शुक्लागण्डकीको १४ औँ नगरसभा सम्पन्न

दमौली न्युज
  • ख-
  • ख+

नगर प्रमुख पण्डितद्वारा सुधारको प्रतिवद्धता

दुलेगौँडा : शुक्लागण्डकी नगरपालिकाको नगर सभा तथा १४औँ अधिवेशन सम्पन्न भएको छ । नगरपालिकाले सोमबार सम्पन्न नगर सभाबाट विभिन्न ऐन तथा प्रस्तावहरु पारित गरेको हो ।

नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत रामचन्द्र लामगादेले निजी जग्गा गिटी, बालुवा, माटो, आदि उत्खनन, संकलन तथा ढुवानी व्यवस्थित गर्ने सम्बन्धी कार्यविधि–२०७७ को दफा ३ को उपदफा (ख) र दफा ६ को उपदफा ३ मा भएको कार्यदलको (ग) मा भएको व्यवस्था (संशोधन)सहित पारित भएको जानकारी दिए ।

उनका अनुसार आ.व २०८०÷८१ को १३ औँ नगर सभाबाट स्वीकृत केही अत्यावश्यक चालु खर्च शीर्षकका बजेट रकमान्तर, पुँजीगत शीर्षक नगरस्तरीय तथा वडागत योजनाहरुको रकमान्तर, नगरपालिकामा कार्यरत करार सेवाका कर्मचारीहरुको आर्थिक बर्ष २०८०÷८१ असारमसान्तको लागि म्याद थपका प्रस्तावहरु नगर सभाबाट स्विकृत गरिएको हो ।

नगरसभामा सामाजिक विकास समितिका संयोजक रविचन्द्र पौडेल, आर्थिक विकास समितिका संयोजक इन्द्रबहादुर गुरुङ, लेखा समिचि संयोजक कुलकुमार कुमाल, वा, वातावरण तथा विपद् व्यवस्थापन समिति संयोजक दीर्घबहादुर थापाले विषयगत रुपमा अर्धवार्षिक प्रगति प्रतिवेदन प्रस्तुत गरेका थिए ।

त्यस्तै, सार्वजनिक सेवा तथा क्षमता विकास समितिको अर्धवार्षिक प्रगति प्रतिवेदन समिति संयोजक राजकुमार वाग्ले, विधायन समितिको अर्ध वार्षिक प्रतिवेदन समिति संयोजक राजेन्द्र भट्टराई क्षेत्री, पुर्वाधार विकास समितिको अर्धवार्षिक प्रतिवेदन संयोजक खिमबहादुर कुमाल र न्यायिक समितिको अर्धवार्षिक प्रतिवेदन संयोजक खुमबहादुर वि.क राजुले प्रस्तुत गरेका थिए । सो क्रममा न्यायिक समिति संयोजक एवं नगर उपप्रमुख वि.कले जननिर्वाचित जनप्रतिनिधिहरु नगरको समृद्धिका लागि गम्भिर भएर लाग्नुपर्ने आवश्यकता देखिएको बताए ।

उनले सेवा प्रवाह केन्द्र अपेक्षा गरिए अनुसार प्रभावकारी हुन नसकेको, कर्मचारीको कार्यसम्पादन सन्तोषजनक नभएको, राजस्व संकलन कमजोर देखिएको, योजना सम्झौता ६० प्रतिशत भएको तर भुक्तानी ७ प्रतिशत मात्र भएको जानकारी दिए ।

उनका अनुसार ६ महिनासम्मको समयावधिमा आन्तरिक राजस्व संकलन ४ करोड ५० लाख ७८२ रुपौंया मात्रै राजस्व संकलन भएको छ । नगरपालिकाले यसबर्ष रु. १६ करोड ५१ लाख आन्तरिक आम्दानी गर्ने लक्ष्य लिएको छ । शुक्लागण्डकी नगरपालिकाले आर्थिक वर्ष ८०। ८१ मा ४०१ वटा योजना तय गरेपनि ६ महिनासम्म २८ वटा योजना सम्पन्न भई भुक्तानी भएको छ । तर २४३ वटा योजना सम्झौता भएका अनि १३० वटमा योजना सम्झौता हुन बाँकी छ ।

त्यस्तै, शुक्लागण्डकीले हालसम्म ७९ वटा कानुनहरु निर्माण गरेको छ भने ८ वटा कानुन निर्माणको लागि प्रस्ताव पेस गरेको छ ।

सो अवसरमा नगरसभा सदस्यहरुले विभिन्न विषयमा प्रश्न तथा सुझावहरु पेस गरेका थिए भने नगर सभाका सभाध्यक्ष नगर प्रमुख कृष्णराज पण्डितले आएका सुझावहरुलाई मनन गरी सुशासन र समृद्ध शुक्लागण्डकी निर्माणमा लगाउने बताएका थिए । उनले सीमित श्रोत र साधनकाबीच सबै आवश्यकता एकै पटकमा पूरा गर्न नसकिने हुँदा क्रमिक रुपमा काम गर्दै जाने प्रतिवद्धता जनाए ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि damaulinews.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्

कभर स्टोरी