दमौलीः नेपाली कांग्रेस तनहुँले आसन्न संघीय निर्वाचनमा इच्छुकहरुका लागि खुलाएको दाबेदारी अन्र्तगत तनहुँ १ मा दाबेदारी दिनेको संख्या ११ पुगेको छ ।
तनहुँ १ बाट प्रत्यक्षतर्फ टिकटका लागि दावेदारी दिनमा केन्द्रीय सदस्य गोविन्द भट्टराई, पूर्व मन्त्री शंकर भण्डारीसँगै संविधान सभासद डा. रामचन्द्र पोखरेल र सरिता गुरुङ आकांक्षी छन् ।
यसैगरी, राष्ट्रिय योजना आयोगका पूर्व उपाध्यक्ष डा. जगदीशचन्द्र पोखरेल, नेताहरु रेशम गुरुङ, सरिता गुरुङ, नेता दीपक भट्टराई, क्षेत्रीय सभापति श्याम मौरति, महासमिति सदस्य पुरुषोत्तम खनाल, शिक्षक संघ सभापति रमेश भट्टराई र उद्धव पौडेलले समेत इच्छा जाहेर गरेका छन् ।
तनहुँ क्षेत्र नम्बर २ बाट प्रत्यक्षतर्फ उम्मेदवारीका लागि दावेदारी दिनेमा केन्दीय नेताहरु प्रदीप पौडेल र शंकर भण्डारी छन् । यसैगरी क्षेत्रीय सभापति चुडामणि खनाल, नेता चाम थापा तथा पुष्प पराजुलीले समेत प्रत्यक्ष लड्ने आकांक्षा देखाएका छन् ।
पूर्व मन्त्री एवं केन्द्रीय सदस्य भण्डारीले जिल्लाका दुवै क्षेत्रमा उम्मेदवारी आकांक्षा देखाएका छन् । कम्तिमा एउटा सिट सुरक्षित गर्न वा लोकप्रिय रहेको देखाउन दुवै क्षेत्रबाट नाम सिफारिस गराउने विगतको प्रचलन छ ।
नेता भण्डारीले समेत सोही अर्थमा दुवै क्षेत्रमा नाम दर्ता गराएको हुनसक्ने अनुमान गरिएको छ । तर, नेपाली कांग्रेस मुख्यालयले भने यससम्बन्धमा परिपत्र गर्दै एक स्थानबाट मात्र उम्मेदवारको नाम सिफारिस गर्न भनेको छ ।
प्रत्यक्षले समानुपातिक वा समानुपातिकले प्रत्यक्षसँगै एक भन्दा बढी क्षेत्रबाट सिफारिस रोकेर प्रतिस्ष्र्धा स्वस्थ बनाउन यस्तो प्रबन्ध गरिएको कांग्रेस मुख्यालयको भनाइ छ ।
तनहुँमा हालसम्म दुवै क्षेत्रबाट इच्छा दिनेमा भण्डारी मात्र देखिएकाले उनका हकमा के हुन्छ त ? एक जिल्ला नेताले प्रक्रियागत रुपमा दुुवै क्षेत्रमा शुल्क तिरेर उम्मेदवारी इच्छा जाहेर भएमा जिल्लाले एक क्षेत्रबाट मात्र नाम केन्द्रमा पठाउने बताए ।










