राम्चे पुगेर बाल्यकाल सम्झँदा मुख्यमन्त्रीको नोस्टाल्जिया

  • ख-
  • ख+

भीरपानी खानेपानी आयोजना उद्घाटन
राम्चे ।
जन्मठाउँ कसलाई प्यारो लाग्दैन र ? आफू जन्मेको घर आँगन, अनि खाइखेली गरेका भीरपाखा, बाल्यकालका साथीभाइ । साँच्चिकै विगत सम्झँदा मन पुलकित हुन्छ । गण्डकीका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली बिहीबार जन्म गाउँ तनहुँको राम्चे पुगे ।

खाली खुट्टा कुदेका खरबारी, साथीभाइसँग खेलेको आँगन, भैंसी चराएको पाखो देखेर उनी रमाइ । उनीसँगै थिए दाजु रामचन्द्र र भाइ जगदीशचन्द्र पोखरेल ।

विगत सम्झँदै उनले दाजुतिर हेरेर भने, ‘दाइ हामीभन्दा अलि सिनियर उहाँको खेल्ने टिम फरक थियो, हाम्रो फरक, हामी गाईभैंसी चराउँदै पाखामा खेल्थ्यौं, दाइ चराका गुँड भएका रुख खोज्दै हिँड्नुहुन्थ्यो ।’ उनले यसो भनिरहँदा आडैमा रहेका भाइ जगदीशचन्द्र मुसुमुस हाँसिरहेका थिए ।

राम्चेको चौतारीमा पुगेपछि मुख्यमन्त्री कृष्णचन्द्रले चारैतिर नियाँले । चौतारीको पश्चिमतिर रहेको मगरबस्तीमा केही घर बाँकी थिए । पहिला बाक्लो बस्ती भएको ठाउँमा अहिले घरको भग्नावशेष पनि देखिँदैन । अग्ला रुख र खरले ढाकिएको छ । कच्ची नै सही मोटरबाटो भने पुगेको छ ।

दाजु रामचन्द्र, भाई जगदिशचन्द्र तथा छोरी रञ्जनाका साथ जन्मस्थान राम्चे पुगेको मुख्यमन्त्री कृष्णचन्द्र नेपालीको परिवार
जन्मस्थान राम्चेमा खानेपानी आयोजनाको उद्घाटनका लागि पुगेका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलको स्वागत गर्दै स्थानीय ।


चौतारीको छेवैमा रहेको बाटोमा निस्केर उनले पोखरेलफाँट र वरपरका बस्ती अवलोकन गरे । पाखामा रहेका बस्ती खाली हुँदै गर्दा बेसीको खेतमा घरहरु ठडिएका थिए । अनि चारैतिर सडक बाटोको लहरमात्रै देखिने । उमेरले आफूभन्दा जेठा खड्गबहादुर अधिकारीसँग उनले भने, ‘खड्गबहादुर दाइ ठाउँ त निकै फेरिएछ नि है ।’ त्यसपछि मुख्यमन्त्रीसहितको टोलीले नजिकैको घरको आँगनमा बसेर खाजा खाएको थियो । त्यतिबेला पनि मुख्यमन्त्री पोखरेलले विगतका स्मरण सुनाउँदै थिए ।


आन्तरिक मामिला मन्त्री डोवाटे विक, नुन, सञ्चार तथा प्रदेश सभा मामिला मन्त्री बिन्दुकुमार थापा तथा कांग्रेस नेता दाजु रामचन्द्र अनि योजना आयोग उपाध्यक्ष भाई जगदीशचन्द्रसहित मुख्यमन्त्री कृष्णचन्द्र नेपालीको परिवार जन्मघर राम्चेमा


मुख्यमन्त्री पोखरेलको परिवार त्यतिबेलाको तनहुँसुरमा पर्ने राम्चेमा थियो । बाबु गोवद्र्धन शर्मा सानैदेखि विद्रोही स्वभावका । विसं १९७५ सालमा महामारीका कारण बुवाआमा सहित परिवारका ५ सदस्य ३ दिनको बीचमा गुमाएका थिए गोवद्र्धनले । त्यतिबेला गाउँमा अहिले टाइफाइट भनिने आँठे रोगको महामारी थियो । सानैमा टुहुरो भएकैले होला गोवद्र्धन शर्मामा विद्रोही स्वभाव देखिएको । उनको परिवार राम्चेबाट २०१३ सालतिर नजिकैको अर्चलचौरमा बसाइँ स¥यो । कृष्णचन्द्रले राम्चेका करिब ८ वर्ष बिताए ।


तत्कालीन शासन व्यवस्थाविरुद्धको आन्दोलनमा लागेका कारण गोवद्र्धन शर्मा निर्वासनमा गएपछि परिवार कसरी पाल्ने भन्ने चिन्ता भयो । कृष्णचन्द्रकी आमा द्रौपदाको  निर्णय अनुसार परिवार अर्चलचौरबाट पोखरेलफाँटमा झ¥यो । राम्चेको चौतारीमै कृष्णचन्द्रले स्मरण गरे, ‘आम्दानीको स्रोत नहुँदा परिवारमा आर्थिक संकट थियो, संकटकै बीचमा आमाले हामीलाई हुर्काउनुभयो ।’ कृष्णचन्द्रकी आमा द्रौपदा अहिले ९८ वर्षकी भइन् ।
भीरपानी खानेपानी आयोजना उद्घाटन गर्न उनले राम्चे पुगेका हुन् । राष्ट्रिय योजना आयोगका पूर्व उपाध्यक्ष डा. जगदीशचन्द्र पोखरेलेको पहलमा योजना परेर निर्माण सम्पन्न भएको आयोजनाले राम्चेका १ सय १० परिवारले स्वच्छ खानेपानी उपभोग गर्न पाउँछन् । पाइप विस्तारको काम भइरहेकाले अहिले करिब ७० घरमा धारा पुगिसकेको छ । राम्चेगाउँ भन्दा केही तलको भीरपानीबाट लिफ्टिङ गरेर डाँडामा ट्यांकी बनाएर पानी वितरण गरिएको छ ।


राम्चे अहिले व्यास नगरपालिका वडा नम्बर ११ मा पर्छ । खानेपानी योजना उद्घाटन गरेपछि मुख्यमन्त्री पोखरेलले भने, ‘नागरिकलाई स्वच्छ खानेपानी उपलब्ध गराउन सरकार प्रतिबद्ध छ, ढिलै भए पनि पनि राम्चेमा यो आयोजना सम्पन्न भएकामा खुसी लागेको छ ।


युवाहरुलाई स्वदेशमै रोकेर बाँझो खेतबारी हराभरा बनाउने अनि मुलुकलाई समृद्ध बनाउन प्रदेश सरकारले पहल गरिरहेको उनले सुनाए । पर्यटकीय सम्भावना बोकेको राम्चेमा सडक लगायत पूर्वाधारका लागि तत्कालै पहल गर्ने प्रतिबद्धता उनले जनाए । मुख्यमन्त्रीसँगै प्रदेशका कानुन, सञ्चार तथा प्रदेश सभा मामिला मन्त्री बिन्दुकुमार थापा र आन्तरिक मन्त्री डोवाटे विश्वकर्मा पनि थिए । डोवाटे विश्वकर्माको जन्मगाउँ पनि तनहुँसुर नै हो ।


उक्त अवसरमा मन्त्रीद्वय, मुख्यमन्त्री पोखरेलका दाजु रामचन्द्र, भाइ डा. जगदीशचन्द्र, वडाध्यक्ष वीरबहादुर खड्का, वडासदस्य हेरम्बजंग अधिकारी, स्थानीय समाजसेवी खड्गबहादुर अधिकारी, खानेपानी उपभोक्ता समिति अध्यक्ष नरबहादुर थापासहितले भनाइ राखे । 

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि damaulinews.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्

कभर स्टोरी