को हुन् राष्ट्रिय सभा सदस्य निर्वाचित पदम परियार ?

दमौली न्युज
  • ख-
  • ख+

पदमको सफलताको नालीबेली

दमौलीः अपांगता अधिकारका क्षेत्रमा क्रियाशिल पदम परियार गण्डकी प्रदेशबाट राष्ट्रिय सभा सदस्य निर्वाचित भएका छन् ।
सत्ता गठबन्धन अन्र्तगत कांग्रेसका तर्फबाट अपांगता क्लस्टरका उम्मेदवार बनेका उनले ३ हजार ७ सय ७४ मत पाएर जित दर्ता गरे ।


उनका प्रतिष्पर्धी एमालेका उम्मेदवार हेमन्त शेरचनले २ हजार ४ सय ५८ मत प्राप्त गरेका थिए ।
तनहुँमा अपांगता भएकाहरुको अधिकारका क्षेत्रमा क्रियाशिल रिसेड संस्थाको अध्यक्षका रुपमा क्रियाशिल पदम अपांगता अधिकार तथा सशक्तिकरणसम्बद्ध विभिन्न संघ संस्थामा पहिल्यै नेतृत्वमा थिए ।


अपांगताको क्षेत्रमा कार्यरत संस्थाहरुको साझा संस्था सीबीआर नेटवर्कको समेत अध्यक्षका रुपमा जिम्मेवारी सम्हालेका थिए ।
उनकै नेतृत्वमा व्यास ११ मा अपांगता श्रोत केन्द्र भवन बनेको छ । अपांगता भएका दलित समुदायको हक अधिकारका लागि संस्था खडा गरेर अधिकारका लागि समेत पदमले वकालत गर्दै आइरहेका छन् ।


राजनीति र अधिकार यात्रा
अपांगताका क्षेत्रमा क्रियाशिल भए पनि राष्ट्रिय सदस्य उम्मेदवारका रुपमा उनको नाम आउनुलाई कतिपयले आश्चर्यपूर्ण रुपमा पनि हेरेका थिए ।


तर, पदमको नेपाली कांंग्रेसको राजनीतिसँगको साइनो भने नयाँ होइन । २०५१ सालदेखि नै नेविसंघमार्फत उनी कांग्रेसको राजनीतिमा जोडिएका थिए । पदमले लोकतान्त्रिक अपांग संघदेखि पार्टीको व्यास नगर समिति, क्षेत्रीय समिति तथा सम्पर्क मञ्चमासमेत उनले पदिय दायित्व लिएर भूमिका खेलेका थिए ।


त्रिभुवन विश्वविद्यालयबाट ग्रामीण विकास विषयमा प्रथम श्रेणीमा स्नातकोत्तर गरेका उनले विभिन्न देशमा गएर अन्तर्राष्ट्रिय मञ्चहरुमा देशको अपांगता अधिकारका बारेमा प्रस्तुतीकरण गरेका थिए ।

सामान्य परिवारबाट सदनको यात्रा
२०३८ मा तनहुँको सामान्य दलित परिवारमा जन्मिएका पदम पोलियोका कारण सहज हिंडडुल गर्न सक्दैनन् । जलदेवी हुँदै निर्र्मल माविबाट एसएलसी दिएका पदम विद्यार्थीकालदेखि नै राजनीतिक तथा सामाजिक संस्थामा आवद्ध त थिए ।

पछि आफू प्रतिनिधित्व गर्ने अपांगता भएकाहरुको अधिकारका लागि लागि पनि रहे । कांग्रेस तथा दलबाहेक पनि अधिकारको क्षेत्रमा राजनीति गरिरहेका उनी अपागता हक हितका क्षेत्रमा त क्रमैसँग सफलताको खुट्किलो चालिरहेका थिए । तर, उनले सहजै प्राप्त गरेजस्तो देखिए पनि देशको सदन बनाउने माथिल्लो थलोमा पुगेका पदमको यो सफलताका लागि भने उनी एक योग्य पात्र नै हुन् ।


युवा उमेरमै राजनीतिक सफलता पाएका पदमले अपांगता अधिकारका क्षेत्रमा निकालेको नतिजा र पाएको सफलताजस्तै अब राष्ट्रका समस्या समाधानमा आफ्नो भूमिका अब्बल प्रमाणित गर्नुपर्ने चुनौती पनि उपहारमा पाएका छन् ।


र, यो संयोग
कांग्रेसको साथमा सत्ता गठबन्धनको मत पाएर देशको कानून बनाउने उपल्लो सदन राष्ट्रिय सभाको बाटो तय गरेका उनले आफ्नै क्षेत्रबाट आफ्नै जिल्लाका पूर्व सहकर्मी प्रकाश पन्थको ठाउँ लिनेछन् ।


संयोग दुवैजना आदिकवि भानुभक्त क्याम्पस र रिसेडका नेतृत्वकर्ता हुन् । आफ्नो क्षेत्रका अलावा देशकै कानून निर्माणको गहिरो जिम्मेवारी पाएका पदमले खेल्ने भूमिकामा नै उनको गृहजिल्ला, समुदाय, प्रदेश मात्र होइन राष्ट्रलेसमेत गर्व गर्ने ठाउँ बन्न सक्छ ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि damaulinews.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्

कभर स्टोरी