ल्याण्डफिल साइटका लागि जग्गा किन्दै म्याग्दे

  • ख-
  • ख+

विकास खनाल

म्याग्देः म्याग्दे गाउँपालिकाले फोहोरमैला व्यवस्थापन ल्याण्डफिल साइट निर्माणका लागि जग्गा खरिद प्रक्रियालाई अगाडि बढाएको छ । तीव्र शहरीकरणको अवस्थामा रहेको म्याग्देमा समयमै फोहोरमैला व्यवस्थापनको लागि ठाउँ व्यवस्थापन गर्न नसके भोलिका दिनमा झनै ठुलो समस्या आउन सक्ने भन्दै अहिले नैँ प्रक्रिया अगाडि बढाइएको गाउँपालिकाका उपाध्यक्ष बालकृष्ण घिमिरेले बताए ।

‘२४ रोपनी जग्गा खरिद गर्ने प्रक्रिया अघि बढाएको छ । म्याग्दे २ स्थित बहपुर भन्ने ठाउँमा दीर्घकालीन रुपमा फोहोरमैला व्यवस्थापन गर्नको लागि आठ जनाको नाउँमा रहेको जग्गा किन्न लागेका हौं,’ घिमिरेले भने । यसका लागि संघीय सरकारबाट २ करोड २४ लाख बजेट समेत बिनियोजन भैसकेको गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत नारायणप्रसाद अधिकारीले जानकारी दिए ।

‘जग्गा किन्न प्रक्रिया झन्झटिलो हुने रहेछ , सबैलाई चित्त बुझाउन र भोलि कुनै अप्ठ्यारो नआओस भन्न ३५ दिने सुचना निकालेका छौं , अब जग्गा प्राप्त हुने बित्तिकै ल्याण्डफिल साइटको काम अगाडि बढ्छ,’ अधिकारीले भने ।

सोही ठाउँमा फोहोर व्यवस्थापन स्थल बनाउन सकिए पचासौं वर्षलाई ढुक्क हुने अपेक्षा गाउँपालिकाले गरेको छ । बहपुर सुन्तला खेतीको पकेट क्षेत्र भएकोले कुहिने वस्तुलाई प्रांगरिक मल प्रयोग गर्ने उद्देश्य राखेको गाउँपालिका अध्यक्ष मायादेवी रानाले बताइन् ।

त्यसले पनि किसानलाई फाइदा पुर्याउँछ रानाले भनिन् । गाउँपालिकामा हालसम्म सबै वडाले वडागत रुपमा फोहोर व्यवस्थापन गर्दै आएपनि व्यवस्थित रुपमा फोहोर व्यवस्थापन स्थल व्यवस्था गर्न सकिरहेको छैन ।

नकुहिने बस्तुलाई प्रसोधन गरी फोहोरलाई मोहरमा परिणत गर्ने योजना समेत राखेको अध्यक्ष रानाले बताइन् । साथै त्यस क्षेत्रमा रहेका बस्तीका मानिसहरुलाई समेत रोजगारको व्यवस्था मिलाइने गाउँपालिका कार्यालयले जनाएको छ । अहिले म्याग्दे गाउँपालिका बाट दैनिक चार टन भन्दा बढी फोहोर निस्कने गरेको छ ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि damaulinews.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्

कभर स्टोरी