सहरका ठूला विद्यालयमा अनलाईन, गाउँमा प्रत्यक्ष कक्षामा आकर्षण

  • ख-
  • ख+

दमौलीः व्यास नगरपालिकाले अनुमति दिए पछि सहरी क्षेत्रमा पनि प्रत्यक्ष कक्षा चलेका छन् । नगरपालिकाले अनुमति दिनु अगाडि नै कतिपयले प्रत्यक्ष कक्षा थालेका थिए भने केहीले भने हाल नियमित रुपमा कक्षा चलाइरहेका छन् ।

तर सहरी क्षेत्रका सबै विद्यालयले भने प्रत्यक्ष कक्षा सञ्चालन गरेका छैनन् । धेरै विद्यार्थी भएकाले व्यवस्थापनको जटिलता अनि मापदण्ड पुरा गर्नमा हुने कठिनाईले पनि अहिले सोचेजस्तो रुपमा प्रत्यक्ष कक्षा जान सकेको छैन । तर गाउँमा अवस्था उल्टो छ ।

गोरखकालीमा अनलाईन आकर्षण
दमौलीको गोरखकाली आवासीय माविले अनलाईनबाट पढाउन थालेको दुई महिना बढी भयो । कोरोना जोखिमका कारण विद्यालयले अनलाईनबाट पठनपाठन गराइरहेको थियो । तर व्यास नगरपालिकाले असोज ११ गतेबाट पठनपाठन खुलाउने निर्णय गरेसँगै विद्यालयले आईतबारबाट प्रत्यक्ष पठनपाठन थाल्यो ।

लामो समय घरमै बस्नु परेका कारण शुरुवातमा अनलाईन कक्षामा उत्साह थपिएको अनुभव विद्यालयका शिक्षकहरुको छ । ‘हामीले अनलाईनबाटै पढाउँदा केही विद्यार्थी पढ्न सकेका थिएनन्,’ विद्यालयकी निर्देशक विणा कैनीले भनिन्,‘तर प्रत्यक्ष कक्षा चलाउँदा विद्यार्थीको आकर्षण बढी पायौं ।’

विद्यालयको गेटमा आउनासाथ विद्यार्थीले स्यानिटाइजर लगाउनुपर्छ । मास्क लगाएरै विद्यालय प्रवेश गराउने गरिएको छ । ‘हामीले जुनियर र सिनियरलाई बेग्लै सिफ्ट गरेर पठनपाठन गराइरहेका छौं,’ उनले भनिन्,‘एउटा कोठामा बढीमा १२ जनासम्म राखेर कक्षा चलाइरहेका छौं ।’ यसरी कक्षा चलाइंदा विद्यालय आउनेको संख्या बढेको छ । ‘कुल विद्यार्थीको ८० प्रतिशतसम्म आउने गरेका छन्,’ विद्यालयका संयोजक तीर्थ रानाभाटले भने,‘शुरुमै उपस्थिती राम्रो देखिएको छ ।’

निर्मलमा प्रत्यक्ष कक्षा
कतिपय संस्थागत विद्यालयले यस अघि नै पठनपाठन थालेका थिए । नगर कार्यपालिकाले स्वास्थ्य मापदण्ड पुरा गरेर पठनपाठन चलाउन दिने निर्णय गरे पछि धेरै निजी लगानीका विद्यालयमा पठनपाठन शुरु गरिएको थियो ।

तर सामुदायिक विद्यालयले भने आईतबारबाट मात्र पठनपाठन थालेका छन् । ‘हामीले प्रत्यक्ष कक्षा चलाउन थाल्यौं,’ निर्मल माविका प्रधानाध्यापक गणेशचन्द्र बस्नेतले भने,‘कक्षामा विद्यार्थी र अभिभावकको उत्साह छ ।’ उनले अनलाईन कक्षा सञ्चालन भन्दा प्रत्यक्ष प्रभावकारी भएको बताए । ‘सानो संख्यामा नगरपालिकाको निर्देशनअनुसार पठनपाठन चलाउँदा कक्षा प्रभावकारी देखिएको छ,’ उनले भने ।

विद्यार्थी उपस्थित उत्साहपूर्ण
एनप्याब्सन तनहुँका अध्यक्ष रामकृष्ण विक विद्यालयहरुले पठनपाठन आरम्भ गरेको शुरुवातमै उत्साहपूर्ण विद्यार्थी उपस्थिती भएको बताउँछन् । ‘विद्यार्थीहरुको उपस्थिती राम्रो छ,’ उनले भने,‘सहरका विद्यालयमा गाउँबाट विद्यार्थी नफर्के पनि गाउँका विद्यालयमा अधिकांश विद्यार्थी आएका छन् ।’

उनले दुई सिफ्टमा अधिकांश विद्यालय सञ्चालन भएको भन्दै सिफ्ट व्यवस्थापन गर्दा समयमा एकरुपता नभएकाले भने जटिलता थपिएको बताए ।
‘कसरी समयमा एकरुपता कायम गर्न सकिन्छ भन्नेबारे छलफल अघि बढाएका छौं,’ उनले भने ।
न्यू मनकामना अंग्रेजी बोर्डिङ स्कूल भादगाउँमा पनि विद्यार्थी आउने क्रम बढेको छ । ‘अनलाईन भन्दा प्रत्यक्ष कक्षामै आकर्षण देखियो,’ विद्यालयका संस्थापक प्रिन्सिपल तिलकबहादुर चौहानले भने ।

सहरका ठूला विद्यालयमा अनलाईन
दमौलीको सत्यवती माविले अनलाईन कक्षा मात्र चलाएको छ । विद्यालयमा साविकमा १२ सय हाराहारीमा विद्यार्थी हुने भएकाले नगरपालिकाले अनुमति दिए पनि विद्यालयले अनलाईन कक्षा नै चलाएको छ । ‘सानो कक्षाको अनलाईनमा आउन नसक्ने विद्यार्थीका लागि प्रत्यक्ष कक्षा चलाउन थालिएको छ,’ प्रधानाध्यापक इन्द्रप्रसाद पौडेलले भने,‘बाँकीलाई पहिलेझैं अनलाईन कक्षामै समावेश गराएका छौं ।’

दमौलीको अर्को ठूलो संस्थागत विद्यालय व्यास दिव्यज्योति बोर्डिङ स्कूलले परिस्थिती हेरेर दशैं पछि मात्र प्रत्यक्ष कक्षा चलाउने योजना बनाएको छ । ‘अहिले हामीले अनलाईनबाटै कक्षा चलाउँछौं,’ विद्यालयका प्रिन्सिपल सुरज शुब्बाले भने,‘जोखिम हेरेर प्रत्यक्ष कक्षाबारे निर्णय गर्छौं ।’ अर्का एक निजी विद्यालय सञ्चालकले सहरका अभिभावक डराएकाले अनलाईन र प्रत्यक्ष दुवै कक्षा चलाएको बताए । ‘केही अभिभावकले विद्यार्थी पठाउन मानेका छैनन्,’ उनले भने,‘त्यसैले एकै पटक दुवै कक्षा चल्ने व्यवस्था मिलाएका छौं ।

गाउँका विद्यालयमा बढ्यो उपस्थिती
सहरका विद्यालयमा केही अभिभावकले त्रासका कारण विद्यालय नपठाए पनि गाउँमा भने अवस्था फरक छ । गाउँका सामुदायिक तथा संस्थागत दुवै विद्यालयमा उपस्थिती राम्रो छ । ‘गाउँमा चलेका विद्यालयमा विद्यार्थी संख्या धेरै छ,’ एनप्याब्सन अध्यक्ष विकले भने,‘सहरजस्तो जोखिम नभएकाले पुरै समय पढाउनुपर्छ भन्ने माग पनि आएको छ ।’

साँगेको तनहुँ तारापुञ्ज विद्यालयका प्रिन्सिपल विश्वास केसीले विद्यार्थी उपस्थिती राम्रो रहेको बताए । ‘हाम्रा अधिकांश विद्यार्थी गाउँका स्थानीय हुन्,’ उनले भने,‘पोहोरजत्ति विद्यार्थी दुई दिनमै आइसकेका छन् ।’

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि damaulinews.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्

कभर स्टोरी