तनहुँ जलविद्युत् आयोजनाको २८ सुरुङ खनियो

दमौली न्युज
  • ख-
  • ख+

दमौली । १ सय ४० मेगावाट क्षमताको तनहुँ जलविद्युत् आयोजनाको हाल सम्म २८ वटा सुरुङ खन्ने काम सकिएको छ । ऋषिङ गाउँपालिका–१ मा निर्माणाधीन आयोजनाको प्याकेज एक र प्याकेज दुई तर्फ गरी कुल २८ वटा सुरुङ खन्ने काम सकिएको हो ।

प्याकेज एकतर्फ १० वटा तथा प्याकेज दुई तर्फ १८ वटा सुरुङ खनिएको आयोजना प्रमुख राजभाइ शिल्पकारले जानकारी दिए । त्यस्तै प्याकेज एक तर्फ दुई वटा र प्याकेज दुई तर्फ एउटा सुरुङ खन्ने काम जारी छ । एक हजार चार सय ५६ मिटरको हेडरेस सुरुङ मध्ये हाल सम्म एक हजार दुई सय २० मिटर सुरुङ खनि सकिएको छ भने बाँकी खन्ने कार्य जारी रहेको आयोजनाले जनाएको छ ।

सोही प्याकेज अन्तर्गतको विद्युत गृह कङ्क्रिटिङ, ट्रेलरेस कङ्क्रिटिङ, केबल सुरुङ कङ्क्रिटिङ, ड्राफ्ट ट्युव सुरुङ कङ्क्रिटिङको काम चलिरहेको आयोजनाले जनाएको छ । आयोजनाको प्याकेज दुई अन्तर्गत नै हाइड्रोमेकानिकल कार्यअन्तर्गत ठाडो सुरुङमा पेनस्टक पाइप जडान काम भइरहेको छ । हाल सम्म दुई सय १२ दबमलव तीन सय नौ मिटर मध्ये एक सय पाँच दशमलव २० मिटर पाइप जडान गरिएको आयोजना प्रमुख शिल्पकारले बताए ।

प्याकेज दुर्इ अन्तर्गत चीनको सिनो हाइड्रो कर्पोरेसनले भूमिगत विद्युतगृहमा मुख्य सुरुङ र हाइड्रोमेकालिन तथा इलेक्ट्रोमेकानिकल उपकरण आपूर्ति, जडान तथा सञ्चालन लगायत कार्यहरू गरिरहेको छ । यो प्याकेजको निर्माणका लागि सिनो हाइड्रो कर्पोरेसन सँग विसं २०७५ असोज १५ गते गरिएको खरिद सम्झौता बमोजिम सिनोले विसं २०७५ माघ ६ गते देखि आयोजना स्थलमा निर्माणकार्य जारी राखेको छ ।

प्याकेज–तीनअन्तर्गत प्रसारण लाइन निर्माणका क्रममा हाल सम्म ७० वटा टावरको जग हाल्ने कार्य सकिएको छ । तेत्तीस वटा टावर जडान गरिएको छ भने १३ वटा टावरको जग संरक्षण गरिएको आयोजनाले जनाएको छ ।

आयोजनाको समग्र निर्माण विसं २०८३ असार भित्र सक्ने लक्ष्य राखिएको छ । कम्पनीको पुँजी संरचना तथा वित्तीय व्यवस्थापन आयोजनाको कुल लागत ९ प्रसारण लाइन, ग्रामीण विद्युतीकरण तथा निर्माण अवधिको ब्याज समेत ५० करोड ५० लाख अमेरिकी डलर लाग्नेमा एसियाली विकास बैंकले १५ करोड डलर, जापान अन्तर्राष्ट्रिय सहयोग नियोग (जाइका) ले १८ करोड ४० लाख डलर, युरोपेली लगानी बैंकले आठ करोड ५० लाख डलर र नेपाल विद्युत् प्राधिकरणले आठ करोड ६० लाख डलर व्यहोर्ने गरी वित्तीय व्यवस्थापन गरिएको छ । रासस

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि damaulinews.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्

कभर स्टोरी