व्यासका नगरप्रमुख प्रत्यासी दीपकले भावुक पत्र लेख्दै भने,’यात्रा सकिएको छैन’

  • ख-
  • ख+

दमौलीः व्यासका नगर प्रमुख प्रत्यासी दीपकराज जोशीले आफ्नो हार केलाउँदै भावुक पत्र लेखेका छन् । उनले आफूलाई विश्वास गरेष्र अमूल्य मत दिएको भन्दै सुभेच्छुकप्रति आभार प्रकट गरे ।


एक भावुक पत्रमा जोशीले आफू गलतप्रवृतिविरुद्धको लडाईंमा रहेको र आफ्नै ठाउँमा बसेर लड्न आएको भन्दै राजनीतिमा व्याप्त विकृति अनुसरण गर्न नसक्दा पराजित भएको उल्लेख गरेका छन् । उनले लेखेको पत्र जस्ताको तस्तै

दीपकराज जोशीले लेखेको पत्र

आदरणीय व्यास नगरवासी आमा बुवा, दिदी बहिनी, दाजु भाई साथै मेरा सहयात्रीहरु जसले मलाई विश्वास गरेर आफ्नो अमूल्य समय र अमूल्य मतको दान गर्नु भएको छ । जसलाई लिएर म निकै नै आभारी छु । हुन त चुनावी मैदानमा उत्रिए पछि कि जितिन्छ कि हारिन्छ । जुन कुरा स्वभाविक पनि हो। तर पनि केही गर्नको निम्ति कुनै पदमा बसेर जस्तो सम्भव बाहिर बसेर नहुने रहेछ । जसले मलाई यो मैदानमा होमिन बाध्य बनाएको हो । हुन त यो सुर र असुर बीचको लड़ाई हो । कलियुगमा धरै जसो असुरको विजय हुन्छ । यो चुनावमा मैले भोटले नजिते पनि व्यास नगरबासीको मन जितेको छु । जसलाई डर, धम्की , पेट्रोल, मासुभात, रक्सी र पैसाले किन्न सक्दैन । झिनो मतान्तरले( दुई सय ५२ मत )एउटा स्वतन्त्र उम्मेदवारले चुनाव हार्नु भनेको जित्नु बराबर हो । किनभने दलीय व्यवस्थामा कुनै पार्टी र यसको छत्रछायामा नरही मतदान गर्न सक्ने युवाहरुको जमात हुनु भनेकै परिवर्तनको चाहना अहिलेको पुस्तामा छ भन्ने कुराको संकेत हो ।
मैले किन र कसरी चुनाव हारेँ भन्ने कुराहरुको समीक्षा गर्दै गर्दा निम्न कारण भेट्टाएँ ।

१. निर्दोष जनताको भोट पैसाले किन्न नखोज्नु र पैसा बाँड्ने नसक्नु ,
२. जनताको भोकको मजाक बनाएर कुनै एक दिनको लागि मासु भातको लोभ बाँड्न नसक्नु,
३. मदिराजन्य पदार्थको निम्ती खर्च गर्न नसक्नु,
४. गलत प्रचारप्रसार र भ्रम फैलाउन नसक्नु,
५. सरकारी सम्पत्ति दुरुपयोग गर्न नसक्नु,
६. धम्काउन र मारपिट गर्न नस्कनु
७. पेट्रोल बाँड्न नसक्नु,
८. सुरा, सुन्दरी र सम्पत्तिप्रति आशक्ति नहुनु,
९.अन्य थुप्रै ।

यो कलियुग हो । यहाँ राम्रा मान्छे धेरै समय सम्म टिक्न सक्दैनन् । यो अस्थिर समाज असल व्यक्ति सुहाउँदो छैन । तर पनि यो समाज र राज्यलाई गति दिन असल व्यक्तिको आवश्यकता छ । कहिलकाहीँ त लाग्छ म जस्तो व्यक्ति यो समाजका लागि बनेकै होइन। किनकी यो समाज इमानदारितामैत्री छैन । र, पनि मलाई आफ्नो इमान्दारिताप्रति खेद छैन र हुँदैन पनि ।

विकृति र विसंगतिले भित्र भित्र फाटेको समाजमा नफाट्नको लागि ब्राण्डको ट्याग भएकै जुत्ता लगाउनुपर्छ । चाहे त्यो बलियो होस् या कमशल। यहाँ उचाल्ने र पछार्नेको भिड छ । जहाँ सोझो तरिकाले काम गर्छु भन्नेलाई खुट्टा तानेर लडाइँन्छ । मलाई थाहा छ ,म सँगै लड्नेहरुका लागि यो समय निकै कठिन बनेको छ । तर पनि नातिनोस् हामी एउटा कठिन यात्रामा जरुर छौँ तर यात्रा सक्किएको छैन । यतिबेला हामी सबै मिलेर शून्यलाई अँगाल्नु पर्नेछ । हामी फेरि उठ्नेछौं शुन्य बाट। यो अशान्त समाजको अस्थिर व्यवस्थासँगको लडाइँले हामीलाई थकाउन सक्दैन र सक्नु हुँदैन पनि । म सदैव तपाईंको साथमा छु।र रहिरहने छु ।

सादा जीवन, उच्च विचार र स्वाभाविक कर्तव्य एवं व्यवहारप्रतिको मेरो निष्ठा ज्युँ का त्यूँ छ । म भित्रको व्यास नगरवासी प्रतीको श्रद्धा र विश्वास अझै गुमेको छैन। अझै थपिएको छ। भन्न त यो देश सतिले सरापेको देश हो । यहाँ जसले राम्रो गर्छ, राम्रो सोच्छ, त्यसको कहिल्यै भलो हुँदैन, भनिन्छ तर यसको अर्थ यो पनि होइन कि असल कर्म गर्न नै छोडिदिऊँ । जिन्दगी एउटा यात्रा हो । यो यात्रा परिवर्तनकामी हरुको लागि सहज छैन भन्ने थाहा छ। तर पनि हामी सँगै हिँड्ने छौँ हात काँध मिलाएर ।

यो चुनावमा जित्नु , हार्नु मेरो लागि ठूलो कुरा होइन। जुन जीवनशैलीमा म जीवन जिउँछु त्यसमा मलाई जितले खुसि र हारले दुखी बनाउँदैन। किनभने म आशक्ति बाट टाढा छु । तर पनि जितको एउटा गुन्जायसले मात्रै पनि एउटा परिवर्तनका लागी केही गर्छु भन्ने एउटा मौका केही समयका लागि पर सारेको छ। केही छैन तपाईंको यो माया र विश्वासको अनादर गर्ने छैन।
म व्यास नगर पालिका प्रतिको मेरो दायित्व सदैव निभाउने प्रयास गर्नेछु । व्यास नगर बासीले गर्नुभएको मायाको सदैव ऋणी छु । जसलाई जीवनको अन्तिम समय सम्म चुकाउने भरमग्दुर प्रयास गर्नेछु। मलाई व्यासवासीको अनुहारमा हाँसो देख्नु छ । अझ त्यो हाँसको कारण बन्नु छ ।

अन्तमा फेरिपनि सम्पूर्णमा हार्दिक आभार व्यक्त गर्दछु।

म हारेर जित्ने यूद्ध लड्दैछु
नचाहेरै बनि क्रुद्ध लड्दैछु
नगर भो तिमी निसाफका कुरा
किनकी म आफ्नै विरुद्ध लड्दैछु ।।

उही तपाईहरुको,
दीपकराज जोशी
व्यास नगरपालिका तनहुँ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि damaulinews.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्

कभर स्टोरी