सम्बन्ध बनाउन हिंडेको साईकलयात्रीको समूहलाई दमौलीमा सम्मान (तस्बिरहरु )

  • ख-
  • ख+

दमौलीः पर्यटनले थिलोथिलो पारेको पर्यटन व्यवसायलाई चलायमान बनाउन घुम्ने संस्कृति विकासका लागि भन्दै विश्व साईकलयात्री पुष्कर शाहको नेतृत्वमा थालिएको ईलामदेखि रारासम्मको साईकलयात्रा अभियानका सहभागीलाई दमौलीमा स्वागत गरिएको छ ।

व्यास नगरपालिकाको आयोजनामा सहभागी झण्डै ४० यात्रीलाई दमौलीमा स्वागत तथा सम्मान गरिएको हो । दुम्सीका साईकल यात्री विनोद सापकोटा समेत सहभागी टोलीलाई व्यास नगरपालिकाले आफ्नै कार्यालयमा कार्यक्रम गरी सम्मान गरेको हो ।

नगर प्रमुख वैकुण्ठ न्यौपानेले व्यास नगरपालिकाले समेत पर्यटकीय प्रवद्र्धनका लागि विगतमा म्याराथन र महिला दौड प्रतियोगिता गरेको भन्दै साईकल यात्रा सफलताको कामना गरे ।

दमौलीमा महर्षि वेदव्यासको एक सय आठ फिट अग्लो मूर्ति निर्माणको काम थालिएको भन्दै उनको जन्मथलो दमौलीको प्रचारमा समेत यात्रीहरुबाट सहयोगको नगर प्रमुख न्यौपानेले अपेक्षा गरे ।

नगरपालिकाले कृषिसँगै पर्यटनमा समेत जोड दिएको उनले बताए ।
नगर उप प्रमुख मिरा जोशीले व्यास नगरपालिकाको समेत गौरव बढाउने गरी यात्रा गरेको भन्दै सफलताको शुभकामना दिइन् ।

नगर प्रमुख न्यौपानेलाई झापाको बिर्तामोडका तर्फबाट पठाइएको चिनो हस्तान्तरण गर्दै साईकलयात्री शाहले कोभिडका कारण पर्यटन व्यवसाय नै ठप्प भएका बेला यसलाई ब्युँताउन घुम्ने संस्कृतिको विकास गर्न ४० बढी साईकलयात्री लागिपरेको बताए ।

विश्वकै लामो साईकल यात्रा रहेको भन्दै उनले यसले पर्यटनमा सघाउने विश्वास व्यक्त गर्दै व्यास नगरपालिकालाई स्वागतका लागि आभार प्रकट गरे । नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत डिल्लीराम सिग्देलले नगरपालिकाले यसरी साईकल यात्रीलाई स्वागत गर्न पाउँदा खुशी लागेको भन्दै स्वागत गरे ।

रोटरी क्लब अफ दमौलीका अध्यक्ष दिनेशकुमार श्रेष्ठले पर्यटन प्रवद्र्धनको पवित्र उद्देश्य पुरा गर्न यात्रीहरुलाई शुभकामना दिए ।


श्रृजनशील युवा मञ्चका अध्यक्ष पवन पौडेलले यात्रीलाई व्यासभूमिले स्वागत गरेको भन्दै पूर्वीय दर्शनका प्रमुख ग्रन्थकार महर्षि वेदव्यासको भूमिबारे प्रचारमा यात्रीहरुबाट सहायताको अपेक्षा गरे ।

यात्रीहरुले दमौली बजारको परिक्रमा पश्चात साईकल स्टेशनले समेत सम्मान गरेको थियो । रारासम्म पुग्ने यात्राका क्रममा टोली बुधबार भने पोखरामा बस्नेछ ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि damaulinews.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्

कभर स्टोरी