सत्यवतीको अध्यक्षका लागि किरियापुत्रीदेखि पूर्वशिक्षकसम्म मैदानमा

  • ख-
  • ख+

दमौलीः पटक पटकको सहमतिय प्रयास सफल नभए पछि सत्यवती माविले मतदानमार्फत विद्यालय व्यवस्थापन समितिको चयन गर्दैछ । झण्डै दुई हजार अभिभावक सदस्य रहेको विद्यालयको नेतृत्वका लागि किरियापुत्रीदेखि पूर्वशिक्षकसम्म दावेदार छन् ।
पटक पटकको सहमतीय प्रयास सफल नभए पछि विद्यालयले शनिबार मतदानमार्फत नेतृत्व चयन गर्ने निर्णय गरेको थियो । चार जना आकांक्षीबीच सहमतिको प्रयास सफल नहुँदा हालसम्म व्यास २ का वडाध्यक्ष काशिराम श्रेष्ठ नेतृत्वको एक समितिले विद्यालयको जिम्मेवारी सम्हालीरहेको छ ।
किरियापुत्री, पूर्वशिक्षक र पदाधिकारीसम्म मैदानमा
विद्यालयको नेतृत्वका लागि यस अघि शिक्षक अभिभावक संघमा रहेका तर हाल पितृशोकमा परेका सुरेश वाग्ले, पूर्व शिक्षक करुण काफ्ले, पूर्व पदाधिकारी माधव अधिकारी तथा अभिभावक सूर्यचन्द्र लम्साल गरी चारजना मैदानमा छन् ।

दोहोरिन लागेको चुनावी इतिहास
यस अघि नै शनिबार मतदानको मिति तय गरिए पनि वाग्लेका पिता रविचन्द्रको निधन भए पछि चुनाव सर्ने आशंकाकाबीच निर्धारित मितिमै निर्वाचन हुन लागेको हो । बिहान ८ बजे शुरु भएर दिउँसो ३ बजेसम्म चल्ने मतदानमा करिब १२ सय मत खस्ने आँकलन गरिएको छ ।
यस अघि पनि मतदानमार्फत नै सूर्य अधिकारी विव्यस अध्यक्ष निर्वाचित भएका थिए । यसपाली पनि इतिहास दोहोरिने भएको छ ।

कांग्रेसनिकट ३, एमालेनिकट १ मैदानमा

चुनावमा विजयी हुनेमा सबै विश्वस्त छन् । वाग्ले, काफ्ले र लम्साल कांग्रेसनिकट हुन् भने अधिकारी एमालेनिकट छन् । कांग्रेस नेतृत्वले पार्टीनिकट एकजना उम्मेदवार तय गर्ने प्रयास गरे पनि एक अर्का नेताले आ आफूनिकट उम्मेदवार च्यापेपछि नेतृत्व चयन चुनावी प्रक्रियामा जान लागेको हो ।
वाग्लेले आफ्नै कारण नेतृत्व चयन रोकिन लागेकाले किरिया बस्दै गरे पनि मतदानमा जान लागेको बताए । उनले आफू अभिभावकमाझ लोकप्रिय भएकाले विजयी हुने विश्वास व्यक्त गरे ।
काफ्ले आफू पूर्वशिक्षक भएको र अभिभावकका समस्याबारे जानकार रहेकाले अभिभावकको साथ रहेको दावी गर्छन् ।
उता, लम्सालले पनि आफूलाई अभिभावककै तर्फबाट अनुरोध आएकाले सक्षम उम्मेदवारका रुपमा उत्रिएको बताए । अधिकारी यस अघि नै सफलतापूर्वक कार्य गरेकाले दावेदार रहेको बताउँछन् ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि damaulinews.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्

कभर स्टोरी