रक्सी, मासुमा बिक्ने युवालाई हीनताबोध हुँदैन ?

  • ख-
  • ख+

सन्देश आचार्य
बहुदलको स्थापना पश्चात् नेपालमा अनेकौं उद्देश्य राखेर राजनैतिक दलहरूको निर्माण गरिए । विगतलाई हेर्ने हो भने धेरै दलहरू जनमत विहिन भए । केही राजनैतिक दलहरू नेतृत्वको महत्वाकांक्षी सोचका कारण टुक्रिए, केही अन्य दलमा विलिन भए, अस्तित्ववीहिन भए ।

वर्तमान प्रमुख दलहरूमा पनि बीपी विचारबाट प्रेरित काङ्ग्रेस र मार्क्स, एंगेल्स र लेनिनबाट प्रेरित नेकपाबीच जनमतको उपहास गर्न बाहेक अन्य सवालमा एक मत देखिंदैन । जुनसुकै तन्त्रात्मक प्रणालीको स्थापना हुँदै गएता पनि जनताले देखेका द्रुत विकासको सपना र राजनैतिक दलले छरेका भ्रमहरू चिर्न बढो सकस देखिन्छ ।

दलहरूमा देखिने नातावाद र चाकडीवादको खेलले जनताहरूमा राजनीतिप्रतिको वितृष्णा जाग्नु स्वभाविक पनि हो । जनभावनाको कदर नहुनु,जनमतको अवमूल्यन हुनु र स्वार्थगत कार्यमा लिन हुनु आजका राजनैतिक दलका दलालहरूको दिनचर्या मात्र होइन राष्ट्रप्रतिको घात पनि हो ।
देशमा जुन तन्त्र आए पनि जनताले प्रत्यक्ष आभास पाउने कुनै कार्य भएनन् ।

जति विकास देखियो राजनैतिक भरौटेहरूको भूँडीको विकास देखियो । दलहरूले आफू प्रेरित वादलाई जन समक्ष पुर्याउन र व्याख्या गर्न नसक्ने असक्षम व्यक्तिलाई स्थानीय तह देखि केन्द्र सम्म पदस्थापन गर्दा देश दशकौं देखि अनिर्णयको भड्खालोमा जाकिएको हो ।

राजनीति एउटा विचारको राज्य नीति हो । तर यसलाई लाजनीतिको रूपमा विकास गर्ने हाम्रै दलहरू हुन् । यसलाई प्रोत्साहन दिने हामी जनताहरू हो । आर्थिक प्रलोभनका आधारमा असक्षम व्यक्तिलाई जनमत दिने हामी मतदाताहरू पनि राष्ट्रघाती हौं ।

मतदाताहरूले यो बुझ्न जरूरी छ कि निर्वाचनमा कुनै दलको उमेद्वारले गरेको खर्च ऊ निर्वाचित भए पछि राज्यको ढुकुटी दोहन गरेर पक्कै हासिल गर्छ । अहिले चलेको यो महत्वपुर्ण ट्रेण्ड हो । रक्सी, मासु र पेट्रोलमा बिक्ने युवाहरूलाई हीनताबोध हुन्छ कि हँुदैन ? राजनैतिक चपेटामा च्यापिएर विदेशिएका हजारौं नेपाली दाजुभाईहरूको लिष्टमा उनीहरू सामेल होलान कि नहोलान् ? गम्भीरतापुर्वक सोचौं ।

मतदाताहरूले यो बुझ्न जरूरी छ कि निर्वाचनमा कुनै दलको उमेद्वारले गरेको खर्च ऊ निर्वाचित भए पछि राज्यको ढुकुटी दोहन गरेर पक्कै हासिल गर्छ । अहिले चलेको यो महत्वपुर्ण ट्रेण्ड हो । रक्सी, मासु र पेट्रोलमा बिक्ने युवाहरूलाई हीनताबोध हुन्छ कि हँुदैन ? गम्भीरतापुर्वक सोचौं ।

फरक फरक विचारले प्रेरित भएर राज्यको मुहार फेर्न होमिएका दलहरू विचार विहिन भएर विकासका योजनाहरूमा पनि फरक रूपमा उभिएको देख्दा उदेक लाग्छ । जनताले प्रत्यक्ष महसुस गर्ने गरि हुने निर्माण हुने नीति र योजनाहरूलाई सरकार परिवर्तनसँगै स्थगित गर्ने परिपाटी वास्तवमै अहितकर छन् ।

हाम्रो समाजमा अझैं सु–संस्कृत राजनैतिक विचारले स्थान पाउन सकेको छैन । यस्ता विकारहरूलाई राजनीतिबाटै निर्मुल गर्न युवा जनशक्तिको खाँचो छ ।
राजनीतिमा आउनेहरू एउटा दर्शन बोकेर आउनूस्, विचार बोकेर आउनुस् ताकि मतदाताहरूले प्रत्यक्ष तपाईंलाई बुझुन् ।

तपाइंको दललाई बुझुन् । राजनैतिक दलले तपाईंको घर, तपाईँको समाज र राष्ट्रलाई केही प्रभाव पार्दैन जति तपाईको दर्शन र विचारले पार्दछ । हामीले विगतबाट केही सिकौं । नेतालाई होइन, आफुलाई गाली गरौं ।

आफ्नो गलत निर्णयबाट पाठ सिकौं । हाम्रा गलत निर्णयले हामी दशकौं पछि परेकोमा आत्मग्लानी गरौं । घर, समाज र राष्ट्रको परिवर्तन रोजौं । नव विचार नै समाज परिवर्तनको संवाहक हो । युवा नै नव विचारको आधार हो । त्यसैले युवा शक्ति नव विचारका र नव उर्जाका साथ राजनीतिमा आउन जरूरी छ । राजनीतिलाई सु–संस्कृत बनाउन जरूरी छ ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि damaulinews.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्

कभर स्टोरी