नयाँ वर्ष मनाउन बन्दीपुर

दमौली न्युज
  • ख-
  • ख+

बन्दीपुरः के तपाईं नयाँ वर्ष कसरी मनाउने सोच्दै हुनुहुन्छ ?

केही रमाइलो सोच्दै हुनुहुन्छ ? यदि त्यसो हो भने तनहुँको बन्दीपुर एक प्रमुख गन्तव्य बन्न सक्दछ ।


भक्तपुरे नेवारी शैलीको बन्दीपुर पृथ्वी राजमार्ग नजिकैको सफा, शितल र शान्त शहर हो । अनि शान्त वातावरणमा सांस्कृतिक र पर्यटकीय सम्पदाको रमाइलो लिनेका लागि यो पहिलो रोजाइ बन्न सक्दछ ।


तनहुँको सुन्दर पर्यटकीय नगरी बन्दीपुरले नयाँ वर्षमा सांस्कृतिक साँझ गर्दैछ । स्वदेशी तथा विदेशी पर्यटकहरुलाई आकर्षित गर्ने उद्देश्यका साथ घोषित कार्यक्रम शुक्रबार साँझदेखि नयाँ वर्षको भोलिपल्टसम्म चल्नेछ ।


क्षेत्रीय होटल संघ बन्दीपुर, बन्दीपुर पर्यटन विकास समिति, तनहुँ उद्योग वाणिज्य संघ बन्दीपुर र रेबान बन्दीपुरको संयुक्त आयोजनामा तीन दिन चल्ने कार्यक्रममा हरेक साँझ बन्दीपुरका प्रमुख टोलहरुमा नेवारी जात्रासँगै मगर तथा गुरुङ समुदायको सांस्कृतिक प्रस्तुती रहने गरी प्रवन्ध गरिएको क्षेत्रीय होटल संघ बन्दीपुरका निवर्तमान अध्यक्ष विपिन प्रधानले जानकारी दिए ।


‘टुँडिखेलदेखि बजारका सबै मुख्य भागमा पर्यटक स्थानीय संस्कृतिमा रमाउन सक्ने गरी व्यवस्था गरेका छौं,’ उनले भने ।


विगतमा बन्दीपुर मुख्य बजारमा कलाकारहरुसहितको सांगितिक कार्यक्रम गर्ने गरिए पनि अब सबै भागमा पर्यटकले उत्तिकै रमाइलो गर्न सकून भन्ने उद्देश्यले कार्यक्रमलाई विस्तार गरिएको उनले बताए ।


बजारका होटलहरु अगाडि सडक छेउमै सांस्कृतिक कार्यक्रम र स्थानीय परिकारको स्वाद लिन सक्नेछन् । यसका लागि स्थानीय सांस्कृतिक समूहलाई तयार पारिएको छ ।


पछिल्लो समय नेपालीमाझ नयाँ वर्ष मनाउन घर बाहिर जाने संस्कृति बढिरहेका बेला बन्दीपुर एक प्रमुख आकर्षण बन्न थालेको छ । र, पृथ्वी राजमार्गनजिकैको बन्दीपुर बजार एक प्रमुख आकर्षण बनिरहेको छ ।


खासगरी नयाँ वर्षको अघिल्लो साँझ र नयाँ वर्षका दिन यो संख्या अझ बढी हुने गरेको छ । मन्दिपछि फष्टाउँदै गरेको बन्दीपुरको पर्यटनमा यस कार्यक्रमले टेवा पुर्याउने गाउँपालिका अध्यक्ष सुरेन्द्र थापाले बताए ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि damaulinews.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्

कभर स्टोरी