अस्ताइन् स्वतन्त्रता सेनानी द्रौपदा

दमौली न्युज
  • ख-
  • ख+

पोखरेल परिवारमा शोक

दमौलीः नेपाली कांग्रेसकी नेतृ द्रौपदा शर्मा पोखरेलको मंगलबार बिहान निधन भएको छ । एक सय दुई वर्षीया पोखरेलको आज बिहान ४ बजे सामाखुसी रानीबारीस्थित निवासमा निधन भएको हो ।

स्वर्गीय गोबद्र्धन शर्मा पोखरेलकी धर्मपत्नी तथा संविधानसभा सदस्य रामचन्द्र, गण्डकी प्रदेशका पूर्वमुख्यमन्त्री कृष्णचन्द्र, योजना आयोगको पूर्वउपाध्यक्ष डा. जगदीशचन्द्र र सुवास पोख्रेल तथा छोरीहरु प्रियंवदा र सत्यम्वदाका आमा द्रौपदाको २००७ सालको जनक्रान्तिको समयदेखि प्रजातन्त्र पुनःस्थापनाका लागि योगदान रहेको थियो । उनी २००७ सालको जनक्रान्तिपछि स्थानीय महिला संघको अध्यक्ष बनेकी थिइन् ।

स्व. गोबद्र्धन शर्मा पोखरेलको पञ्चातले सर्वस्वहरण गरेपछि विसं २०१८ सालको जनक्रान्तिमा गिरफ्तार भई पैदल हिँडाई पोखरा हिरासतमा लगिएको थियो । बाबु गोबद्र्धन शर्मा राणा शासनको विरोधमा जहिल्यै क्रियाशील थिए ।

उनी नेपाली कांग्रेसमा लागेर तत्कालीन समयमा केन्द्रीय सदस्य समेत थिए । तत्कालीन राणा तथा पञ्चायती शासकले पटक पटक घरपकड गर्दा पनि पोखरेलले परिवारको पालनपोषण गर्दै कांग्रेस नेतृत्वको लोकतान्त्रिक आन्दोलनमा महत्वपूर्ण भूमिका खेलेको स्वर्गीय गोवद्र्धन पोखरेलको संस्मरणमा उल्लेख छ ।
महिला अधिकार र सामाजिक रुपान्तरणका आन्दोलनमासमेत द्रौपदाले महिला नेतृका रुपमा महत्वपूर्ण योगदान दिएकी थिइन् ।

स्वर्गीय द्रौपदा व्यास 10 पोखरेलफाँटस्थित गोबद्र्धन शर्मा स्मृति ट्रष्टको अध्यक्ष र संरक्षक थिइन् । उनको आजै पशुपतिमा अन्त्येष्टि गरिने जेठा छोरा रामचन्द्र पोख्रेलले जानकारी दिए ।
यसैबीच राष्ट्रपति रामचन्द्र पौडेलले परिवारका सदस्यहरूलाई टेलिफोन गरि श्रद्धान्जली व्यक्त गर्दै शोकसन्तप्त परिवारप्रति समवेदना व्यक्त गरेका छन् ।

नेपाली कांग्रेसका केन्द्रीय सदस्य गोविन्द भट्टराईले पनि स्वर्गीय पोखरेलको तनहुँको लोकतान्त्रिक इतिहासमा महत्वपूर्ण योगदान रहेको स्मरण गर्दै परिवारमा समवेदना प्रकट गरेका छन् ।

कांग्रेस केन्द्रीय सदस्य शंकर भण्डारीले पोखरेल निवासमा गएर स्वर्गीय पोखरेलप्रति श्रद्धाञ्जली अर्पण गरेका थिए ।

यसैगरी, पूर्वमन्त्री एवं कांग्रेसका पूर्व सहमहामन्त्री गोविन्दराज जोशीले शोक वक्तव्य जारी गर्दै नेपालको प्रजातान्त्रिक आन्दोलनमा स्वर्गीय गोवद्र्धन शर्मा पोखरेल र श्रीमती द्रौपदासँगै पोखरेल परिवारको ठूलो योगदान रहेको उल्लेख गरेका छन् ।

पोखरेल परिवारका अनुसार स्वर्गीय पोखरेलको रानीबारीस्थित निवासबाट पशुपती आर्यघाट लगि अन्त्येष्टि गरिएको छ ।

स्वर्गीय पोखरेलको पार्थिव शरिरमा नेपाली कांग्रेसका महामन्त्री गगन थापाले पार्टीको झण्डा ओढाएर श्रद्धाञ्जली अर्पण गरे । स्वर्गीय पोखरेलप्रति शोक प्रकट गर्न काठमाडौंमा रहेका तनहुँवासीहरुको उल्लेख्य उपस्थिती रहेको थियो ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि damaulinews.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्

कभर स्टोरी