यसरी रहन गयो दमौली नाम

  • ख-
  • ख+

विकास खनाल


विकास खनाल

पवित्र व्यास नगर क्षेत्र समुन्द्र सतहबाट दुई सय ८० मिटर उचाइ देखि एक हजार १२० मिटर उचाइ सम्म फैलिएको छ । तनहुँको सदरमुकाम दमौली बजार समुन्द्र सतहबाट तीन सय ६५ मिटर उचाइमा छ । यो बजार ८४.१६“ देखि ८४. ०५ “ पुर्वी देशान्तर र २७.५८ “ देखि २७.३५ “ उत्तरी अक्षांशमा फैलिएको छ । व्यास नगरको कुल क्षेत्रफल १५४६ वर्गकिलोमिटर र नेपालको कुल क्षेत्रफलको १.०५ प्रतिशत भुभाग रहेको स्थान हो ।

तनहुँ राज्य स्थापना हुनुपूर्व यो पारकोट क्षेत्र अन्तर्गत पर्दथ्यो । पारकोट राज्य ऐतिहासिक तथा धार्मिक दृष्टिकोणले अत्यन्त महत्वपूर्ण क्षेत्र मानिएको छ । काशीराम सुरीद्वारा लिखित ‘गण्डकी माहात्म्यम्’मा धार्मिक दृष्टिकोणले दमौली अत्यन्त पवित्र भूमि रहेको वर्णन गरिएको छ ।
८१ प्रतिशत हिन्दू धर्मावलम्बीले बसोबास गरेको पुण्य भूमि नेपालको दमौलीको सेतीमादीको संगम व्यास गुफामा बसेर महर्षि वेदव्यासले चार वेद, अठार पुराण, अठार उपपुराण, ब्रह्मशुत्र र स्मृति ग्रन्थहरूको संग्रह र जय नामक महाभारत ग्रन्थ रचना गर्नुभएको थियो ।


दमौलीको व्यास गुफा

विश्वकै प्रथम महान आध्यात्मिक गुरु महर्षि श्रीकृष्णद्वैपायन वेदव्यासको जन्मस्थल दमौलीको धार्मिक तथा आध्यात्मिक विषयका सम्बन्धमा स्वयं पंक्तिकार र देवीबहादुर बस्नेतद्वारा प्रकाशित ‘दमौली महात्म्यम्’ पुस्तकले पनि थप प्रष्ट्याउने काम गरेको छ । नेपालको पौराणिक तथा ऐतिहासिकस्थल तनहुँ दमौलीको नामाकरण सम्बन्धमा विभिन्न विद्वानहरूको धारणा बेग्लै छ ।

क) संस्कृत भाषामा दुई नदीको बीचको भू–भागलाइ द्विप+अयन अर्थात द्वैपायन भनिन्छ । द्वैपायनमा बसेकी हुनाले मत्स्यगन्धालाइ द्वैपायनवाली भनिन्थ्यो । द्वेपायनवाली रूपान्तरित भइ पछि दमौली हुन गएको हो ।

ख) पारकोट क्षेत्र मगरात क्षेत्र भएको र मगर भाषामा पानीलाइ ‘डि’ भनी सम्बोधन गरिने हुँदा पानीको मूल भएको क्षेत्रलाई डिमुली भन्दाभन्दै जनजिब्रोले ‘डमौली’ उच्चारण गरेकोले दमौली भनिएको हो । यसैगरी व्यास डि बाट बुल्दी हुन गएको पनि नकार्न सकिन्न ।

ग) महर्षि वेदव्यासले दमौलीमा श्रुतिमा रहेको वेदलाइ चार भागमा विभाजन गरि लिपिवद्ध गर्नुभएको र उक्त वेदको संग्रह यसै दमौलीमा भएको पौराणिक ग्रन्थहरूले प्रमाणित गरेको पाइन्छ । वेद मौलाएको स्थान भएकोले ‘वे’ दमौलीबाट आदिको अक्षर ‘वे’ लोप हुन गई दमौली हुन गएको हो ।

घ) व्यास गुफा वरिपरि ‘द’ आकारका ‘मौली’ चुचुराहरू भएकोले यसलाई दमौली भनिएको हो ।

ङ) दमौलीमा ठुलो एकादशी र माघे संक्रान्तिमा ठुलो मेला लाग्दछ । उक्त मेलामा गण्डकी स्नान गरि आफ्ना मनोकांक्षा पूरा होस भनी पुजाको साथै दान दातव्य पनि गर्ने प्रचलन अहिले रहेको छ । दानदातव्यको साथै यस स्थानमा डम्फु बजाइ रमाइलो जात्रा मनाउने गरिन्छ । डम्फु बजाउने ठाउँलाई डम्फौली भन्दाभन्दै डमौली र दमौली हुन गएको हो ।

विद्वान काशीनाथ न्यौपानेद्वारा रचित ‘वेदव्यास जन्म सन्दर्भ’ नामक पुस्तकमा दमौली नामाकरण सम्बन्धी यी माथि प्रस्तुत धारणाहरू उहाँले राख्नुभएको छ । यस्तै महाभारत पर्वत श्रृंखलाअन्तर्गत दमौलीको आसपासमा दमाह वृक्ष फल प्रशस्त पाइन्छन् । दमाहफल पाकेपछि कालो रङ्गको र खाँदा गुलियो स्वादको हुने गर्दछ ।
दमाह गेडी फलको बोटको पात धयेंराको पात जस्तो देखिन्छ । यहि दमौरो फल पाइने स्थल भएकोले यसलाई दमौरोबाट दमौलो हुँदै दमौली भनिएको हुन सक्दछ । संस्कृत ब्याकरणको नियम अनुसार र, ल यो न भेद भनिएकोले दमौरोको अन्त्य अक्षर र ल मा परिणत भइ दमौलो हुँदै दमौली भएको नकार्न सकिन्न ।

यस्तै पर्वतहरू बिचको खोंच, जङ्गलको बीचको तथा खोलाको किनारको बिचको औलो लाग्ने स्थल वा झारैझारयुक्त झाडी भएको ठाउँलाई दमार भन्ने गरिन्छ । दमौली मान्हु र खुदी जस्ता अग्ला पर्वतहरूको खोँच र तिनै पर्वतहरू अवस्थित जङ्गल र गुणादी, मादीसेती, बुल्दी र छाब्दि खोलाको किनारको बयरघारी र टाप्रेघारीले वेस्टित झारैझारको बनयुक्त औल भूमि भएकोले यसलाई दमार भन्ने गरिएको हुनुपर्दछ ।

संस्कृत व्याकरणको र, ल, न, यो, भेद नियमानुसार कहिलेकाहीं र उच्चारण गर्दा ल र कहिलेकाहीँ र उच्चारण गर्दा ल हुने गर्दछ । दमारको अन्त्यको अक्षर र ल मा परिवर्तन भइ दमाल हुन गएको मान्न सकिन्छ ।

कहिलेकाहीँ भाषा ध्वनिभेदबाट, उच्चारण भेदबाट, घोषत्वबाट, प्राणत्वबाट पनि शब्द परिवर्तन हुन सक्ने नियमानुसार दमालबाट दमौली हुन गएको आभाष मिल्दछ । भाषामा पछिल्लो ध्वनिलाई अघिल्लो ध्वनिको प्रभाव परि अभिश्रुतिको रूपमा पनि शब्द परिवर्तन हुन सक्दछ र कतै आदि पद, कतै मध्य पद र कतै अन्त्य पदको आकार, उकार, एकार, ओकार र औकार लोप तथा सृजित भएर पनि शब्द परिवर्तन हुने गर्दछ ।


औलोको डरले बेंसिमा बास बस्न नसकिने भएकाले यश स्थानलाई हरदम औलो पनि भन्ने गरिएको होला, तनहुँ राज्यको समयकालमा अपराधीहरूलाइ दमौली ल्याएर सजाय दिने गरिन्थ्यो रे । सजाय दिन खनिएको खाल्डोमा तल असुराको स्याउला राखी सो स्याउला माथि बसाइ दहि चिउरा खुवाइ अपराधीलाई सुताएर पुन असुराको हरियो स्याउलाले छोपी रातभर राखिन्थ्यो रे । 

दमालको मध्य अक्षरमा को आकार लोप र औकार सृजित भए झैं अन्त्यको र अक्षर ल मा परिवर्तित हुन गएको र लमा इकार सृजित भइ दमालबाट दमौली हुन गएको नकार्न सकिन्न । लेखक स्वयं विकास खनाल र देवि बस्नेतको दमौली महात्म्यम पुस्तकमा यी धारणाहरू राखिएको छ । यता काशीनाथ उपाध्याय न्यौपानेद्वारा लिखित पुस्तकमा नेपालमा औलो नियन्त्रण हुनुपूर्व दमौलीमा औलोको कारणले रातको बास नबसी वरिपरिको गाउँहरू गल्बु, मान्हँु, गुदि फच्याङ तथा सेटाङ गएर बाँस बस्ने प्रचलन रहेको थियो ।

औलोको डरले बेंसिमा बास बस्न नसकिने भएकाले यश स्थानलाई हरदम औलो पनि भन्ने गरिएको होला, तनहुँ राज्यको समयकालमा अपराधीहरूलाइ दमौली ल्याएर सजाय दिने गरिन्थ्यो रे । सजाय दिन खनिएको खाल्डोमा तल असुराको स्याउला राखी सो स्याउला माथि बसाइ दहि चिउरा खुवाइ अपराधीलाई सुताएर पुन असुराको हरियो स्याउलाले छोपी रातभर राखिन्थ्यो रे ।

रातभरिको बसाइमा कसुरदार अपराधी औलोको प्रकोपले भोलि बिहान सम्म मृत्युुवरण गर्न पुग्दथ्यो रे भन्ने जनश्रुति यद्यपि सुन्न पाइन्छ । यसैले दमौली हरदम औलो हुने ठाउँ हो भनी प्रमाणित गर्न सहज हुन गएको छ ।

हरदम औलो शब्दको आदिको दुई अक्षर हर लोप भइ दम प्लस औलो शब्द मेल भइ दमौलो हुन सक्ने देखिन्छ । भाषा ध्वनि भेद , उच्चारण भेद , घोषत्व र प्राणत्वको कारणले पनि शब्द परिवर्तन हुने गर्दछ । यहि नियमानुसार दमौलो शब्दबाट दमौली हुन गएको अनुमान गर्न सकिन्छ ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि damaulinews.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्

कभर स्टोरी