‘ज्ञान नभएको क्षेत्रमा भुल्दा अष्ट्रेलियाका विद्यार्थीको भविष्य बर्बाद ‘

  • ख-
  • ख+

सिड्नीः अष्ट्रेलिया पढ्न आउने नेपाली विद्यार्थीले आफ्नो रूचि भएको क्षेत्रमा करिअर बनाउनको लागी जोड दिनुपर्ने सरोकारवालाहरूले सुझाव दिएका छन् । सिड्नीमा रहेको ओबन पार्कमा भएको नेपाली युवाहरूको मिटअपका सहभागीहरूले रूचि र ज्ञान नै नभएको क्षेत्रमा अष्ट्रेलियाको बसाईं लम्ब्याउने हिसाबले लहैलहैमा लाग्दा धेरै विद्यार्थीको समय र भविष्य बर्बाद भईरहेको बताए ।


नयाँ तथा पुराना नेपाली विद्यार्थीहरूको जमघटमा एनआरएन उपाध्यक्ष देव गुरूङले नयाँ आउने विद्यार्थीहरूले कामलाई मात्र जोड नदिएर पढाई, स्वास्थ्य, साथीभाई, सम्बन्ध र करिअरलाई पनि केन्द्रमा राख्नुपर्ने बताए ।

अष्ट्रेलिया आउने विद्यार्थीहरूले आर्थिक मानसिक तनाबका साथै परिवार र सम्बन्धमा समेत विभिन्न समस्याहरू भोग्दै आएका छन् । दुर्घटना, काममा शोषण, श्रीमान श्रीमतीको झगडा, केटाकेटी सँगै बस्ने खालको सम्बन्ध (लिभईन रिलेसनसिप), विवाहेत्तर सम्बन्ध साथै आफ्नै ज्यान लिने सम्मका घटनाहरूमा नेपाली विद्यार्थी र युवाहरूले समस्या भोगेको कुरा निरन्तर समाचारमा आईरहेका छन् ।

सामुदायिक अगुवा तथा शैक्षिक परामर्शदाता दीपक पौडेलले अष्ट्रेलियामा अनेक संभावना भएपनि विद्यार्थीले आफूलाई त्यसको लागी तयार पार्नु जरूरी रहेको बताए । करिअर परामर्शदाता तथा प्रिज्मस एजुकेशन कन्सल्टेन्सी संचालक लेखनाथ अधिकारीले विद्यार्थीहरूले आफ्नो लक्ष र करिअर भन्दा पनि सानो सानो क्षणिक लाभहानीलाई बढी जोड दिँदा समस्यामा पर्ने गरेको बताए ।

उनले भने, आफ्नो रूची र भविष्यको विषयलाई लिएर पढाईलाई अगाडी बढाउन चाहनेको संख्या निक्कै कम छ, जसले गर्दा धेरैले अनेक हण्डर खेपिरहेका छन् ।

सफ्टवेयर ईंजिनियर तथा सफ्टवेयर प्रोग्रामिङ तालिम दिने संस्था डेन्टेडकोडका संचालक प्रेम आचार्यले विद्यार्थीहरूले सिप र करिअर विकासलाई जोड दिने हो भने अष्ट्रेलियामा यहाँको बासिन्दा बनेर आनन्दसँग बस्न सकिने अवस्था रहेको बताए । उनले सफ्टवेयरको क्षेत्र व्यापक संभावनाको भएकाले यसमा सीप विकास गर्ने हो भने अष्ट्रेलियामा उच्चस्तरको जीवनशैली अपनाउन सकिने अवस्था रहेकोले सुरूमै आउनेहरूले हतास चाहिँ हुन नहुनेमा जोड दिए ।

ओबन मिटअप २.० नाम दिईएको कार्यक्रममा नयाँ आएका विद्यार्थी, अष्ट्रेलियामा केही समय बिताईसकेका र आफ्नो क्षेत्रमा करिअर बनाईसकेका साथै नेपालीमूलका अष्ट्रेलियन युवाहरूको सहभागिता थियो । छलफलमा ब्राण्डिंग र मार्केटिंग विशेषज्ञ रूपमा सिड्नीमा लामो समयदेखी कार्यरत रमण झाले भने, ‘विद्यार्थीहरूले उचित र कानुनी रूपमा सुरक्षित उपायहरू अपनाउने र करिअर बनाउनमा केन्द्रित हुने हो भने अष्ट्रेलियामा नेपाली विद्यार्थीलाई कुनै समस्या छैन ।‘

कार्यक्रमका संयोजक धर्वेन्द्रप्रसाद यादवले यस्तै जमघट र ‘मेन्टरिंग’बाट अष्ट्रेलियामा पढ्दै गरेका चार–पाँच जना विद्यार्थीले निक्कै राम्रो कमाई सहितको जागिर र व्यवसाय सुरू गरेको जानकारी दिए । उनले सफ्टवेयर डेभलपर, डिजिटल मार्केटर, प्रोग्रामर लगायतका प्रविधिको क्षेत्रमा धेरै नेपाली विद्यार्थीहरूले सफलता पाईरहेको उदाहरण सुनाएका थिए ।
कार्यक्रममा सुमन खरेल, सन्तोष आचार्य, मदनमणि अधिकारी, उज्जवल घिमिरे लगायतका सामुदायिक अभियन्ताहरूको सहभागिता थियो ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि damaulinews.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्

कभर स्टोरी