श्रममन्त्री श्रेष्ठ र युएईका मानव संसाधन मन्त्रीबीच वार्ता

  • ख-
  • ख+

आबुधावी : नेपाल र संयुक्त अरब इमिरेट्सको संयुक्त समिति वैठक आज यूएईको राजधानी आबुधावीमा हुँदैछ । नेपाल–युएई संयुक्त समितिको वैठक उद्घाटन सत्रमा श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री कृष्णकुमार श्रेष्ठ र युएईका मानव संशाधन मन्त्री डा अव्दुलरहमान अव्दुलमानन अल अवारले सम्बोधन गर्नेछन् ।

उद्घाटन सत्रपछि सुरु हुने प्राविधिक समुहको वैठकमा नेपाली प्रतिनिधिमण्डलको नेतृत्व मन्त्रालयका सहसचिव राजीव पोखरेलले गर्नेछन् । बैठकमा नेपाल र संयुक्त अरब इमिरेट्सबीच सन् २०१९ मा भएको श्रम–सम्झौता कार्यन्वयनबारे समीक्षा हुनेछ भने यसअघि भएको संयुक्त समितिको बैठकका निर्णय कार्यन्वयनको अवस्थाबारे पनि छलफल हुनेछ ।

बैठकमा वैदेशिक रोजगारीका लागि युएई जाने नेपाली श्रमिकको सामाजिक सुरक्षा, कार्यस्थल सुरक्षा, स्वास्थ्य र वीमाको व्यवस्था, सीप विकास, पारिश्रमिक वृद्धि लगायतका बिषयमा पनि छलफल हुनेछ । साथै पर्यटन भिसामा आएर अलपत्र परेका नेपालीहरुको समस्या समाधानबारे पनि बैठकमा छलफल हुनेछ ।

दुई मन्त्रीबीच वार्ता
मन्त्री कृष्णकुमार श्रेष्ठ र युएईका मानव संशाधन मन्त्री डा अव्दुलरहमान अव्दुलमानन अल अवारबीच आज भेटवार्ता हुँदैछ । भेटवार्ताको क्रममा नेपाली श्रमिकको सुरक्षा र हितका विभिन्न आयामबारे छलफल हुनेछ । सो अवसरमा मन्त्री श्रेष्ठले भिजिट भिसा र सोबाट सिर्जित समस्या समाधानका उपायहरूबारे आफ्ना समकक्षीसँग छलफल गर्नेछन् ।


मन्त्री श्रेष्ठ नेतृत्वको टोली सोमबार युएईको राजधानी आबुधाबी आइपुगेको हो । आबुधाबी विमानस्थलमा मन्त्री श्रेष्ठ नेतृत्वको टोलीलाई संयुक्त अरब इमिरेट्स (यूएई)का लागि नेपाली राजदूत कृष्णप्रसाद ढकालले स्वागत गरेका थिए । बुधवार मन्त्री श्रेष्ठले आबुधावीस्थित नेपाली दूतावासमा नेपाली श्रमिकले भोगेका समस्या र समाधानबारे नेपाली समुदायसँग छलफल गर्ने समेत कार्यक्रम रहेको उनको सचिवालयले जनाएको छ ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि damaulinews.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्

कभर स्टोरी