व्यासका जनप्रतिनिधिको पहिलो निर्णयः फोहोर व्यवस्थापनका लागि जग्गा किन्ने

  • ख-
  • ख+

दमौलीः व्यास नगरपालिकाका नवनिर्वाचित जनप्रतिनिधिले पदस्थापना गरे पछिको पहिलो कार्यपालिका बैठकले फोहोरमैला व्यवस्थापनका लागि जग्गा खरिद गर्ने निर्णय गरेको छ ।

फोहोरको दीर्घकालिन व्यवस्थाका लागि भन्दै नगर प्रमुख बैकुण्ठ न्यौपानेको अध्यक्षतामा सम्पन्न बैठकले व्यास २ का वडाध्यक्ष काशिराम श्रेष्ठको संयोजकत्वमा व्यास ३ का वडाध्यक्ष अनुप राना, व्यास ४ का वडाध्यक्ष मनबहादुर गुरंग तथा व्यास १० का वडा सदस्य यज्ञ शर्मा सदस्य रहेको समिति गठन गरेको छ । दुई जना नगरपालिकाका प्राविधिक समेत रहेको समितिले जग्गा खोजविन गरेर खरिदको सिफारिस गर्नेछ ।

समितिलाई पर्ति जग्गा समेतको व्यवस्था गर्न अधिकार दिइएको छ ।

मतदाता तथा निवर्तमान पदाधिकारीलाई धन्यवाद ज्ञापन गरेको बैठकले विपन्न व्यास नगरवासी र स्वास्थ्य बीमा नभएका ज्येष्ठ नागरिकहरुको स्वास्थ्य बीमा तथा कृषि पशुधनमा वीमा गर्न नगरपालिका तर्फबाट सहयोग गर्ने निर्णय गरेको छ ।

बैठकले अधुरा योजनाहरु र आर्थिक सामाजिक, भौगोलिक, शारीरीक कारणले पछाडि परेका वर्ग र क्षेत्रलाई विशेष प्राथमिकता दिई विकास प्रकृया अघि बढाउने निर्णय पनि गरेको छ ।
पुरातात्विक महत्वका माटाका घरहरुलाई संरक्षण गर्दै अति विपन्न नगरवासीको फुसका छाना एवं माटाका घरहरुलाई लागत साझेदारीमा हटाइने निर्णय पनि बैठकले गरेको छ ।

यसैगरी, अभिभावक विहिन, विपन्न र शिक्षाको पहुँचमा नरहेका बालबालिकालाई व्यास नगरपालिका वडा नं ७ शेषमटारमा तयारी अवस्थामा रहेको व्यास नगर समता विद्यालयलाई यसै शैक्षीक वर्ष देखी सञ्चालनमा ल्याइने निर्णय पनि बैठकले गरेको छ ।

आगामी आर्थिक वर्षको वार्षिक नीति तथा वजेट कार्यक्रम तयारीको प्रकृयामा टोल विकास संस्था समेतको सहभागितामा २०७९ जेष्ठ २९ गते भित्र वडागत योजना, नगरस्तरीय योजना सिफारिस गर्न गराउन सम्बन्धित वडा समितिलाई निर्देशन दिने निर्णय पनि गरेको छ ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि damaulinews.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्

कभर स्टोरी