बेलायतको आकर्षक जागिर छाडेर नेपाल क्यान्सर हस्पिटलको कमाण्ड सम्हाल्दै तनहुँका कैनी

  • ख-
  • ख+

काठमाडौँ : सहिद गंगालाल अस्पतालमा काम गर्दा गर्दै थप ज्ञान हासिल गर्न बेलायत हानिएका बच्चुकैलाश कैनीले त्यहाँ ज्ञानको दायरा फराकिलो पार्दै थिए । नेपालमै चिकित्सा व्यवस्थापकीय क्षेत्रमा अब्बल काम गरेका उनले त्यहाँ पनि क्वीन एलिजाबेथ अस्पतालमा क्लिनिकल म्यानेजर काम पाए ।

निरन्तर स्तरोन्नति हुँदै गर्दा उनलाई अकस्मात आफ्नै मुलुकमा काम गर्ने इच्छा जाग्यो । तनहुँ कमलाबारीका कैनीले देश फर्कने निर्णय गर्नुमा आफ्नै भूमिमा स्वास्थ्यका क्षेत्रमा केही नयाँ गर्ने चाहनाले काम गरेको थियो ।

अहिले उनी हरिसिद्धिको नेपाल क्यान्सर हस्पिटल एन्ड रिसर्च सेन्टरका प्रमुख कार्यकारी छन् ।
नेपालमा निजी क्षेत्रबाट सञ्चालनमा रहेको पहिलो ललितपुरको हरिसिद्धिमा रहेको नेपाल क्यान्सर हस्पिटल एन्ड रिसर्च सेन्टरले ‘नेपालीको क्यान्सरको उपचार नेपालमा नै’ भन्ने नाराका साथ क्यान्सर बिरामीको उपचार गरिरहेको छ ।


डा. कैनी आफूहरूले दक्ष विशेषज्ञसहित क्यान्सर रोगको उपचार गरिरहेको बताउँछन् । विसं २०६९ मा स्थापना भएको सेन्टर अहिले १३९ शय्या रहेको छ । सेन्टरमा मेडिकल ओन्कोलोजिष्ट, सर्जिकल ओन्कोलोजिस्ट, रेडियोलोजिस्ट, विकिरण अन्कोलोजिस्ट, विशेषज्ञ सेवासहितका चिकित्सक रहेका छन् ।


विदेशको अनुभव समेट्दै कैनीले सेन्टरमार्फत विदेशमा उपलब्ध हुने अत्याधुनिक प्रविधिहरूलाई भित्र्याई एउटै छानामुनि बिरामीको आर्थिक पहुँचभित्र रही गुणस्तरीय क्यान्सर उपचार सेवा दिइरहेका छन् । “अस्पतालमा विश्वस्तरीय एउटा अत्याधुनिक क्यान्सर उपाचार केन्द्रका रूपमा स्थापित भएकाले विज्ञ तथा अत्यन्त अनुभवी चिकित्सक एवं अत्याधुनिक उपकरण र प्रविधिको सहयोगले हामीले क्यान्सर बिरामीको उपचार सेवा गरिरहेका छौँ”, उनी भन्छन्, “सेन्टरले नेपालीहरूले आफ्नो क्यान्सरको उपचारका लागि विदेश जानुपर्ने बाध्यताको अन्त्य गर्दै सम्पूर्ण चरणको विभिन्न क्यान्सरको सफलतापूर्वक उपचार गरिरहेका छौँ ।”


अस्पतालले क्यान्सर रोगको निदान तथा उपचारका लागि चाहिने सम्पूर्ण सुविधासहित अन्तर्राष्ट्रिय स्तरको गुणस्तरीय क्यान्सर सेवा रेडियोथेरापी, किमोथेरापी, टार्गेटेड (लक्षित) थेरापी, इमिनोथेरापी आदि सेवा उपलब्ध गराउँदै आइरहेको छ ।
अस्पतालले अहिलेसम्म एक हजार २५० जनाको शल्यक्रिया, किमोथेरापी १६ हजार ९००, रेडियोथेरापी, ७००, इमिनोथेरापी १५, टार्गेटेड (लक्षित) थेरापी, २०० जना बिरामीको उपचार गरेको छ । अस्पतालमा दैनिक १५० जना मानिस उपचार गर्न आउने गर्दछन् । अस्पतालमा आएका कुनै पनि क्यान्सरका बिरामीहरू आर्थिक समस्याले उपचारबाट वञ्चित नहोस् भन्नका लागि गरिब, विपन्न, बिरामीलाई निःशुल्क उपचार गरिरहेको छ । अस्पतालले स्वीकृत शय्याको १० प्रतिशत बिरामीलाई सरकारको निर्देशनअनुसार निःशुल्क सेवा प्रदान गर्दै आएको छ ।

यस्तै सरकारको निर्देशनअनुसार क्यान्सर बिरामीहरूलाई उपलब्ध गराउने सङ्घीय सरकारको रु एक लाख र बागमती प्रदेश सरकारको रु ५० हजार उपलब्ध गराई विपन्न वर्गका नागरिकलाई उपलब्ध गराउँदै आएको छ । 

सेन्टरका मेडिकल डाइरेक्टर डा बिजेश घिमिरेले नेपालमा नै क्यान्सर रोगको उपचार दक्ष विशेषज्ञ चिकित्सबाट हुने गरेको बताए । सेन्टरमा अहिले ९६ जना दक्ष चिकित्सक रहेका छन् । अस्पतालमा क्यान्सरबाट हुने रोग मानसिक, छाला रोग जस्ता रोगको पनि उपचारसमेत गरिन्छ । 

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि damaulinews.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्

कभर स्टोरी