बनेको सात महिनामा पनि चलेन पशु बधशाला

  • ख-
  • ख+

देव गजमेर
दमौलीः
दमौली व्यास नगरपालिकाको सहयोगमा बनेको पशु बधशाला निर्माण सकिएको सात महिना पुग्दा पनि सञ्चालनमा आउन सकेको छैन ।

व्यास नगरपालिका वडा नम्बर ३ देउरालीनगर, बिघरेमा झण्डै ६० लाख भन्दा बढीको लगानीमा बधशाला निर्माण गरिएको हो ।

अहिले जथाभावी काटिएको मासुलाई व्यवस्थित गर्न र सफाइका दृष्टिले पनि बधशाला आवश्यक भएको भन्दै नगरपालिकाले आफ्नै बजेटमा निर्माण गरेको हो । तर, पटक–पटकको प्रयासमा पनि व्यास नगरपालिकाले बधशाला संचालनमा ल्याउन नसकेको स्थानीय बताउँछन् ।

असोज १ गते संचालनमा ल्याउन भनिएको थियो । बधशाला संचालनमा ल्याउन भन्दै, केहि स्थानीयलाई घर निर्माणका लागि भनि ल्याईएको सामान बाटोबाट हटाउन भनिएको थियो ।

मासु व्यवसायी संघले चलाउँछः नगरपालिका
व्यास नगरपालिका वडा नम्बर ३ का वडा अध्यक्ष प्रेमकुमार श्रेष्ठले भने नगरपालिकाले तनहुँ मासु व्यवसायी संघलाई सञ्चालनको जिम्मा दिई सकेको बताउँछन् । ‘अब संघले नै चलाउनुपर्ने हो, अब सञ्चालन हुन्छ होला’, उनले भने ।

तनहुँ मासु व्यवसायी संघका निवर्तमान अध्यक्ष मनबहादुर कुँवरले संचालनमा व्यवस्थापन नमिलेको भन्दै मासु बधशालामा काट्न जान नसकेको बताए । तनहुँ मासु व्यवसायी संघका अध्यक्ष जीवन शाहीले छिट्टै बधशाला संचालनमा आउने जिकिर गरे ।

दमौली न्यूजसँगको कुराकानीमा उनले भने, ‘केही काम बाँकी भएर हो, अब एक दुई दिनमै सञ्चालन हुन्छ ।’

बजारका विभिन्न भागमा पशुबध हुँदा यसले फोहोर हुनुका साथै रोग संक्रमणको सम्भावना पनि बढाउने गरेको छ ।

दमौलीको मासु बजार साथै बजार आसपासका भागहरुमा साँघुर ठाउँमा पशुबध हुँदा त्यसले ती ठाउँहरु पनि दुर्गन्धित बनाइरहेको छ ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि damaulinews.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्

कभर स्टोरी