‘तनहुँ बौद्धिकहरुको ‘पावर हाउस’ हो यसको सदुपयोग गरौं’

  • ख-
  • ख+

तनहुँका बौद्धिकहरुको बहस

दमौली: तनहुँको चुँदीरम्घामा २००८ सालमा जन्मिएका प्राडा जयराज आचार्यले लामो समय कर्मभूमि काठमाडौंलाई बनाए । तर उनको साइनो अझै पनि जन्मभूमिसँगै छ । उनी आफू जन्मे हुर्केको ठाउँको सम्भावना धेरै भए पनि सके जति विकास नभएकोप्रति चिन्तित छन् । ‘तनहुँको माटो उब्जाउ छ, जताततैबाट देखिने हिमालको सुन्दरता छ,’ उनी भन्छन्,‘सबै दृष्टिले तनहुँ रिसोर्सफुल छ ।’

तनहुँ प्रकृति मात्र नभै मानव संसाधनका हिसाबले पनि धेरै धनी भए पनि यसको उपयोग जिल्लाले गर्न नसकेकोमा उनलाई चिन्ता लागेको रहेछ । तनहुँ बौद्धिक समाजले गरेको एक छलफल कार्यक्रममा उनले आफ्नो भावना पोेखे,‘तनहुँमा जन्मेका इञ्जिनियर, डाक्टर, टेक्नोक्रयाट्स, एग्रिकल्चरिष्ट, इकोनोमिष्ट सबै छन्,’ उनी भन्छन्,‘यी सबैको सदुपयोग गरेर फाइदा लिन सकिन्छ ।’ उनले जिल्लाले यी श्रोतको उपयोग गरेर समग्रमा पर्यटन, कृषि, शिक्षा आदिमा फाइदा लिन सक्ने सुझाव दिए ।

विज्ञहरु भन्छन्,‘हामी जिल्लाका लागि सघाउन तयार छौं’
तनहुँमा जन्मे हुर्केर उच्च शिक्षा र दक्षता हासिल गरेका व्यक्तिहरुबीच समाजले छलफल चलाएको थियो । त्यसक्रममा देश विदेशमा रहेका विज्ञहरुले आफ्नो दक्षता जिल्लाका लागि उपलब्ध गराउने प्रतिवद्धता जनाए ।

स्थानीय तहको नीति निर्माणमा सक्रिय डा. शेषरमण खनालले जिल्लाका तहहरुको विकाससम्बन्धी नीति निर्माणमा सघाउने इच्छा व्यक्त गरे । ‘मैले जानेको ज्ञान जिल्लाको योजना निर्माणमा लगाउन तयार छु,’ उनले भने ।

त्रिवि शिक्षाशास्त्र शंकायको डीनबाट अवकाश लिएका प्राडा कृष्णप्रसाद गौतमले आफूले जिल्लाको समस्या र समाधानको उपायबारे जानकारी राख्ने भन्दै सघाउनका लागि तयार रहेको बताए । ‘यहाँको राजनीति राम्रोसँग चलेको छैन,’ उनले भने,‘यहाँको समस्या समाधानका लागि म तयार छु ।’
लामो समय अमेरिकामा आईटीका क्षेत्रमा क्रियाशिल भएर स्वदेश फिरेका दीपकराज जोशी तनहुँसँग धेरै बौद्धिक सम्पदा भएकाले जिल्लाको विकासका लागि उपयोग हुनुपर्ने बताउँछन् । ‘हामी जिल्लाका लागि आफ्नो तर्फबाट योगदान दिन तयार छौं,’ उनले भने ।

हाल अष्ट्रेलियामा अध्यापनरत साँगेका डा. राम पण्डितले जिल्लाका जनशक्तिको अवस्था राम्रोसँग बुझे घर बनाउन सकिने भन्दै उनीहरुबाट जिल्लाले फाइदा लिन सक्ने तर्क गरे । ‘हाम्रो घरलाई राम्रो बनाउन आफ्नो शक्तिको उपयोग गरिनुपर्छ,’ उनले भने ।

लेखक एवं विश्लेषक शिवप्रसाद तिवारीले भौतिक तथा सामाजिक विकासका लागि विज्ञहरुको सहयोग लिने खालको मञ्च तयार पारिनु जरुरी रहेको बताए । ‘स्थानीय तहलाई सशक्त बनाउन एउटा मञ्च तयार हुनु जरुरी छ ।’


हाल अष्ट्रेलियामा अध्यापनरत साँगेका डा. राम पण्डितले जिल्लाका जनशक्तिको अवस्था राम्रोसँग बुझे घर बनाउन सकिने भन्दै उनीहरुबाट जिल्लाले फाइदा लिन सक्ने तर्क गरे । ‘हाम्रो घरलाई राम्रो बनाउन आफ्नो शक्तिको उपयोग गरिनुपर्छ,’ उनले भने ।

लामो समय काठमाडौंमा शिक्षा क्षेत्रमा सक्रिय विणा कैनीले आफू जिल्लामै शिक्षा क्षेत्रमा योगदान दिन फर्केको भन्दै सकेको योगदान गर्न तयार रहेको बताइन् । ‘शिक्षा क्षेत्रको विकासका लागि मैले आफ्नै स्कूल र तालिमहरु सञ्चालन गरेकी छु,’ उनले भनिन्,‘यस ठाउँको दीर्घकालिन विकासका लागि प्रभाव पार्ने काममा हाम्रो योगदान जरुरी छ ।’

कार्यक्रममा कृषि वैज्ञानिक भैरव कैनी, शिक्षाविद् उषा आचार्य, दुरसञ्चार प्राधिकरणका वरिष्ठ निर्देशक आनन्दराज खनाल, वीर अस्पतालका डा. समाज गौतम, त्रिविको द्वन्द्व र विकास विभागका संयोजक पिताम्बर भण्डारी, शिव अधिकारीलगायतले जिल्लाको विकासमा योगदान दिन तयार रहेको भन्दै प्रतिवद्धता जनाए ।

तनहुँका विज्ञबारे जानकारी अभाव छ
कुनै समय देशकै वरिष्ठ कुटनीतिज्ञ सरदार यदुनाथ खनाल तनहुँकै हुन् । बौद्धिकमा चिनिने पूर्व परराष्ट्रमन्त्री र कुटनीतिक क्षेत्रमा अब्बलता हासिल गरेका डा. भेषबहादुर थापाले आफ्नो परिचयमा तनहुँ जोड्ने गरेका छन् । प्रशासनयन्त्रमा नाम कमाएका पूर्व मुख्यसचिव कर्णध्वज अधिकारी तनहुँकै हुन् । यस्ता कैयौं नाम छन् ।

पुराना पुस्ताबारे जानकारी भए पनि बीचमा विज्ञता हासिल गरेका पुस्ताबारे जानकारीको अभाव रहेको समाजका परिकल्पनाकार दीपकराज जोशी बताउँछन् । ‘हामीसँग धेरै विज्ञहरु भए पनि को कहाँ छ र उहाँको विज्ञता कस्तो छ भन्ने कसैसँग जानकारी छैन,’ उनले भने,‘हामीले विशुद्ध गैरराजनीतिक रुपमा बौद्धिक मञ्च तयार पार्न खोजेका हौं ।’

उनले राजनीतिबाट परै रहेर जिल्लाको विकासका लागि बौद्धिक मञ्च तयार पार्न बहस थालेको बताए ।

राजनीतिबाट परै रहेर जिल्लाको विकासका लागि बौद्धिक मञ्च तयार पार्न बहस थालेको बताए ।


राखेपका वरिष्ठ अधिकृत कमल खनालले पनि विज्ञबारे जानकारी नै नभएको भन्दै उनीहरुको विज्ञताबाट तनहुँलाई सबल बनाउने उद्देश्य राखेर बहस चलाइएको बताए । रोटरी क्लब अफ दमौलीका पूर्व अध्यक्ष रजिनलाल श्रेष्ठले तनहुँको बौद्धिक मञ्चलाई उपयोग गरेर जिल्लाले विकासमा फाइदा लिने अपेक्षा गरे ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि damaulinews.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्

कभर स्टोरी