दमौलीमा बुद्धिजिवी भेला, तनहुँको विकासका लागि भट्टराईलाई सघाउने प्रतिवद्धता

दमौली न्युज
  • ख-
  • ख+

दमौलीः तनहुँ थलो भएका बुद्धिजिवीहरुको दमौलीमा सम्पन्न भेलाले तनहुँको विकासे मार्गचित्रका लागि कांग्रेस उम्मेदवार गोविन्द भट्टराईका पक्षमा समर्थन जनाउने निर्णय गरेको छ ।

तनहुँ उद्योग वाणिज्य संघको हलमा सम्पन्न भेलामा सहभागीले तनहुँको स्थानीय विकास नै यहाँका नागरिकको प्राथमिकता भएको भन्दै त्यसलाई अघि बढाउन भट्टराई नै सक्षम पात्र भएको बताए । निष्ठाको राजनीति गरेका र पदमै नरहेर पनि तनहुँको खानेपानी, विद्युत र बाटोघाटोमा योगदान भट्टराईले दिएका भन्दै उनी नेतृत्वमा गएमा आफूहरुले उनीमार्फत नै विकासको मार्गचित्रमा सघाउने प्रतिवद्धता जनाए ।


कार्यक्रममा कांग्रेसका उपसभापति धनराज गुरूङले सत्तामा नगइन्जेल देशमा ठुला ठुला भ्रष्टाचार भएको छ भन्ने र आँफै सत्तामा जाँदा ती सबै कुराहरू नदेख्ने मान्छेहरूले गरेको राजनीति टिकाउ नहुने उनको भनाइ थियो ।कार्यक्रममा काङ्ग्रेस नेता मिनेन्द्र रिजालले गोविन्द भट्टराई शालीन र धैर्यवान नेता भएको बताए ।

नेता रिजालले पार्टी भित्र अहिले नैँ पाइहालौँ भन्ने प्रवृत्ति केही नेतामा देखिएको भए पनि तनहुँ १ का उम्मेदवार बनेका गोविन्द भट्टराईमा त्यस्तो कहिल्यै नदेखिएको भन्दै बरू उनी कुनै दिन पालो आउला भन्दै कुरेर बसेको नेता भएको बताए । रिजालले लोकतान्त्रिक इतिहाससँग जोडिएको तनहुँ १ मा भट्टराईलाई जसरी पनि जिताउनुपर्ने बताए ।

कांग्रेसका उम्मेदवारका बारेमा कार्यकर्ताले चर्चा गर्नुपर्ने भन्दै उनले आफ्नो चर्चा नगरेर अरूको चर्चा गर्न आजैबाट छोडेमा चुनाव सजिलै जितिने दावी गरे । नेपाली कांग्रेस गण्डकी प्रदेशका सभापति शुक्रराज शर्माले केही महिना अगाडि भएको चुनावमा काङ्ग्रेसले धेरै मत फरकमा जितेको अवस्थामा अब बैशाख १० गते हुने निर्वाचनमा पनि अझै धेरै मत फरकमा चुनाव जित्ने बताए ।


कांग्रेस केन्द्रीय सदस्य शकर भण्डारीले अफ्ट्यारो परेको बेलामा सबै क्षेत्रका मानिसले पार्टीलाई सहयोग गर्नुपर्ने बताए ।
कार्यक्रममा नेकपा एकिकृत समाजवादीका केन्द्रीय सदस्य प्रतापलाल श्रेष्ठले बौद्धिक व्यक्तित्व भट्टराईमा तनहुँको विकास गर्ने सम्भावना देखेकाले आफूहरुको साथ रहने प्रतिवद्धता जनाए ।


राष्ट्रिय योजना आयोगका पूर्व उपाध्यक्ष जगदीशचन्द्र पोख्रेलले तनहुँमा पहिलेका तुलनामा विकासले गति लिएको भन्दै भट्टराई राजनीतिभन्दा विकासलाई प्राथमिकता दिने व्यक्ति भएकाले आफूहरुको साथ रहेको बताए । उनले भट्टराई विजयी भएमा जिल्लाको सडक सञ्जालदेखि अन्य भौतिक तथा मानविय विकासका लागि साथ दिने प्रतिवद्धता जनाए ।


तनहुँ उद्योग वाणिज्य संघको हलमा भएको कार्यक्रममा ,शिक्षक, प्राध्यापक, वकिल, कर्मचारी, डाक्टरलगायतका ठुलो संख्यामा बुद्धिजीवीहरूको उपस्थिति रहेको डाक्टर शेषरमण न्यौपानेले जानकारी दिए ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि damaulinews.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्

कभर स्टोरी