यी हुन् कृष्णचन्द्र नेपाली मुख्यमन्त्री बन्ने आधार (समाचार टिप्पणी)

  • ख-
  • ख+

पवन पौडेल
दमौलीः
सरकार ढाल्न वा जोगाउन निर्णायक राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले सरकारविरुद्धको अविश्वासको प्रस्तावमा जोसुकैलाई सघाउने घोषणा गरेर विज्ञप्ति जारी गरेको केही घण्टाभित्रै गण्डकी प्रदेशमा भावी सरकारको नेतृत्वलाई लिएर छलफल र दौड तीव्र बन्न पुग्यो । र, त्यसको केन्द्रमा छन्, तनहुँमै जन्मेर राजनीतिक यात्रा थालेका कृष्णचन्द्र नेपाली ।


सरकारविरुद्ध विपक्षी गठजोड
माओवादी केन्द्रले सरकार छाडेको र समर्थन गरिरहेको जनमोर्चाले विपक्षमा सघाउने अनि स्वतन्त्र सभासद राजीव गुरुङको पनि नयाँ सरकारमा मिसिने प्रष्ट चाहनाबीच विपक्षी दल नेपाली कांग्रेसका संसदीय दलका नेता नेपालीलाई सरकारको वागडोर मिल्ने देखिएको हो ।

प्रदेशमा कांग्रेससँगै माओवादी केन्द्र, समाजवादी जनता पार्टी, जनमोर्चा र स्वतन्त्र सांसदसमेत रहेको अवस्थामा बलियो प्रतिपक्षी दलको संसदीय दलका नेता हुनुले नै नेपालीलाई सरकार गठन गर्ने मार्गमा मुख्य नाइकेका रुपमा खडा गरिदिएको हो ।


कांग्रेसको लिखित निर्णय
तनहुँमा लामो पारिवारिक राजनैतिक लिगेशी बोकेर हाल नवलपुरमा सक्रिय नेपालीलाई भावी सरकारको नेतृत्व दिने विषयमा कांग्रेसले यस अघि नै गरेको लिखित निर्णय नै उनको सरकारको दाबेदारीका लागि निश्चित गराउने कारक बन्नेछ ।


ठूलो विपक्षी दलका नेता
यसका अलावा धेरै सभासद भएको विपक्षी भएका कारण पनि कांग्रेसले नेतृत्व पाउने अवस्था र संसदीय दलका नेता भएकाले नेपाली नै मुख्यमन्त्री बन्ने सम्भावना देखिन्छ । जनमोर्चाको निर्णय आउनासाथ उनको नेतृत्वमा भैरहेका छलफल र कसरत अनि अरु कोही पनि मुख्य दाबेदारका रुपमा पार्टीभित्र समेत नसुनिएको अवस्थामा नेपाली नै नेतृत्वमा जाने सम्भावना रहने पोखरामा रहेर संसदीय पत्रकारितमा सक्रिय पत्रकार प्रकाश ढकालको विश्लेषण छ ।

‘कांग्रेसले यस अघि नै नेपालीका पक्षमा गरेको निर्णय र ठूलो विपक्षी भएकाले अरु केही परिवर्तन नभएमा उहाँ नै अबको मुख्यमन्त्री बन्ने हो,’ उनी भन्छन् । यस अघि निकै बलियो मुख्यमन्त्रीका रुपमा रहेका पृथ्वीसुब्बा गुरुङलाई सरकार जोगाउन निर्णायक मानिने जनमोर्चाको समर्थन गुमेको तथा यस अघिको सहयात्री माओवादी केन्द्र समेत विपक्षी मोर्चामा गएका कारण सरकार जोगाउने कसरतलाई खोलाको धार फेर्ने कसरत पनि भन्न सकिन्छ, जसमा उनलाई सफलता लाग्ने सम्भावना करिब करिब सकिएको छ ।

तर पनि राजनीतिमा केही पनि कुरा असम्भव हुँदैन भनिन्छ । एक दुई दिनका घटनाक्रमले भावी बाटा प्रष्ट पार्नेछन् ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि damaulinews.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्

कभर स्टोरी