एनसीसी विश्व सम्मेलनको निष्कर्ष प्रधानमन्त्री र परराष्ट्रमन्त्रीलाई, कार्यान्वयनका लागि आइसीसीलाई दबाब दिन अनुरोध

  • ख-
  • ख+

काठमाडौं : तोकिएको मितिमा गैरआवासीय नेपाली संघको निर्वाचन र विश्व सम्मेलन हुन नसकेपछि आयोजित संघका राष्ट्रिय समन्वय परिषद्(एनसीसी)हरुको विश्व सम्मेलनले पारित गरेका निर्णय प्रधानमन्त्री शेरबहादुर देउवा र परराष्ट्रमन्त्री डा. नारायण खड्कालाई हस्तान्तरण गरिएको छ ।

संघको दशौं महाधिवेशन(विश्व सम्मेलन) अक्टोबर २३–२५ का लागि तय गरिएको थियो भने निर्वाचन अक्टोबर २० का लागि तय गरिएको थियो । तर, महाधिवेशन प्रतिनिधि(डेलिगेट्स) चयनको विवादलाई देखाएर आइसीसीले निर्धारित मितिमा निर्वाचन र विश्व सम्मेलन दुवै स्थगित गरेको छ ।

निर्वाचन र विश्व सम्मेलन दुवै स्थगित भएपछि राष्ट्रिय समन्वय परिषद्हरुको विश्व सम्मेलन अक्टोबर २४ मा आयोजना गरिएको थियो । भर्चुअल सम्मेलनले सात बुँदे घोषणापत्र जारी गरेको छ ।
प्रधानमन्त्री देउवाको बेलायत भ्रमणको अवसरमा लण्डनमा नै आयोजित कार्यक्रमका बीच देउवालाई एनसीसी विश्व सम्मेलनको निष्कर्ष हस्तान्तरण गरिएको हो भने परराष्ट्रमन्त्री खड्कालाई इमेलमार्फत पठाइएको हो ।

प्रधानमन्त्री देउवा र परराष्ट्रमन्त्री खड्कालाई पठाइएको पत्रमा विश्व सम्मेलनले पारित गरेका निष्कर्ष जतिसक्दो छिटो कार्यान्वयनका लागि आइसीसीलाई आवश्यक दबाब दिन आग्रह गरिएको छ ।

गैरआवासीय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद् बेलायत(एनसीसी यूके)ले प्रधानमन्त्री देउवाको सम्मानमा लण्डनमा आयोजना गरेको कार्यक्रममा एनसीसी यूकेका अध्यक्ष प्रेम गाहा मगरले प्रधानमन्त्री देउवालाई ज्ञापनपत्र हस्तान्तरण गरेका थिए । आयोजककै तर्फबाट गाहा मगरले नै परराष्ट्रमन्त्री खड्कालाई ज्ञापनपत्र सहित निष्कर्ष पठाएका हुन् ।

प्रधानमन्त्री र परराष्ट्रमन्त्रीलाई पठाइएको ज्ञापनपत्रमा संघको वर्तमान आइसीसीको नेतृत्वले समयमा निर्वाचन र महाधिवेशन गर्न असफल भएको र संघको साख गिर्दै गइरहेको उल्लेख गर्दै नेपाल र नेपालीको समृद्धिका लागि काम गरिरहेको संघको गरिमा कायम गर्न आवश्यक पहल गर्न अनुरोध गरिएको छ ।

आइसीसीका केही पदाधिकारीले विधान विपरीत व्यक्तिगत स्वार्थका आधारमा प्रतिनिधि चयनको नियमावली बनाएको, त्यसका विरुद्ध परराष्ट्र मन्त्रालयमा उजुरी परेको, परराष्ट्र मन्त्रालयले विधान अनुसार गर्न भनेर आइसीसीलाई पठाएको पत्र अनुसार पनि आइसीसीले सो अनुसार काम नगरेको र उल्टै विवाद समाधान नगरी निर्वाचन र महाधिवेशन नै स्थगित गरेको लगायतका विषय ज्ञापन पत्रमा उल्लेख गरिएको छ ।

एनआरएनएका हाल सक्रिय कूल ६५ मध्ये ५३ एनसीसीका अध्यक्ष, पदाधिकारी तथा बहुसंख्यक महाधिवेशन प्रतिनिधि सहभागी विश्व सम्मेलनले पारित गरेको सात बुँदे घोषणापत्रमा सम्मेलनले पारित गरेका सुझाब तत्काल कार्यान्वयन गर्न र नगरिएमा पुनः विश्व भेला गरी थप कदम चाल्ने चेतावनी पनि दिइएको छ । ‘हामी हाम्रा यी सुझावहरु तत्काल कार्यान्वयन गर्न केन्द्रीय समितिलाई आग्रह गर्दछौं। यदि यी सुझावहरु कार्यान्वयन गर्न ढीलाइ गरिए एनसीसीका सबै अध्यक्ष तथा नवनिर्वाचित आइसीसी सदस्यहरु सहभागी विश्व भेला गरी आगामी कदमबारे निर्णय लिइने जानकारी समेत गराउंछौं’ प्रधानमन्त्री र परराष्ट्रमन्त्रीलाई बुझाइएको ज्ञापनपत्रमा उल्लेख छ

प्रधानमन्त्री सकारात्मक, परराष्ट्रलाई अवसर
प्रधानमन्त्री देउवाले नेपालको विकास र समृद्धिका लागि साझेदारी गरिरहेको गैरआवासीय नेपाली संघलाई गति दिन आफू सकारात्मक रहेको बताएका छन् ।
लण्डनमा शनिबार आयोजित कार्यक्रममा ज्ञापनपत्र बुझेपछि देउवाले प्रवासमा रहेका नेपालीहरुको प्रतिनिधित्व गर्ने र नेपालको विकास तथा समृद्धिमा साझेदारी गरिरहेको संघलाई विधि अनुसार अगाडि बढाउनुपर्ने मागमा आफ्नो समर्थन रहेको बताए ।
विधान अनुसार निर्वाचन गरी संघको नयाँ नेतृत्व चयन गर्नुपर्नेमा जोड दिँदै प्रधानमन्त्री देउवाले संस्थालाई व्यक्तिगत चाहनाभन्दा पनि विधान अनुसार सन्चालन गर्नुपर्ने बताए ।
एनआरएनए विवादमा दुई पटक नेतृत्वको ध्यानाकर्षण गराइसकेको परराष्ट मन्त्रालयलाई आफ्नो सम्बन्धन प्राप्त संस्थाको सुधारका लागि अवसर जुटेको छ । संघको विधानदेखि कार्यशैलीसम्म सुधारका लागि थुप्रै विषयमा सुधार गर्नुपर्ने निष्कर्ष निकालेको मन्त्रालयले यही मौकामा संघलाई विधिसम्मत र संस्थागत रुपमा सन्चालनका लागि आवश्यक मार्गनिर्देशन गर्न सक्ने छ ।
विवाद समाधान नगरी अकस्मात निर्वाचन र महाधिवेशन रोक्ने निर्णयको अनुगमन गरिरहेको मन्त्रालयले आवश्यक परे थप सुझाब दिने तयारी पनि गरिरहेको जनाइएको छ ।

(परराष्ट्रमन्त्री डा. नारायण खड्कालाई बुझाइएको पत्र)

मितिः ३१ अक्टोबर २०२१
माननीय डा. नारायण खड्काज्यू,
परराष्ट्र मंत्री
नेपाल सरकार
विषयः गैरआवासीय नेपाली सङ्घ राष्ट्रिय समन्वय परिषद्हरुको पहिलो विश्व भेलाका निष्कर्षहरु बारे
माननीय मंत्रीज्यू,
उक्त विषयमा गैर आवासीय नेपाली सङ्घ राष्ट्रिय समन्वय परिषद्हरुको पहिलो ऐतिहासिक विश्व भेला भर्चुएल माध्यमबाट २४ अक्टोबर २०२१ मा सम्पन्न भएको जानकारी गराउन चाहन्छौं।  
गैर आवासीय नेपाली संघको १८ वर्षको अवधिमा पहिलो पटक घोषित मितिमा महाधिवेशन तथा चुनाव हुन नसकेको  र उत्पन्न विवादलाई अन्तर्राष्ट्रिय समन्वय परिषदले उचित सम्बोधन गर्न नसकेको हुनाले वैधानिक संकटको स्थिति उत्पन्न भएको छ ❘ यसै कुरालाई सम्बोधन गर्न नसकेको कारणले संघकै जिम्मेवार अभियन्ताहरुले पररास्ट्र मन्त्रालयमा निवेदन दिने स्थिति उत्पन्न भयो ।  यस्तो विषम परिस्थितिमा संस्थालाई निकास दिन ताजा जनादेश प्राप्त, भर्खरै निर्वाचित गैर आवासीय नेपाली सङ्घ राष्ट्रिय समन्वय परिषद् (एनसीसी) हरुले  स्वतस्फुर्त रुपमा विश्व भेला गरी  व्यापक छलफल ग–यौं ।
उद्घाटन सत्रमा संघका पूर्व अध्यक्ष तथा संरक्षक देवमान हिराचन,  संघका सल्लाहकारहरु कुल आचार्य, विश्व आदर्श पण्डित, सोम सापकोटा, त्रिलोक गुरुङ, एसी शेर्पा, हरिबोल भण्डारी, केन्द्रीय उपाध्यक्षहरू सोनाम लामा, मन केसी, सचिव आर के शर्मा, सह कोषाध्यक्ष लोक दाहाल, महिला संयोजक भोमा लिम्बू, युरोप क्षेत्रीय संयोजक नारायण आचार्य, अफ्रिका क्षेत्रीय संयोजक रोशन थापा, युवा संयोजक हिमाल गुरुङ, मध्यपूर्व युवा संयोजक राज रेग्मी, एनसीसी अमेरिकाका पूर्व सल्लाहकार डा. यादव पण्डित, विभिन्न एनसीसीका अध्यक्षहरु लगायतका वक्ताले सारगर्भित मन्तव्य राख्नु भएको थियो।
त्यस्तै नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा जनसम्पर्क समन्वय विभाग प्रमुख गोविन्द भट्टराई, नेकपा माओवादी केन्द्र प्रवास समन्वय समितिका अध्यक्ष ओम शर्मा, नेकपा एकीकृत प्रवास समन्वय समितिका प्रमुख श्रीप्रसाद साह, जनसम्पर्क समिति अमेरिकाका अध्यक्ष आनन्द बिष्टलगायतका अतिथिहरुले सम्बोधन गर्नु भएको थियो।  
भेला तयारी समितिका संयोजक तथा राष्ट्रिय समन्वय परिषद् अमेरिकाका अध्यक्ष बुद्धि सुवेदीको अध्यक्षतामा सम्पन्न  उद्घाटन समारोह पछि  सबै सहभागी राष्ट्रिय समन्वय परिषद्हरुका अध्यक्ष तथा पदाधिकारीहरुले  बन्द सत्रमा नेपालमा हालै गएको बाढी पहिरो बाट उत्पन्न स्थिति,  संघमा हाल देखिएको समस्या तथा यसको निकास लगायतका विषयमा घनीभूत छलफल गर्नु भएको थियो।
छलफलको आधारमा सर्वसम्मतिबाट पारित उक्त भेलाका निष्कर्ष निम्न अनुसार रहेका छन्ः
१. नेपालमा हालै भारी बेमौसमी वर्षाका कारण बाढी पहिरोमा परि भएको धन जनको क्षतिप्रति एनसीसीहरुको तपÞर्mबाट गहिरो दुख ब्यक्त गर्दछौं ।  पीडित परिवार र समुदायलाई सहयोग गर्न एनसीसीहरुले आआफ्नो तर्फबाट सक्दो सहयोग जुटाउने र आपसी समन्वय गरि पठाउने निर्णय गरियो ।
२. गैरआवासीय नेपाली संघ अन्तर्राष्ट्रिय समन्वय परिषद्बाट एउटै विषयमा एनसीसीहरुलाई भिन्नाभिन्नै पत्र पठाउनु असमान व्यवहार भएको हाम्रो निश्कर्ष छ। आइसीसीले सबै एनसीसीहरुलाई समान व्यवहार गर्न नसक्नु तथा आइसीसीका पदाधिकारीहरु नै चुनावमा होमीने भएपछि आफ्नो अनुकूल स्थिति बनाउन यस्ता कामहरु गरिएको हामी एनसीसीहरुको भोगाइ र बुझाइ छ । आइसीसीको निर्वाचन परिणामलाई प्रभावित गर्न  एनसीसीको निर्वाचन तथा डेलिगेट्स चयन प्रक्रियामा हस्तक्षप गर्ने वातावरण अन्त्य गर्न हामी माग गर्दछौं ।
३. गैरआवासीय नेपाली संघ नेपाल सरकार परराष्ट्र मन्त्रालयमा दर्ता भएकाले संस्था भित्रका विवाद सम्बन्धमा सुनुवाइ नभएको अनुभूति गरे पछि नियामक निकायमा जानु स्वाभाविक भएको हाम्रो ठहर छ।  परराष्ट्र मन्त्रालयले दिएको सुझाव र सल्लाहलाई संघको विधान मुताविक कार्यान्वयन गर्न हामी संघको वर्तमान नेतृत्वलाई आह्वान गर्दछौं। मन्त्रालय, नेपाल सरकार वा कुनै दल विशेषलाई आरोप लगाउने काम कुनै पनि संस्थाको जिम्मेवार पदाधिकारीलाई सुहाउने काम होइन । त्यसो नगर्न पनि हामी आग्रह गर्दछौं।  
४. संघको विधानको गलत व्याख्या गरी नव निर्वाचित कार्यसमितिका पदाधिकारीहरुलाई विश्व सम्मेलनमा भाग लिन नदिने काम न्यायोचित हुन सक्दैन।  यस सम्बन्धमा पुरानै प्रचलित अभ्यास अनुसार गर्नु भन्ने परराष्ट्र मन्त्रालयको स्पष्ट सुझाव तथा संघको विधानको मर्म र भावना अनुरुप ६५ प्रतिशत डेलिगेट्स चयन गर्ने जिम्मा २०२१–२३ का लागि निर्वाचित कार्यसमितिको नै हो भन्ने ठहर यो विश्व सम्मेलनले पनि गरेको छ।  त्यसैले सोहि अनुरुप गर्न गराउन अनुरोध गर्दै यसको तुरुन्त कार्यान्वयन गर्नका लागि यो सम्मेलन केन्द्रीय समिति  समक्ष जोडदार माग गर्दछ।
५. गैरआवासीय नेपाली संघको  विधानको व्यवस्था बमोजिम २ वर्ष भित्र महाधिवेशन गर्न नसकेको कारणले संघको विधानको धारा १६ (१) को (४) मा उल्लेख  भए बमोजिम संस्थाको साख बचाउन पहल गर्नु पर्ने जिम्मेवारी संरक्षक परिषदमाथि आइ पुगेको छ।  संघको इतिहासमै उत्पन्न अभूतपूर्व संकटलाई हालै कार्यकाल पुरा गरेको आइसीसी, नव निर्वाचित आइसीसी सदस्यहरु, सल्लाहकारज्यूहरु तथा हामी सम्पूर्ण एनसीसीहरुसंग छलफल र परामर्श गरी निकास निकाल्ने वैधानिक दायित्व पुरा गर्न  संरक्षक परिषद अग्रसर हुने हामीले विश्वास लिएका छौं।  संघलाई वर्तमान संकटबाट मुक्त गर्न आवश्यक जस्तो सुकै पहल कदमी लिन पनि एनसीसीहरु तैयार रहेको पुनः जोड दिन चाहन्छौं।  एमआइएस (सदस्यता सूचना प्रणाली) मा देखिएका अनियमितताहरुको छानबिन गर्नुका साथै निर्वाचन समितिसंग समन्वय गरी संघको दशौँ महाधिवेशन तथा स्वतन्त्र र निस्पक्ष निर्वाचन संम्पन्न गर्ने काममा संरक्षक परिषदलाई हाम्रो पूर्ण सहयोग रहने छ । त्यस्तै यो भेला २०२१–२३ का लागि निर्वाचित सम्पूर्ण आइसीसी सदस्यहरु दशौँ महाधिवेशनका लागि स्वतः प्रतिनिधि (डेलिगेट्स) मानिने व्यवस्था गर्न माग गर्दछ।
६. हामी हाम्रा यी सुझावहरु तत्काल कार्यान्वयन गर्न केन्द्रीय समितिलाई आग्रह गर्दछौं। यदि यी सुझावहरु कार्यान्वयन गर्न ढीलाइ गरिए एनसीसीका सबै अध्यक्ष तथा नवनिर्वाचित आइसीसी सदस्यहरु सहभागी विश्व भेला गरी आगामी कदमबारे निर्णय लिइने जानकारी समेत गराउंछौं।    
७.  गैरआवासीय नेपाली संघका राष्ट्रिय समन्वय परिषद्हरुको पहिलो विश्व भेला सफल पार्न सहयोग गर्नु हुने सबै एनआरएनए अभियन्ताहरु, हाम्रो निमंत्रणा स्वीकारेर कार्यक्रममा सहभागी हुनु हुने प्रमुख राजनीतिक दलका प्रतिनिधिहरु, पूर्व परराष्ट्र मंत्री डा. प्रकाश शरण महत, संघसंस्था, संचारकर्मी मित्रहरु तथा एनआरएनए अमेरिकाको आइटी टिम लगायत सबैलाई यो भेला हार्दिक धन्यवाद ज्ञापन गर्दछ।  

गैरआवासीय नेपाली संघका राष्ट्रिय समन्वय परिषद्हरुको पहिलो विश्व भेला
तयारी समिति संयोजक – एनसीसी अमेरिकाका अध्यक्ष बुद्धिसागर सुवेदी
सदस्यहरुः
एनसीसी बेलायतका अध्यक्ष प्रेम गाहा मगर
एनसीसी अष्ट्रियाकी अध्यक्ष भवानी तिवारी
एनसीसी अष्ट्रेलियाका अध्यक्ष नन्द गुरुङ
एनसीसी क्यानाडाका अध्यक्ष दीपक गौतम
एनसीसी स्पेनका अध्यक्ष शालिकराम डुम्रे
एनसीसी कतारका अध्यक्ष मोहम्मद मुक्तदा मुसलमान
एनसीसी दक्षिण कोरियाका अध्यक्ष दीपक पुन मगर
एनसीसी दक्षिण अफ्रिकाका अध्यक्ष पुष्पराज भट्टराई
लगायत सबै राष्ट्रिय समन्वय परिषद्हरुको तपÞर्mबाट

प्रेम गाहा मगर
अध्यक्ष
एनआरएनए एनसीसी यूके

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि damaulinews.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्