कसले सम्हाल्ला सत्यवतीको नेतृत्व ? सदस्यमा सहमति, अध्यक्षमा ४ बीच सहमति हुन सकेन

  • ख-
  • ख+

दमौलीः धेरै विद्यालयको व्यवस्थापन समिति सर्वसम्मत चयन भए पनि व्यास नगरपालिकाको केन्द्र दमौलीमा रहेको सत्यवती माध्यमिक विद्यालयको नेतृत्वमा भने सहमति हुन सकेको छैन ।

केही दिन अघि नै आकांक्षीहरुबीच सहमति भएर विद्यालय व्यवस्थापन समितिको सदस्यमा रिता रेग्मी सिग्देल, गौरीशंकर थापा र कृष्णकुमार श्रेष्ठ सर्वसम्मत भएका छन् ।
तर मुख्य र निर्णायक मानिने अध्यक्षमा भने सहमति हुन सकेको छैन ।

नेतृत्वका लागि उम्मेदवारी दिएका सुरेश वाग्ले, करुण काफ्ले, माधव अधिकारी
र सूर्य लम्साल कोही पनि एक अर्कालाई छाड्न तयार देखिएका छैनन् ।
हाल विद्यालयको समेत नेतृत्व गरिरहेका व्यास २ का वडाध्यक्ष काशिराम श्रेष्ठले आफूहरुले सामूहिक तथा व्यक्तिगत रुपमा समेत पटक पटक प्रयास गरे पनि कोही पनि उम्मेदवार सहमतिका लागि तयार नभएको बताए ।

‘कोभिडको बेलामा सहमतिबाटै नेतृत्व चयन गर्ने हाम्रो चाहना हो,’ वडाध्यक्ष काशिराम श्रेष्ठले दमौली न्यूजसँग भने,‘तर आकांक्षी छाड्न तयार नहुने प्रशासन चुनाव नगर्नुस् भन्ने भएकाले अप्ठेरो परेको छ ।’उनले अझै पनि सहमतिको प्रयास गर्ने तर नभएका खण्डमा अवस्था सहज नहुँदासम्म मतदान भने नहुने बताए ।

‘१८ सय अभिभावक यस्तो बेला उतार्ने कुरा पनि भएन,’ उनले भने,‘तर पनि के कसरी गर्न सकिन्छ विकल्प सोचिरहेका छौं ।’

नयाँ नेतृत्व नआउँदासम्म वडाले नै हेर्ने
धेरै विद्यार्थी जोडिएको विषय भएकाले सहमति नहुँदा र चुनाव नहुँदासम्म विद्यालयको नेतृत्व भने वडा कार्यालयले नै गर्ने भएको छ । यस अघि नगरपालिकाले जिम्मेवारी समेत तोकेकाले वडाध्यक्ष श्रेष्ठले नै अर्को व्यवस्था नहुँदासम्म विद्यालयको नेतृत्व लिने भएका छन् ।

‘यत्रो विद्यालय नेतृत्वविहिन बनाउने कुरा पनि भएन,’ उनले भने,‘निर्वाचित जनप्रतिनिधिको हैसियतले निकास ननिस्कँदासम्म हामी नै हेछौं ।’ उनले तर पनि हरेक कक्षाका अभिभावक एक एक ठाउँमा राखेर मतदान गर्न सकिन्छ कि भन्नेबारे पनि सोचिरहेको बताए ।
तस्बिरः फाईल

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि damaulinews.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्

कभर स्टोरी