तनहुँ उद्योग वाणिज्य संघले भदौमा लगानी सम्मेलन गर्ने

  • ख-
  • ख+

दमौलीः तनहुँ उद्योग वाणिज्य संघले जिल्लाका स्थानीय तहहरुको आर्थिक सम्भाव्यता पहिचान गर्दै लगानी भित्र्याउन लगानी सम्मेलनको आयोजना गर्ने भएको छ ।

स्थानीय तहमा निर्वाचित संघका सदस्यहरुको सम्मानमा आयोजित कार्यक्रममा संघका अध्यक्ष पविन्द्रकुमार श्रेष्ठले यससम्बन्धी घोषणा गरे । ‘परिवर्तित अवस्थामा तनहुँका स्थानीय तहहरुको आर्थिक सम्भावनाको पहिचान र उजागर गर्दै विकासमा सघाउन सम्मेलन गर्न लागेका हौं,’ उनले भने । भाद्र १६, १७ र १८ गते यस्तो कार्यक्रम गर्ने संघको तयारी छ ।

सम्मेलनका क्रममा हरेक तहका सम्भावनाहरुबारे आवश्यक तथ्यांक संकलन गरी लगानीकर्तामाझसमेत छलफल गरिनेछ ।

यसैगरी संघले आफ्ना सदस्यका लागि असार दोश्रो साता व्यवसायिक प्रस्तावना तथा नेतृत्व विकाससम्बन्धी प्रशिक्षणसमेत गर्ने निर्णय गरेको छ ।
कार्यक्रममा स्थानीय तहको प्रमुखमा निर्वाचित संघका पूर्व अध्यक्ष कृष्णराज पण्डित, व्यास ३ को वडा सदस्यमा निर्वाचित पूर्व अध्यक्ष शान्तिरमण वाग्ले, म्याग्देको उप प्रमुखमा निर्वाचित बालकृष्ण घिमिरेलाई सम्मान गरियो ।

व्यास ३ का वडा सदस्य दधिराज घिमिरे, व्यास २ का वडा सदस्य सुरेश वाग्ले र रफत साना मियाँलगायतलाई पनि कार्यक्रममा सम्मान गरियो ।


यसैगरी, व्यास २ का वडाध्यक्ष काशिराम श्रेष्ठ, म्याग्देका वडाध्यक्ष दीपक श्रेष्ठलगायत विभिन्न तहमा निर्वाचत जनप्रतिनिधिलाई संघले सम्मान गरेको थियो । कार्यक्रममा बोल्दै शुक्लागण्डकी नगर प्रमुख पण्डित, व्यासका वडा सदस्य वाग्लेलगायतले स्थानीय तहले व्यवसायीसँग साझेदारी गर्दै अघि बढ्ने प्रतिवद्धता जनाए ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि damaulinews.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्

कभर स्टोरी