भतेरीमा सहमतिपछि पुनः उठ्यो दमौलीको फोहोर

दमौली न्युज
  • ख-
  • ख+

दमौलीः भतेरीमा व्यवस्थापनका लागि स्थानीयसँग सहमति भए पछि व्यास नगरपालिकाले शुक्रबारबाट नकुहिने फोहोर उठाउन थालेको छ ।

गत माघ २ गते एक सूचना जारी गर्दै कुहिने फोहोर एक दिन बिराई संकलन गर्ने तर नकुहिने फोहोर केही दिन उठाउन नसकिने सूचना जारी गरेको थियो ।


नगरपालिकाले विगतमा फोहोर व्यवस्थापन गर्दै आइरहेको भतेरीमा अर्को विकल्प नभएसम्म फोहोर व्यवस्थापनका लागि सम्झौता गरे पछि पुनः नकुहिने फोहोरसमेत संकलन शुरु भएको प्रवक्ता जीवन गुरुङले जानकारी दिए ।


उनका अनुसार भतेरीमा कुहिने फोहोर दुर्गन्ध नआउने गरी पुर्ने, बाटो व्यवस्थापन गर्ने तथा फोहोर जथाभावी छरिन नदिने गरी व्यवस्थापन गर्ने लगायतका विषयमा बिहीबार स्थानीयसँग सहमति भएको छ ।


फोहोर नउठ्दा सडक छेउमा दुर्गन्ध फैलिएको गुनासो आएको थियो । व्यास २ का युवा सुदीप गफारले आफ्नै सक्रियतामा खुला छाडिएका फोहोरलाई प्लाष्टिकले छोपेर राखेको भन्दै उनको प्रशंसा भएको थियो ।


तत्कालका लागि समस्या समाधान भए पनि व्यासमा स्थापनाकालदेखि नै भतेरीमा फोहोर फालिंदै आएकामा बीचमा केही विकल्प खोज्ने प्रयास भए पनि त्यसले टुंगो नपाउँदा समस्या देखिंदै आएको छ ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि damaulinews.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्

कभर स्टोरी