कोभिड–१९ प्रयोगशाला : राजनीतिक दबाब हाबी

  • ख-
  • ख+

भरतपुर । चितवनमै कोरोना भाइरस (कोभिड–१९) परीक्षण गर्न गत वर्ष चैत २४ गतेदेखि ‘भरतपुर कोभिड–१९ परीक्षण प्रयोगशाला’ सञ्चालित छ, जहाँबाट शुक्रबारसम्ममा १७ हजार नमुना परीक्षण भएका छन् । २४ घन्टामा दुई सय नमुना परीक्षण गर्ने क्षमता रहेको प्रयोगशालामा अहिले चितवनसहित १८ जिल्लाबाट दैनिक एक हजारको हाराहारीमा नमुना आउने गरेका छन्, जसले गर्दा रिपोर्टको नतिजा निस्कन पालो कुर्नुपर्ने बाध्यता छ ।

प्रयोगशालाले थेग्नै नसक्ने गरी नमुना आउँदा प्रयोगशालाका प्राविधिकलाई समयमै रिपोर्ट दिन नसक्नुको समस्या एक ठाउँमा छ भने चर्कोरुपमा राजनीतिक दबाब पनि खेप्न बाध्य छन् ।
सीमित स्रोतसाधनको भरमा चलेको प्रयोगशालामा स्वतन्त्र भएर काम गर्न नपाएको प्रयोगशाला प्रमुख डा. नितु अधिकारीले बताइन् । आफ्नो काममा मात्र नभई चौतर्फी दबाबमा काम गर्नुपर्दा कहिलेकाहीँ मानसिक तनावसमेत हुने गरेको उनले बताइन् । ‘२४ घन्टामा जम्मा दुईदेखि तीन सयवटा नमुना परीक्षण गर्न सकिन्छ, तर हामीले दैनिक ६०० को हाराहारीमा परीक्षण गर्दै आएका छौँ’, उनले भनिन्, ‘यति गर्दा पनि राजनीतिकरुपमा पहुँच देखाउनेको दबाबमा काम गर्नु परेको छ ।’ दलका नेता, सरकारी तथा निजी क्षेत्रका स्वास्थ्यकर्मी, जनप्रतिनिधिलगायतका दलका नेताहरुले निरन्तर दबाब दिइरहेको उनले सुनाइन् तर उनले कुन कुन दलबाट राजनीतिक दबाब आयो भन्ने चाहिँ खुलाइनन् ।


सबैभन्दा पहिले सरकारी अस्पतालबाट आएको नमुनालाई परीक्षण गर्ने भन्ने सरकारी निर्देशनअनुसार काम गर्दै आएको उनले बताइन् । सकभर समयमै रिपोर्ट दिन पाए हुन्थ्यो भन्ने लाग्दालाग्दै पनि बढी चापका कारण समय लाग्ने गरेको छ । जिल्लाका दुई दर्जनभन्दा बढी निजी अस्पताल, स्थानीय तहले सञ्चालन गरेको क्वारेन्टाइन र जोखिममा रहेर काम गर्दै आएका स्वास्थ्यकर्मीसहित सबैको स्वाब संकलन भएर आउँदा प्राथमिकताका आधारमा परीक्षण गराउँदै आएको उनले बताइन् । ‘कतिपय अवस्थामा अप्रेसन गर्ने बिरामीको पिसिआर गर्नुप¥यो भनेर नमुना पठाउँछन्, त्यस्तो अवस्थामा मानवीय संवेदनालाई पनि हेर्नुपर्छ’, उनले भनिन्, ‘तर पहुँचवालाहरुले आफ्नोमात्रै चिन्ता गर्दा त्यसको असर सर्वसाधारणसम्म पर्छ ।’


कतिपयले प्रमुख जिल्ला अधिकारी, पत्रकारलगायतलाई फोन गर्न लगाएर दबाब दिइरहेका छन् । ‘ल्याबमा खटिँदै आएका कर्मचारीलाई नङ काट्ने फुर्सदसमेत छैन, तर बाहिरबाट दबाब आउने क्रम रोकिँदैन’, उनले भनिन्, ‘सीमित कर्मचारीको भरमा दैनिक धपेडीमा काम गर्नु परेको छ ।’ सरकारी नीतिअनुसार स्वास्थ्यकर्मीको पिसिआर अनिवार्य छ । यतिबेला सबैभन्दा बढी सरकारी अस्पताल र सरकारी अस्पतालमै कार्यरत स्वास्थ्यकर्मी बढी प्रभावित छन् । ‘त्यसैले अस्पताल र स्वास्थ्यकर्मी बचाउनु नै हाम्रो पहिलो दायित्व हो’, उनले भनिन्, ‘भएको सरकारी अस्पताल पनि बन्द गर्नुपर्ने अवस्था भए बिरामीले कहाँ गएर उपचार गर्ने ?’ यस्तो बेलामा आमनागरिकले पनि घरभित्रै बसेर सहयोग गर्न उनले आग्रह गरिन् । घरबाहिर डुल्न नडराउने अनि शंका लाग्यो भनेर पिसिआर जाँच्न आउने प्रवृत्तिले समाजमा विकृति फैलिएको उनको भनाइ छ ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि damaulinews.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्