मृगौला बिरामी संक्रमितको उपचारमा समस्या

  • ख-
  • ख+

दमौलीः गत सोमबार संक्रमण देखिएका व्यास ४ निवासी ३६ वर्षका कोरोना संक्रमितको अझै डायलसिस हुन सकेको छैन । पोखरा गएर गरिएको परीक्षणका क्रममा मृगौलाका बिरामी ती व्यक्तिमा संक्रमण भेटिएको थियो ।


दमौली अस्पतालमा रहेको मृगौला उपचार केन्द्रमा डायलसिस गराउने गरेका उनले शनिबारयता सेवा लिन पाएका छैनन् । केन्द्रले बेग्लै ठाउँ नभएको भन्दै पोखरा पठाए पनि पोखराको पश्चिमाञ्चल क्षेत्रीय अस्पतालले फेरि दमौली फिर्ता पठाएपछि ती संक्रमित पत्नीसँगै व्यास ३ दमौलीको किरियापुत्री भवनमा आइसोलेसनमा छन् ।


ज्वरो र कमजोरीपन देखिएकाले पहिले पनि पालोभन्दा अघि नै डायलसिस गराएका ती पुरुषलाई अहिले झनै गाह्रो भएको पत्नीको भनाइ छ । तर यस्तो बेलामा पनि डायलसिस गराउन नपाउँदा समस्या परेको पत्नीको भनाई छ ।


उपचार केन्द्र दमौलीका प्रमुख शैलेन्द्र पण्डितले नियमित डायलसिसका बिरामी आइरहने तर कोठा अभाव भएकाले पोखरा पठाउन सुझाव दिइएको बताए ।


उता, प्रमुख जिल्ला अधिकारी सागर आचार्यले आफूले दमौलीमा नै डायलसिस गराउनका लागि निर्देशन दिएको बताए ।
तर प्रजिअले यसो भने पनि आफ्नो पतीको डायलसिस कहाँ र कसरी हुने हो पत्नीलाई अत्तोपत्तो छैन ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि damaulinews.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्

कभर स्टोरी