व्यवसाय गर्न चाहने अपांगता भएका २८ लाई रिसेडको सहयोग

  • ख-
  • ख+

दमौली: अपांगताका क्षेत्रमा क्रियाशिल संस्था रिसेड तनहुँले व्यवसाय सञ्चालन गर्न चाहने २८ अपांगता भएका व्यक्तिलाई सहयोग गरेको छ ।


व्यास नगरपालिकाको सभाहलमा शनिबार आयोजित कार्यक्रममा उपप्रमुख मिरा जोशीले नगरपालिकाका १४ वटै वडा व्यक्तिहरुलाई नगद सहयोग वितरण गरिन् । उनीहरुलाई जनही सात हजार रुपैयाँका दरले सहयोग प्रदान गरिएको रिसेडले जनाएको छ ।


दुई जनालाई सिलाइ कटाइ व्यवसाय, एक जनालाई खाजा पसल, छ जनालाई कुखुरापालन, दुई जनालाई भैंसीपालन, १० जनालाई बाख्रापालन, एक जनालाई बंगुरपालन, एक जनालाई बाँसको मुढा बनाउने तथा पाँच जनालाइ कम्प्युटर तालिमका लागि प्रति व्यक्ति सात हजार रुपैयाँका दरले सहयोग प्रदान गरिएको रिसेड अध्यक्ष पदम परियारले जानकारी दिए ।


किराना पसल विस्तारका लागि सहयोग पाएकी व्यास ५ नेपालटारका शिवलाल श्रेष्ठकी श्रीमती विमला श्रेष्ठले सहयोगबाट आफ्नो किरानापसलमा सामानथपेर परिवारको आम्दानी बढाई परिवारका २ जना अपांगता भएका सदस्यहरुलाइ सहयोग पुरयाउने योजना रहेको बताइन् ।

त्यसैगरी, व्यास १ खकौलीकी श्रीमाया दरैले खाली रहेको खोरमा बंगुरपालन गरी परिवारको आम्दानी बढाउने विचार व्यक्त गरिन् । कम्प्युटर तालिम लिन लागेकी व्यास १३ की तुलसी अधिकारीले सो तालिमपछि भविष्यमा जागिर पाउन ज्यादै सजिलो हुने विचार राखिन् ।


व्यास नगर उप प्रमुख जोशीले सहयोगलाइ सदुपयोग गरी आफ्नो आम्दानीमा वृद्धि गर्ने अपाङ्गता भएका व्यक्तिहरुलाई आगामी दिनमा पनि व्यास नगरपालिकाले सहयोग जारी राख्ने बताइन् ।


कार्यक्रमका सभाध्यक्ष तथा रिसेडका अध्यक्ष पदमबहादुर परियारले कोभिड १९ का कारण अधिकांश अपाङ्गता भएका व्यक्तिहरुले आयआर्जनका श्रोत गुमाएको बताउँदै यस सहयोगलाई सफल बनाउन रिसेडले उनीहरुको घरमा नै गएर अनुगमन गरी आवश्यक प्राविधिक सहयोग पनि उपलब्ध गराउने र सफलतापूर्वक काम गर्ने व्यक्तिहरुबाट अरु अपांगता भएका व्यक्तिहरुलाई पनि हौसला प्रदान गर्ने विचार राखिन् ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि damaulinews.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्

कभर स्टोरी