‘जेठ ४ गते स्थानीय चुनाव’

  • ख-
  • ख+

काठमाडौंः सरकारले २०७९ साल जेठ ४ गते स्थानीय तहको निर्वाचन गर्ने भएको छ । सरकार र निर्वाचन आयोगबीच स्थानीय तहको निर्वाचन आगामी जेठ ४ गते बुधबार एकै चरणमा गर्ने समझदारी बनेको हो ।

मंगलबार दिउँसो प्रधानमन्त्री शेरबहादुर देउवासँगको भेटमा निर्वाचन आयोगले जेठ ४ गते एकै दिन निर्वाचन गर्नेसहितको ६ पृष्ठ लामो प्रस्ताव पेस गरेको थियो ।

२०७४ वैशाख ३१ गते, असार १४ गते र असोज २ गते गरी तीन चरणमा सम्पन्न स्थानीय तहको निर्वाचनबाट निर्वाचित पदाधिकारीहरूको पदावधि नेपालको संविधान बमोजिम २०७९ जेठ ५ मा समाप्त हुने भएकाले सो अगावै स्थानीय तहको निर्वाचन सम्पन्न गर्नु नेपाल सरकार र आयोगको संवैधानिक एवं कानुनी दायित्व भएको आयोगले सरकारलाई स्मरण गराएको छ ।


यसअघि आयोगले एकै चरणमा भए वैशाख १४ र दुई चरणमा भए वैशाख १४ र २२ गते स्थानीय तहको निर्वाचन गर्न सरकारलाई सुझाव दिएको थियो । यसमा सत्तारुढ गठबन्धन भित्रको मतभेदका कारण सरकारले स्थानीय तहको निर्वाचनको मिति तोक्न सकेको थिएन ।

प्रधानमन्त्री देउवाले कानुनमा संशोधन नगरी जेठ ४ मै स्थानीय निर्वाचन गर्न सहज हुने सहमतिपछि आयोगलाई छलफलका लागि बोलाएका थिए । स्थानीय तहका जनप्रतिनिधिको पदावधि आगामी जेठ ५ गते सकिँदैछ ।
यस अघि पनि जेठ पहिलो साता निर्वाचन गर्न उच्चस्तरीय राजनैतिक संयन्त्रले सरकारलाई सिफारिस गरेको थियो ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि damaulinews.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्

कभर स्टोरी