एनआरएनए उपाध्यक्ष डा. पौडेलद्वारा जलदेवीमा न्यानो पोशाक सहयोग

दमौली न्युज
  • ख-
  • ख+

दमौली: गैरआवासीय नेपाली संघ अन्तराष्ट्रिय समन्वय परिषद्का उपाध्यक्ष डा.केशव पौडेलले व्यास–१ स्थित जलदेवी माध्यामिक विद्यालयका विद्यार्थीलाई न्यानो कपडा सहयोग गरेका छन् ।

तनहुँ घर भइ हाल अमेरिकामा चिकित्सा पेशासँगै गैरआवासीय नेपाली अभियानमा सक्रिय पौडेलले विद्यालयका ४० जना अति विपन्न बालबालिकालाई न्यानो विद्यालय पोशाक सहयोग गरेका हुन् । विद्यालयमा आर्थिक विपन्नता भएका तथा दलित समुदायका विद्यार्थीको बाहुल्यता छ ।

केही दिनअघि मात्र नेपाल आएका पौडेलले बिहीवार विद्यालय व्यवस्थापन समिति अध्यक्ष होमबहादुर बस्नेतलाई सहयोग हस्तान्तरण गरे । चिसो बढ्दै गए पछि विद्यालयका विपन्न विद्यार्थीको पठनपाठन प्रभावित भएको शिक्षक राजु पौडेलमार्फत थाहा पाए पाउनासाथ सहयोग लिएर आएको डा.पौडेलले बताए । आगामी दिनमा पनि आवश्यकता अनुसार सहयोग गर्ने प्रतिवद्धता समेत व्यक्त गरे ।

‘परदेशमा रहे पनि मेरो मन यहीं छ ,’ व्यास ९ सिस्नेरी घर भएका पौडेलले भने,‘मैले यस ठाउँको लागि सक्दो सहयोग गर्नेछु ।’
१२ वर्ष यता एनआरएनए अभियान्ताको रुपमा गैर आवासीय नेपालीको हक हितका लागि काम गर्दै आएका पौडेलले नेपालमा पनि विभिन्न समयमा प्राकृतिक विपत्तिमा परेकालाई राहत सहयोग गर्नेदेखि शिक्षा, स्वास्थ्य लगायतको क्षेत्रमा सहयोग गर्दै आएका छन् ।

छोटो समयमै सहयोग लिएर विद्यालयमा आएको भन्दै प्रधानाध्यापक पिताम्बर सिग्देलले आभार व्यक्त गरे । ‘यसले पूर्ण पोशाकमा विद्यालय आउन नसक्ने अवस्थाका विद्यार्थीलाई राहत मिलेको छ,’ उनले भने ।


परदेशमा रहेर पनि मातृभूमिप्रति पौडेलले देखाएको सेवा भाव र सद्भावप्रति विद्यालय व्यवस्थापन समितिका अध्यक्ष बस्नेतले धन्यवाद व्यक्त गरे ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि damaulinews.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्

कभर स्टोरी