दमौलीमा दुई लाख राशीको मेयर कप फुटबल

  • ख-
  • ख+

विकास खनाल
दमौलीः
दमौलीमा दुई लाख राशीको फुटबल प्रतियोगिता हुने भएको छ । व्यास– ४ स्थित शितलचोक युथ क्लबद्वारा हरितालिका तीजको अवसरमा आयोजित प्रथम मेयर कप पुरुष खुल्ला फुटबल प्रतियोगितामा प्रतियोगिता हुने जानकारी दिइयो । दमौलीको बीपी वनबाटिका खेल मैदानमा भदौ ८ गते देखि १४ गतेसम्म हुने फुटबल प्रतियोगिताको तयारी अहिले अन्तिम चरणमा पुगेको छ ।

आइतबार सापकोटा होटलमा आयोजित पत्रकार सम्मेलनमा बताइए अनुसार प्रतियोगितामा देशभरका विभिन्न ठाउँका क्लबले भाग लिने छन् । जिल्लाकै सर्वाधिक राशीको फुटबल प्रतियोगिता भएकाले पनि देशभरबाट खेलाडी हरूको ध्यान खिचेको खेल सँयोजक राजेश मल्लले पत्रकार सम्मेलनमा बताए । ‘अहिलेसम्म २९ वटा टिमको दर्ता भैसकेको र अन्य टिमपनि सम्पर्कमा रहेको मल्लले बताए । काठमाडौ , धादिङ , स्याङ्जा , लमजुङ , कास्की लगायतका जिल्लाबाट टिम दर्ताको लागि सम्पर्कमा आएका छन्,’ सचिवालय सदस्य माधव न्यौपानेले भने ।

‘खेललाई प्रभावकारी र स्तरीय बनाउन २६ वटा उपसमिति गठन तथा चार जना सल्लाहकार चयन गरेका छौं,’ न्यौपानेले पत्रकार सम्मेलनमा जानकारी गराए । आर्थिक सँयोजक दुर्गाराज थापा मगरका अनुसार
प्रतियोगितामा विजेता टिमले २ लाख २ हजार २ सय २२ र उपबिजेता हुनेले १ लाख ११ हजार १ सय ११ रुपैयाँका साथै मेडल, ट्रफी र प्रमाणपत्र पाउने छन् । ‘खेल सम्पन्न गर्नको लागि व्यास नगरपालिका लगायतका अन्य स्वदेश तथा विदेशमा हुने सहयोगी दाताहरूले सहयोग गरिरहेका छन्,’ संयोजक थापाले भने ।

युनियन एजुकेसन मुख्य सहयोगी रहेको छ,’ उनले भने । प्रतियोगिता सम्पन्न गर्न ११ लाख रुपैयाँ बढी खर्च लाग्ने संयोजक दुर्गा मगरले बताए । हरितालिका तीजका अवसर पारेर आयोजना गरिएको फुटबल प्रतियोगितामा उत्कृष्ट खेलाडी, सर्वाधिक गोलकर्ता, उत्कृष्ट गोलरक्षक, घोषित गरी जनही ७ हजार ५ सय रुपैयाँ प्रदान गरिने क्लबले जनाएको छ ।

‘फुटबलका राष्ट्रिय एवं अन्तर्राष्ट्रिय खेलाडी उत्पादन गर्ने हाम्रो उद्धेश्य छ,’ सल्लाहकार खेम गुरूङले भने । अहिले डोजर लगाएर ग्राउण्ड सम्याएर सकिएको भए पनि पानी पर्दा समस्या भएको खेलमैदान सुधार समिति संयोजक बासुदेव सापकोटाले बताए ।

इलेभेन ए साइड फुटबल खेलाउने क्लबको सोचाइ भए पनि खेलमैदान प्रयाप्त नहुँदा सेभेन ए साइड फुटबल खेलाउन बाध्य भएको संयोजक सापकोटाले बताए ।
प्रतियोगितामा विदेशी खेलाडीहरुले समेत भाग लिन पाउने छन् सापकोटाले भने । पत्रकार सम्मेलनमा तनहुँका अधिकांश पत्रकार तथा क्लवका युवाहरूको उपस्थिति रहेको थियो ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि damaulinews.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्

कभर स्टोरी