म्याग्देका किसानलाई फलफूल बगैंचा व्यवस्थापनको व्यवहारिक तालिम

  • ख-
  • ख+

म्याग्दे : म्याग्दे गाउँपालिकाका किसानलाई फलफूल बगैंचा व्यवस्थापन सम्बन्धी तालिम प्रदान गरेको छ ।


फलफूल तथा तरकारी मूल्य श्रृंखला विकास आयोजनाको सहयोगमा गाउँपालिकाले वडा नं ४ र ५ का किसानलाई फलफूल बगैंचा व्यवस्थापन सम्बन्धी स्थलगत तालिम एवम् भ्रमण कार्यक्रम आयोजना गरेको गाउँपालिकाको कृषि शाखा प्रमुख प्रतिज्ञा देवकोटाले बताइन् ।


यस कार्यक्रममा सहभागीहरुले सुन्तला खेतीमा सहयोग हुने विभिन्न किसिमका उपकरण ग्रासकटर, पावर स्प्रेयर आदिका फाइदा, चलाउने विधिका बारेमा जानकारी लिनुका साथै वडा नं २ उमाचोकका नमूना सुन्तलबारी अवलोकन समेत गरेका थिए ।


तालिम कार्यक्रममा किसानहरुले बोर्डो मिश्रण, पेष्ट र पेन्टका फाइदा, बनाउने विधि एबम् बोटमा लगाउँदा ख्याल गर्नुपर्ने कुराहरूका बारेमा स्पष्ट जानकारी लिएका थिए ।


सहभागी कृषकहरूले यसै कार्यक्रममा नीलो तुथो र चुनाको मिश्रण र पेष्ट तयार गरी सैद्धान्तिक ज्ञानलाई व्यवहारमा उतारेर अझ बढी स्पष्ट भएका थिए।

कृषकहरुलाई सम्पूर्ण क्रियाकलापमा सहभागी गराएर सैद्धान्तिक ज्ञानलाई व्यवहारिकता प्रदान गर्ने यस कार्यक्रमको मुख्य उद्दश्य रहेको देवकोटाले बताइन् । हलमा बसेर सुन्नु भन्दा आफूहरु नै समूहमा मिलेर काम गर्दा बढी फलदायी भएको सहभागी कृषकहरुले बताएका थिए ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि damaulinews.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्