शिक्षक संघ तनहुँ अधिवेशनः नेतृत्वमा दर्जन बढी आकांक्षी, को कसका उम्मेदवार ?

  • ख-
  • ख+

विकास खनाल
दमौलीः
नेपाली कांग्रेसनिकट शिक्षकहरुको शुभेच्छुक संस्था नेपाल शिक्षक संघ तनहुँको अधिवेशन नजिकिएसँगै नेतृत्वको रस्साकस्सी शुरु भएको छ ।

जिल्लामै धेरै शिक्षक आवद्ध भएका कारण संघको नेतृत्व आफ्नो पक्षमा पार्न दावी गर्नेको संख्या बाक्लै छ । हालसम्म सार्वजनिक गरेका तथा चियापसलमा चर्चा चलेका तथा चलाइएकाको संख्या हेर्दा संघको अध्यक्ष पदमा दर्जन नाउँ सुनिएको छ ।

२८ सय मतदाताबाट भाग्य परीक्षा
झण्डै २८ सय मतदाता रहेको संघमा नेतृत्वका इच्छुकहरूले भेटघाट, टेलिफोनसम्पर्क पनि बढाएका छन् । हालसम्म हालका प्रदेश प्रतिनिधि रमेशबाबु भट्टराईका अलावा सचिव अर्थ नरेन्द्र न्यौपाने, संघीय प्रतिनिधि भरत काफ्ले, संघीय प्रतिनिधि ज्ञानेन्द्र न्यौपाने, उपाध्यक्षद्वय रसा गुरूङ र ओजराज बगाले, संघिय प्रतिनिधिहरू चन्द्रमणि कोइराला, रोहिणीराज पौडेल , भानु नगर अध्यक्ष उपेन्द्र बिष्ट, पुर्व सचिव पदम खनाल, रामदत्त पौडेल, मोहन गिरी लगायतका शिक्षक नेताहरू अध्यक्षको दौडमा देखिएका छन् ।

नेतृत्व दौडमा रहेका राहत शिक्षकहरुको संघर्ष समितिमा नेतृत्व गरिसकेका रमेशबाबु भट्टराईले त प्रचारप्रसार र भेटघाटलाई सार्वजनिक रुपमै देखिने गरी गति दिएका छन् । उनले आँफु नैं सबैभन्दा बलियो उमेदवार रहेको दावी गरेका छन् ।

भट्टराईले शिक्षक संघको विभिन्न भूमिकामा रहेर काम गरिसकेका छन् र शिक्षकलाई निजामती कर्मचारीसरह सेवा सुविधाका लागि मुद्दा दायर गरेर सर्वोच्च अदालतमार्फत नै हक दिलाउन आफू लागिपरेकाले आफू बलियो दावेदार रहेको भन्दै सर्वसम्मत हुने उनले दमौली न्युजसँग दावी गरे ।

कसैको उम्मेदवारी सामाजिक सञ्जालमा, कसैको चियापसलमा
संघको नेतृत्वमा चाहना गर्नेहरु सबैले सार्वजनिक रुपमा नाम दिने आँट भने गरेका छैनन् । ओजराज बगाले देखि उपेन्द्र बिष्टसम्मले सामाजिक सञ्जाल मार्फत आफ्नो इच्छा प्रकट गरिसकेका छन् ।

यद्यपि, शिक्षक नेताहरूले आफ्नो इच्छाले मात्रै नेतृत्व गर्न नपाउने र काङ्ग्रेस नेताहरूकै आशिर्वाद, समर्थन र सहयोगले मात्रै पाउन सक्ने राम्रोसँग बुझेका छन् । त्यसैले पनि आफ्नो नाममा चर्चा चलोस् भन्ने चाहनेले पनि सार्वजनिक रुपमा घोषणा गर्न भने हिच्किचाएका छन् ।

कसले पाउला नेताको आशिर्वाद ?
विगतका अधिवेशनलाई हेर्दापनि नेताहरूको समर्थन र सहयोगबीना कोही पनि उम्मेदवार सफल नभएको र कमजोर प्यानलबाट उठ्दा आफ्नो धरातल नै सकिने जोखिम रहेको देखिन्छ ।
जिल्लामा खासगरी गएका चुनावहरूमा कांग्रेस नेताहरू रामचन्द्र पौडेल र गोविन्दराज जोशीबीचको भिडन्त शिक्षक संघमा पनि देखिन्थ्यो ।

अहिले त्यसमा बढेर शंकर भण्डारी, ध्रुव वाग्लेको शक्ति पनि बढेको देखिन्छ । अहिले एकातिरबाट रामचन्द्र पौडेलका विश्वासपात्र बैकुण्ठ न्यौपानेले समर्थन गरेको टिम र भण्डारीले समर्थन गरेको टिम मात्रै होइन जोशीले नेतृत्व गरेको टिमबीच त्रिपक्षीय भिडन्त हुनसक्ने पनि देखिन्छ । नेता जोशीको शक्ति केन्द्रमा केही खस्किएपनि जिल्ला भित्र अझै पनि रहेको र शिक्षक संघमा त राम्रै पकड भएको बुझाइ धेरैको छ ।

र, त्यो यथार्थ पनि हो । जोशीले २०६० मा भर्ना गरेका थुप्रै शिक्षक हाल बहालवालामै रहेको र अन्य धेरै शिक्षक नेताहरू जोशीकै पक्षमा रहेकाले पनि त्यो देखाउँछ । सँगसँगै गएको चुनावमा उनकै समर्थनमा उनले उठाएका उमेदवार कमलभक्त पोख्रेलको जितले पनि नेता जोशीको शक्ति प्रमाणित गर्छ ।

जोशीका उम्मेदवार बिष्ट ?
अहिले खासमा भानुका शिक्षक नेता उपेन्द्र बिष्ट आफूलाइ जोशीको बलियो उमेदवारको रूपमा आफुलाइ प्रस्तुत गर्ने र जसरी पनि जित्ने रणनीतिका साथ अगाडि बढेको देखिन्छ ।

यस्तै हालका उपाध्यक्ष ओजराज बगाले शंकर भण्डारीकै गाउँको भएको र उनीनिकट पनि रहेकोले त्यो टिमबाट टिकट लिइ चुनाव जित्ने रणनीतिमा रहेको चर्चा छ ।
तर, रमेशबावु भट्टराई पनि त्यही टिममा रहेकाले बगालेलाइ टिकट पाउन त्यति सजिलो देखिँदैन ।

बैकुण्ठ समूहबाट को ?
यता, पार्टी सभापतिमा पराजित बैकुण्ठ न्यौपाने प्यानलबाट भरत काफ्लेले इच्छा परेको देखिन्छ । उनीसँगै हालकै उपाध्यक्ष रसा गुरूङ लगायतका धेरै इच्छुक रहेकाले अहिले नैं भन्न सकिने अवस्थामा भने त्यहाँ भित्र पनि छैन । अझै न्यौपानेका छोरा नरेन्द्र न्यौपाने स्वयम् पनि रहेकाले त्यहाँ पनि रस्साकस्सी हुने देखिन्छ ।

त्यसो त न्यौपाने टिमले जनजातिवर्गको भोट तान्न रसालाइ दिनसक्ने सम्भावना पनि छ , क्षेत्र नं १ मा आफुहरू बलियो रहेको र २ को उमेदवारलाई उठाउँदा त्यहाँको भोट पनि थप्न सकिन्छ भन्ने त्यो समुहको बुझाइ छ ।

शिक्षकवृत्तमा चर्चा चलेअनुसार भट्टराई र बिष्ट कुनै हालतमा चुनाव उठ्ने लाइनमा देखिन्छन् । तर, चुनावी दिन आइपुग्दासम्म साँच्चै उठ्ने र बलियो दावेदार उम्मेदवारको अन्तिम खाका आउनेछ ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि damaulinews.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्