सभाहलको बीपी सदन नामाकरणपछि तातेको बहस

  • ख-
  • ख+

विकास खनाल
दमौलीः
व्यास ३ बीपी वनवाटिकामा निर्माण सम्पन्न भएको सभाहलको नामाकरण सम्बन्धमा नयाँ बहस सुरु भएको छ ।

व्यास नगरपालिकाको हालै सम्पन्न बैठकले बीपी सदन जिल्ला सभाहल नामाकरणको लागि निर्णय गरेपछि यसले नयाँ बहस जन्माएको हो । व्यास नगरपालिकाका प्रमुख बैकुण्ठ न्यौपानेको अध्यक्षतामा बसेको बैठकले गरेको उक्त निर्णय पछि सर्वसाधारणको मिश्रित प्रतिक्रिया आएको छ ।
केहीले पुरानै नाम यथावत राख्न माग गरेका छन् भने केही बीपी वनवाटिकाको ठाउँमा बनेकाले अहिलेकै नामाकरण ठीक भनेका छन् । तर, विस्तारै यो बहस राजनैतिक हुने खतरा भने देखिएको छ ।

नामका सम्बन्धमा अहिले सामाजिक सञ्जाल भरिएको छ र यसले राम्रै बहस पाएको छ । केहीले व्यासको नाममा राख्नुपर्ने धारणा राखेका छन् भने विपक्षमा रहेका केहीले शक्तिको आडमा मनलाग्दी भएको जिकिर गरेका छन् ।

नेपालका पूर्वप्रधानमन्त्री बीपी कोइरालाले विसं ०३६ सालमा सम्बोधन गरेको ऐतिहासिक स्थल रहेकोले उक्त सभाहलको नामाकरण बीपी सदन जिल्ला सभाहल दमौली राख्ने निर्णय भएको नगरपालिकाले जनाएको छ ।

नाममा कांग्रेसको अपनत्व हुने विपक्षमा रहेकाको तर्क छ । कतिपयले खुलेर लेखे पनि केहीले भने अप्रत्यक्ष रुपमा त्यस्तो चासो जनाएका छन् ।

भवन सम्पन्न भएपछि संञ्चालनको जिम्मेवारी व्यास नगरपालिकालाई दिनको लागि जिल्ला समन्वय समिति मार्फत संम्बन्धित निकायमा अनुरोध गरी पठाउने निर्णय समेत बैठकले गरेको छ ।
‘तनहुँ सभाहल’ नाम राखिएको भवन निर्माणमा सरकार र विदेशी दाताको संयुक्त कोष छ । २३ करोड ६२ लाख ४३ हजार ३ सय ३१ रुपैयाँ लागतमा निर्माणाधीन भवनको निर्माणको काम श्री डाँफे एमए प्रतिष्ठा जेभी काठमाडौंले गरिरहेको छ ।

शभाहलको काम अब अन्तिम चरणमा पुगेको छ । सधैं विभिन्न विषयमा चर्काचर्की पर्ने दमौलीका चिया पसललाई अबका केही दिन यही विषयले मसला दिने भने पक्का छ ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि damaulinews.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्

कभर स्टोरी