दमौली: २९ वर्षका ध्रुव श्रेष्ठ वैदेशिक रोजगारीका लागि मलेसिया गएर घर फर्के । तर कमाएको पैसा सबै हिनामिना भए पछि उनमा मानसिक समसया देखियो । बाबु आमासँग म्याग्दे २ धयँरेमा टिनको झुप्रोमा बस्दै आएका उनको घर शौचालय पनि छैन ।
मयलले जिउ ढाकेका र नजिक पुग्दा गन्हाउने उनका बाबुआमा पनि वृद्ध छन् । मुस्किलले दुई आना जग्गामा बनेको टिनको झुप्रो घर भन्न लायक पनि छैन । बाबु आमालाई सघाउनु पर्ने बेला आफैं सहयोग चाहिने उनलाई परिवारले हेर्न सक्ने अवस्था थिएन । परिवारै बिजोग अवस्थामा बाँचेको थाहा पाए पछि मानवसेवा आश्रमले ध्रुवको घरमै पुगेर उनको उद्धार गरेको छ ।
‘घर भन्न सकिने अवस्था पनि छैन । त्यस्तोमा कठिन अवस्थामा बसेको थाहा पायौं,’ मानव सेवा आश्रमका कास्की संयोजक राजन सापकोटाले भने,‘परिवारलाई खानै मुस्किल भएका बेला उपचार हुने अवस्था पनि नभए पछि उद्धार गरेका हौं ।’
व्यास ४ सिमलटारमा एक्लै बस्दै आएका मानसिक समस्या देखिएका लोकबहादुर अधिकारीलाई पनि घरमै पुगेर आश्रमले उद्धार गरि लगेको छ ।
ध्रुव र लोकबहादुरजस्तै मानसिक समस्या भएर सडकसम्म पुगेका तथा पुग्ने अवस्थामा रहेका ६ जनालाई तनहुँका विभिन्न ठाउँबाट आश्रमले उद्धार गरेको छ । यसरी उद्धार गरिनेमा म्यादेका चार, व्यासका एक तथा घिरिङका एक छन् ।
‘आर्थिक अभावमा उपचार पनि गर्न नसक्ने र आफन्तको सहयोग नपाएकालाई आफैं उपचार गर्ने गरी लगेका छौं,’ उनले भने,‘घरमा फर्कने अवस्था भएकालाई उपचार पछि पठाउँछौं । बाँकीलाई आश्रममै राख्छौं ।’
डिसु नेपालकी अध्यक्ष नोमा थापा र उज्यालो घरका अध्यक्ष सागर घिमिरेमार्फत जानकारी पाएपछि उनीहरुको उद्धारमा गएको सापकोटाले बताए ।
‘कोही पनि मानसिक समस्याले सडकमा जान नपरोस् भनेर लागिरहेका छौं,’ उनले भने । आश्रमले देशका विभिन्न भागमा सडकमा पुगेका व्यक्तिलाई उद्धार गरेर आश्रय तथा निःशुल्क उपचार दिंदै आइरहेको छ ।