर केही गर्छु भन्नेका लागि स्वदेशमै मनग्गे कमाउने अवसर पनि मिलेको छ । यसले विदेशमा गएकालाई समेत गाउँमा फर्किएर कृषिमा लगानी गर्ने सपना पाल्ने सुविधा दिएको छ ।
परम्परागत हिसाबले कृषि उपजमा आत्मनिर्भर भए पछि युवाको पलायन अनि असहज यातायातका कारण परनिर्भर बनेको ऋषिङलाई फेरि पहिलेकै अवस्थामा लैजान गाउँपालिकाले युवा तथा अन्य किसानलाई उपकरण वितरणका अलावा अनुदान समेत दियो ।

लगानी गर्न चाहनेलाई अनुदान अनि बीउबिजनलगायतमा दिएको अनुदानका कारण अहिले गाउँमा कृषि गर्नेको संख्या बढ्दो छ । र, गाउँपालिकाले बजारबाट ल्याउने कृषि उपज अब बजारमै पठाउने सपना बुन्न थालेको छ ।

भवन र पूर्वाधार
शुरुदेखि नै सडक पूर्वाधारमा जोड दिएको गाउँपालिकाले गाउँपालिकाको आधुनिक भवन तयार पारेको छ । निकै चुनौतीपूर्ण मानिए पनि कार्यकालकै अवधिभित्र आफ्नै पक्की आधुनिक भवनमा सरेको छ । र, अब अझ सहजतापूर्वक विकासे गतिविधि अघि बढाउन सकिने अपेक्षा गरिएको छ ।

स्वास्थ्य पूर्वाधार
ऋषिङले कोभिडको संकटका बेला आफूसँग राम्रो स्वास्थ्य पूर्वाधार नभएको समस्या भोग्यो । कोभिड संक्रमितलाई स्वास्थ्य सेवा पुर्याउन छिमेकको सहायता लिनु परे पछि त्यसबाट पाठ सिकेको गाउँपालिकाले अब आफ्नै परिधिमा भिर्कोटमा आधुनिक अस्पताल बनाउँदैछ । र, यसले स्वास्थ्यमा कमजोर पहुँच भएको गाउँपालिकावासीलाई धेरै राहत दिनेछ ।

गाउँमै प्राविधिक शिक्षालयको सपना
प्रजातन्त्र प्राप्तिपछि विकट नै भए पनि शिक्षाको दियो फैलाउन सफल ऋषिङको कुनै समय आसपासका विद्यार्थीका लागि पनि केन्द्र थियो । तर, द्वन्द्वकाल र त्यसपछि खस्किएको शैक्षिकस्तर उकास्न गाउँपालिका सक्रिय छ । र, गाउँपालिकाभित्रको शिव सरस्वती माविलगायतका विद्यालयको विकास र सुदृढिकरणमा गाउँपालिकाले आफ्नो ध्यान लगाएको छ । र, गाउँमै प्राविधिक शिक्षालय स्थापना गर्ने बाटोमा गाउँपालिकाले पाइला अघि बढाएको छ ।

गाउँमै बसौं बसौं लाग्ने सपना
शिक्षा, स्वास्थ्य अनि सडक पूर्वाधारको समस्याका कारण गाउँ छाडेकाहरुलाई अब बदलिएको अवस्थामा फर्काउने सपना ऋषिङले पालेको छ । र, त्यसमा नायक बनेर उभिएका छन्, तत्कालीन अध्यक्ष राजेन्द्रकृष्ण श्रेष्ठ । मतदातालाई पाँच वर्ष अघि बाँडेको सपना छोटै समयमा पनि धेरै पुरा गरेका उनी गाउँबासी फर्काउन चाहन्छन् । र, गाउँपालिकाले जग्गा समेत दिएर घर बनाउन प्रेरित गर्ने नीति पनि उनकै कार्यकालमा ल्याएको छ । र, यसले मगर र नेवार संस्कृतिको धनी गाउँलाई फेरि पहिलेकै जाज्वल्यमान बनाउने सपना उनले पालेका छन् ।


धेरैका लागि पिछडिएको र पछि परेको ऋषिङ पूर्ण रुपमा विकास भएको त मान्न सकिन्न । तर, एउटा साँचो के हो भने यो पहिलेजस्तै साँच्चिकै विकट ऋषिन भने अब रहेन । पुग्नै र सोच्दै कहालीलाग्ने अवस्थाबाट सुगम र एउटा सम्भावना बोकेको अनि धेरैका लागि गाउँमै आफ्नो भविष्यको सपना देख्न सक्ने बनाएको कुरा भने साँचो हो । र, अबका दिनमा अरु विकासका बाटो भने यसले अझै खुलाएको भने पक्कै हो ।

अन्तिम पटक अध्यावधिक गरिएको 66 Viewed

प्रतिक्रिया दिनुहोस्