तनहुँ कांग्रेस अधिवेशनः केन्द्रीय नेताहरुको प्रतिष्पर्धा सतहमा ( कहाँ को पक्षले जिते ?)

  • ख-
  • ख+

पवन पौडेल

दमौलीः नेपाली कांग्रेस तनहुँको अधिवेशनअन्र्तगत तनहुँका आठ तहमा नेतृत्व चयन भएको छ । नेताहरु तीव्र प्रतिष्पर्धामा रहेको जिल्लामा अधिवेशनको मतपरिणामले नेताहरुको भावी प्रतिष्पर्धालाई शंकेत गरेको छ ।

केन्द्रमा प्रभाव राख्ने वरिष्ठ नेता रामचन्द्र पौडेलसहित केन्द्रीय सदस्यहरु शंकर भण्डारी, गोविन्द भट्टराई, प्रदीप पौडेल तथा आमन्त्रित केन्द्रीय सदस्य ध्रुव वाग्लेको जिल्ला तनहुँमा दुई नेता वरिष्ठ नेता पौडेल र केन्द्रीय सदस्य भट्टराई धेरै नखुले पनि अरु बाँकी सतहगत प्रतिष्पर्धामा उत्रिए ।

पार्टी वरिष्ठ नेता पौडेलको प्रतिनिधित्व गर्ने उनीनिकट जिल्ला सभापति बैकुण्ठ न्यौपानेले गरे भने अरु नेता खुलेरै आफ्ना उम्मेदवार जिताउन लागे ।

कहाँ को पक्ष नेतृत्वमा ?
तनहुँको व्यास नगरपालिकाको सभापतिमा निर्वाचित सूर्यचन्द्र हड्खले पार्टी वरिष्ठ नेता रामचन्द्र पौडेलनिकट मानिन्छन् । उनलाई पार्टी सभापति बैकुण्ठ न्यौपानेले खुलेर समर्थन गरेका थिए ।


शुक्लागण्डकी नगरपालिकामा भने केन्द्रीय सदस्य प्रदीप पौडेल पक्षका नेता किसान गुरुङको विशेष रोजाईमा परेका गोपीबहादुर गुरुङलाई वरिष्ठ नेता पौडेल पक्षले समेत समर्थन गरेको थियो । तर अरु पदका लागि भएको चुनावमा भने प्रदीप पौडेल पक्षले क्लिन स्विप गरेको छ ।

उता, घिरिङ गाउँपालिका सभापति भएका यम थापा पनि केन्द्रीय सदस्य पौडेलकै साथमा सर्वसम्मत सभापति निर्वाचित भएका छन् । तर उनलाई पार्टी नेता राजेन्द्रकृष्ण श्रेष्ठको समेत साथ रहेको बताइन्छ ।

आँबुखैरेनी गाउँपालिकाको सभापतिमा निर्वाचित विष्णु पन्त पार्टी केन्द्रीय सदस्य शंकर भण्डारीनिकट मानिन्छन् । उनले चुनावी प्रतिष्पर्धामा गोविन्द भट्टराई खेमाको समर्थन पाएका प्रितम गुरुङलाई पराजित गरे ।

बन्दीपुरमा पनि शंकर भण्डारी पक्षधर विजयी भएका छन् । भण्डारीको साथ पाएका कर्णबहादुर खत्रीले केन्द्रीय सदस्य गोविन्द भट्टराई पक्षधर मानिने बैस गुरुङलाई पराजित गरे । गुरुङलाई वरिष्ठ नेता पौडेल पक्षधरको समेत साथ थियो ।

व्यास पछिको धेरै मतदाता रहेको भानु नगरपालिकामा वरिष्ठ नेता पौडेल पक्षधर रामकुमार श्रेष्ठ विजयी भएका छन् । केन्द्रीय सदस्य शंकर भण्डारीको पक्षबाट नवीनराज दाहाल उम्मेदवार बने पछि इतरका नेताको समेत साथ पाएका रामकुमार श्रेष्ठ निर्वाचित भए ।

उनलाई जिताउन जिल्ला सभापति न्यौपानेको समर्थनमा पूर्व सभापति रघुनाथ पौडेल तथा क्षेत्रीय सभापति उदयराज गौली खुलेर लागेका थिए ।
म्याग्दे गाउँपालिकाको सभापतिमा निर्वाचित रामभक्त घिमिरेलाई कांग्रेस आमन्त्रित केन्द्रीय सदस्य ध्र्रुव वाग्लेको विशेष साथ रह्यो ।

केही समययता म्याग्देको चुनावी जोडघटाउमा सक्रिय वाग्लेका रोजाई घिमिरेलाई केन्द्रीय सदस्य भण्डारीको पनि साथ रह्यो । वरिष्ठ नेता पौडेल पक्षधरले विनोद खनाललाई समर्थन गरेको चर्चा छ ।

देवघाटको सभापति भएका तिलबहादुर थापा पार्टी सभापति बैकुण्ठ न्यौपाने निकट मानिन्छन् । तर तरुण दलका गण्डकी संयोजक पूर्ण गुरुङले आफ्नो पहलमा थापालाई सर्वसम्मत निर्वाचित गराएको दमौली न्यूजसँग दाबी गरे ।


भीमाद र ऋषिङमा स्थगित
तीन उम्मेदवारबीच मतदान शुरु हुनै लाग्दा तरुणहरुबाट विरोध भए पछि ऋषिङको नेतृत्व चयन एक दिनलाई सरेको छ । सभापतिका आकांक्षी दानबहादुर श्रेष्ठ, तिलबहादुर थापा र भोजराज रानाबाटबीच सहमति हुन नसकेपछि मतदान तय भएको थियो ।

अरु सबै पदमा सहमति भएको गाउँपालिकामा मतदान शुरु हुन लागेपछि तरुण दलका कार्यकर्ताहरुले विरोध गर्दै सर्वसम्मत चयन गर्न दबाब दिएका थिए । त्यसपछि सहमतिका लागि स्थगन भएको छ ।

श्रेष्ठ र थापा दुवै गाउँपालिका अध्यक्ष राजेन्द्रकृष्ण श्रेष्ठनिकट मानिन्छन् । रानाभाट भने वरिष्ठ नेता पौडेलनिकट मानिन्छन् ।
भीमादमा पनि कार्यवाहक सभापति जीतप्रकाश आलेको जोडमा सहमतिमा नेतृत्व छान्ने भन्दै निर्वाचन स्थगन गरिएको छ ।

भावी चुनावी प्रतिष्पर्धाका लागि सन्देश
अहिलेको चुनावी प्रतिष्पर्धाले पौडेल पक्षधर र इतर खेमा सक्रिय भएर लागेको देखिन्छ । व्यास, देवघाट र भानुमा पौडेल खेमा बलियो देखिएको छ भने आँबुखैरेनी, म्याग्दे र बन्दीपुरमा पौडेलइतर ।

शुक्ला र घिरिङमा विशेष प्रभाव राखेका केन्द्रीय सदस्य प्रदीप पौडेल वरिष्ठ नेता पौडेलकै पक्षमा लागेमा जिल्ला र क्षेत्रको चुनावी प्रतिष्पर्धा रोचक हुने देखिन्छ । व्यास सहित म्याग्दे र आसपासमा प्रभाव राख्ने आमन्त्रित सदस्य ध्रुव वाग्ले वरिष्ठ नेता पौडेललाई नचिढाइकन इतर खेमामा अघि बढिरहेका छन् ।

भावी दिनमा उनको नीति के कस्तो हुन्छ त्यो पनि कौतुहलताको विषय छ । अहिले पौडेल खेमाले हालकै सभापति बैकुण्ठ न्यौपानेलाई अघि सार्ने चर्चा छ भने इतरबाट जीतप्रकाश आलेको चर्चा छ । तर आलेले वरिष्ठ नेता पौडेलको विश्वास जितिरहन प्रयास गरिरहेका पनि छन् । अहिलेको पालिका चुनावले केही दिन चुनावी हिसाबकिताबमा नेताहरुलाई व्यस्त बनाउनेछ र भावी दिनमा सम्भावित सहकार्य र उम्मेदवारको खाका पनि बन्ने अनुमान गरिएको छ ।

पालिका चुनावमा नखुलेका भट्टराई खुल्लान् ?
पालिका तहको चुनावमा कुनै उम्मेदवारका पक्षमा नखुल्ने बताएका केन्द्रीय सदस्य गोविन्द भट्टराईले महाधिवेशन प्रतिनिधि चयन र जिल्ला नेतृत्व चयनमा भने खुल्ने बताइसकेका छन् ।

बन्दीपुर,भानु, व्याससहित क्षेत्र नम्बर एकका तहहरुमा प्रभाव राख्ने उनले कसैका पक्षमा खुलेमा त्यसले अहिले देखिएको चुनावी अंकगणितमा तलमाथि पर्ने छ । यसले पनि जिल्लाको नेतृत्व कसले हात पार्ला भन्ने जोड घटाउमा पूरक अंक दिनेछ ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि damaulinews.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्

कभर स्टोरी