एउटा पत्रले ल्याएको तरंग : साँच्चै भानु केन्द्र सरेकै हो ?

  • ख-
  • ख+

भानु केन्द्र विवाद एक्सप्लेनर
पवन पौडेल
भाद्र २२ गते सहरी विकास मन्त्रालयले एउटा पत्र पठायो, नयाँ शहर आयोजना कार्यालय भन्सारलाई । पत्र केही दिनपछि सार्वजनिक भयो । र, सोही पत्रका कारण अहिले भानु नगरपालिकामा विवाद र असहमतिका श्रृंखला शुरु भएका छन् ।


पत्रमा आयोजनाको भवन भानु नगरपालिकालाई भुईंतल्ला उपयोग गर्न सक्ने, आवश्यक खर्च नगरपालिकाले बेहोर्ने अनि कर्मचारीको आवासको भाडा नगरपालिकाले बेहोर्ने उल्लेख थियो ।
गत माघ २३ गते भानु १ सालबिस्ने क्षेत्रमा केन्द्र सार्ने नगर सभाले गरेको निर्णय यसैबीचमा कार्यान्वयन गर्न खोजिएको भन्दै भानु नगरपालिकाको पश्चिम क्षेत्रका नागरिक विरोधमा उत्रिए ।

उनीहरुले कार्यपालिकाको बैठकबाट यससम्बन्धी निर्णय हुन लागेको भन्दै जनप्रतिनिधिलाई आउजाउमा अवरोध पनि गरे । त्यसै क्रममा नयाँ सहरी आयोजनाको कार्यालयमै भानु नगर कार्यपालिकाको बैठक मंगलबार बस्यो ।

सहरी विकास मन्त्रालयको पत्र


कार्यपालिकाका उपस्थित बहुमत सदस्यले गरेको निर्णयमा सहरी विकास मन्त्रालयबाट सहमति प्राप्त भएकाले असोज १ गतेबाट सोही भवनबाट समेत नागरिकलाई सहज र सुविधा पुग्ने गरी सेवा प्रवाह गर्ने निर्णय गरियो । बैठकमा उप प्रमुख आशा थापासहितका केही जनप्रतिनिधि नागरिकको अवरोध भएको अवस्थामा नजाने भन्दै सहभागी भएनन् ।

तर उपस्थित भानु २ का अध्यक्ष अर्जुन खड्काले निर्णयमा असहमति जनाउँदै कलमले केरिदिए । त्यसयता निर्णयको पक्ष र विपक्षमा प्रष्ट दुई धारबीचको द्वन्द्व कायमै छ ।

केन्द्रका विषयमा आ आफ्नै व्याख्या
भानु नगर कार्यपालिकाले गत माघमा गरेको निर्णयमै असहमति राख्ने भानुका पश्चिम क्षेत्रका जनप्रतिनिधि शुरु देखि नै यस प्रक्रियासँग असहमत छन् । उनीहरु हाल भएको फुस्रेटारमै केन्द्र कायम रहनुपर्ने तर्क गर्छन् । प्रदेश सरकारले ठाउँ तोकिएकाले नगरपालिकाले निर्णय गरेकै ठाउँमा केन्द्र तोक्न पठाएको सिफारिस मन्त्रिपरिषदमा अड्किएको छ ।

नगरपालिकाले यस अघि गरिएको शाखा कार्यालयका रुपमा सेवा निर्णय नै तत्कालका हो भनेर नागरिकलाई आस्वस्त नपार्ने हो भने पक्ष र विपक्षमा विभक्त दुई समूहबीच झडप र थप तिक्तता आउने खतरा छ ।
कोरोनाको इपिसेन्टर बनेको भानुमा थप विपत्ति आउन नदिन राजनैतिक नेतृत्व, प्रशासन र जनप्रतिनिधिको समन्वयकारी भूमिका आवश्यक छ ।


तर लकडाउनकै अवधिमा भानु १ भन्सारको नयाँ सहरी आयोजना कार्यालयमा सामान सारिएपछि केन्द्र पनि सरेको बुझाई सार्न हुँदैन भन्ने पक्षधरमा रह्यो । त्यसपछि सार्न नहुने पक्ष आन्दोलनमा उत्रिए भने सार्ने तयारी गर्ने पक्ष त्यसैको तयारीमा ।


केन्द्र सरेको होइन, सेवा क्षेत्र थपिएको होः नगर प्रमुख गौली
कार्यपालिकाको बैठक अघि नगर प्रमुख उदयराज गौलीले केन्द्र सार्ने निर्णय नभै अपायक परेकालाई सेवा दिन मात्र लागिएको बताएका थिए । ‘अपायक परेको क्षेत्रका नागरिकले आवतजावतमा गाह्रो भएको महसुस गरेकाले सहजताका लागि सेवा दिन लागिएको हो,’ उनले भनेका थिए ।

भानु नगर प्रमुख उदयराज गौली


तर मन्त्रिपरिषदले निर्णय नगरेकै बेला कार्यालयका सामान सारिएपछि यो केन्द्र सार्ने प्रक्रियाकै अंग भएको बुझाई संघर्ष समितिको रह्यो । संघर्ष समितिका संयोजक भक्तबहादुर कुँवरले जनप्रतिनिधिको असहमति हुँदा हुँदै बहस नै नगरिकन केन्द्र बिस्थापनको प्रयास भएको भन्दै विज्ञप्ति निकाले । उनले निर्णयले नागरिकलाई वर्षौंसम्म दुःख् दिने र जनविरोधी भन्दै कडा प्रतिवाद गर्ने बताएका छन् ।


के छ नगरपालिकाको निर्णयमा ?
नगरपालिकाको कार्यपालिका बैठकले गरेको निर्णयमा सहरी विकास मन्त्रालयले नयाँ सहरी आयोजनाको भवन उपयोगको अनुमति दिएकाले सो भवनबाट समेत नागरिकलाई सहज र सुविधा पुग्ने हिसाबले असोज १ गतेबाट सेवा प्रवाह गर्ने निर्णय गरिएको उल्लेख छ ।

भानु नगरपालिकाको निर्णय (जसमा एक वडाध्यक्षले केरिदिएका थिए । जुन पछि सच्याइएको छ )


घुमाउरो पाराले निर्णय भएको आशंका
अहिले कार्यपालिकाले गरेको निर्णयमा केन्द्र सरेको विषय छैन । भन्सारबाट पनि सेवा दिने उल्लेख छ । तर पनि सो निर्णय सार्वजनिक भए पछि संघर्ष समितिले अर्को विज्ञप्ति निकालेर कडा प्रतिवाद ग¥यो । यसमा यही आधारमा केन्द्र सर्छ भन्ने शंकाले काम गरेको छ । भानु २ का वडाध्यक्ष अर्जुन खड्का अहिलेको निर्णयले सरेको नभने पनि सबै सरसामान लगिएकाले आफूहरुलाई शंका लागेको बताउँछन् । ‘केन्द्र सरेको भनिएको त छैन । तर यही आडमा सर्ने हो कि भन्ने चिन्ता हो,’ उनले भने ।

संघर्ष समितिको विज्ञप्ति


कांग्रेस र नेकपाको पक्ष र विपक्षमा विज्ञप्ति
केन्द्र विवादकै बीचमा मंगलबार नेपाली कांग्रेसले एक प्रेस विज्ञप्ति निकाल्यो । विज्ञप्तिमा आवश्यक शाखाहरुलाई सरकारी आधिकारिक निर्णयबेगर कार्यालय सार्न नमिल्ने भन्दै मुख्य केन्द्र नसारिकन शाखाहरु भने आवश्यकताअनुसार अन्यत्र राख्न सकिने सुझाव दिएको पार्टी कार्यवाहक सभापति जितप्रकाश आलेले बताएका थिए । यसले फुस्रेटार केन्द्रमा कांग्रेसको समर्थन देखियो ।


यसबीचमा बुधबार नेकपाले पनि विज्ञप्ति निकाल्यो । केन्द्र सार्ने विषयमा गत फागुनमा पार्टी भानु नगर कमिटिले निर्णय गरेको पृष्ठभूमिमा नेकपा सचिव राजेन्द्रकेशरी न्यौपानेबाट जारी विज्ञप्तिमा केन्द्रका विषयमा जारी विवादमा भानु २ का अध्यक्षले निर्णय केरेकोमा कारबाहीको माग गरियो । विज्ञप्तिमा भानुको भन्सार सबै क्षेत्रको बीचमा पर्ने भएकाले केन्द्रका लागि उपयुक्त भएको भनिनुले भन्सार केन्द्रमा नेकपाको समर्थन रहेको प्रष्ट देखिएकाले यसले दलगत विवाद पनि चर्काउने देखाएको छ ।


अब के होला त ?
विवाद चर्किरहेका बेला असोज १ गते कार्यालय उद्घाटनको तयारी भैरहेको छ । यसमा आन्दोलनरत पक्ष आफ्नो सुझावविपरित भएको भन्दै थप संघर्षमा उत्रने र नगरपालिकाले समस्या सम्बोधन नगर्ने हो भने अवस्था खराब हुन सक्छ । नगरपालिकाले यस अघि गरिएको शाखा कार्यालयका रुपमा सेवा निर्णय नै तत्कालका हो भनेर नागरिकलाई आस्वस्त नपार्ने हो भने पक्ष र विपक्षमा विभक्त दुई समूहबीच झडप र थप तिक्तता आउने खतरा छ ।
कोरोनाको इपिसेन्टर बनेको भानुमा थप विपत्ति आउन नदिन राजनैतिक नेतृत्व, प्रशासन र जनप्रतिनिधिको समन्वयकारी भूमिका आवश्यक छ ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि damaulinews.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्

कभर स्टोरी