संजय श्रेष्ठ
दमौली: जिल्ला स्वास्थ्य कार्यालय तनहुँले शनिबार जिल्लाका सञ्चारकर्मीहरुसँग अभिमुखीकरण कार्यक्रम आयोजना गरेको छ। जिल्ला स्वास्थ्य कार्यालय तनहुँका प्रमुख शंकरबाबु अधिकारीले कोभीड-१९ विरुद्धको खोप अभियान अन्तर्गतका तनहुँका समग्र गतिविधिबारे जानकारी दिनुभयो ।अधिकारीका अनुसार तनहुँमा दोस्रो चरणको खोप अभियान अन्तर्गत दश वटा स्थानीय तहका ६५ वर्ष उमेर समूहका करिब १५ हजार भन्दा धेरै जेष्ठ नागरिकहरु लाई खोप लगाउने लक्ष्य राखिएको बताउनुभयो । फागुन २३ गतेदेखि चैत २ गतेसम्म दुई चरणमा खोप लगाउने भएको छ उहाँले भन्नुभयो । सोहीअनुरुप फागुन २३ देखि २७ गतेसम्म व्यास नगरपालिका, भानु नगरपालिका, बन्दीपुर गाउँपालिका, आँबुखैरेनी गाउँपालिका र देवघाट गाउँपालिकामा खोप कार्यक्रम सञ्चालन गरिने छ । त्यसैगरी फागुन २८ देखि चैत २ गतेसम्म सुक्लागण्डकी नगरपालिका, भिमाद नगरपालिका ऋषिङ गाउँपालिका, घिरिङ गाउँपालिका र म्याग्दे गाउँपालिका मा लगाइने छ । स्वास्थ्य कार्यालयले २२५ जना स्वास्थ्यकर्मीहरुलाई खोप कार्यक्रमका लागि विशेष तालिम समेत प्रदान गरिसकेको अधिकारीले जानकारी दिनुभयो । यसैगरी आकस्मिकताका आधारमा स्वास्थ्यकर्मी परिचालन गर्नका लागि विशेष ई एफ आई व्यवस्थापन टोलीसमेत गठन गरिएको स्वास्थ्य कार्यालय तनहुँका फोकल पर्सन विरेन्द्र चौधरीले जानकारी दिनुभयो । तनहुँका ८५ वटा वडाका ९४ ओटा स्वास्थ्य कार्यालयबाट लगाइने कोभीशिल्ड खोप उपलब्धताको आधारमा ५५ वर्ष माथिका उमेर समूहका नागरिक, शिक्षक र सवारीचालक तथा सहचालकहरुलाई समेत लगाइने चौधरीले जानकारी दिनुभयो ।