व्यास मूर्तिका लागि नगरपालिकाले चार करोडको टेण्डर गर्ने

  • ख-
  • ख+

दमौली: व्यासको एक सय आठ फिट अग्लो मूर्तिका लागि चार करोड रुपैयाँमा टेण्डर गरिने भएको छ ।

व्यास क्षेत्र शिव पाञ्चायन विकास कोषले निर्माण गर्न लागेको व्यासको मूर्तिका लागि व्यास नगरपालिकामार्फत टेण्डर प्रक्रिया अघि बढाइन लागिएको कोषका अध्यक्ष अशोककुमार श्रेष्ठले जानकारी दिए । ‘अब काम अघि बढाउन तत्काल ईबिडिङमार्फत प्रक्रिया अघि बढाइएको छ,’ उनले भने,‘नगरपालिकाले सहजीकरण गरिदिंदा काम अघि बढाउन सहज हुनेछ ।’


व्यास नगरपालिकामार्फत टेण्डर प्रक्रियाका लागि कोषले महायज्ञबाट संकलन गरेको डेढ करोड रुपैयाँ व्यास नगरपालिकाको खातामा पठाउनेछ । यसैगरी कोषले थप ५० लाख सहयोग शंकलन गर्नेछ ।

प्रदेश सरकारबाट आउने प्रतिवद्धता आएको ५० लाख तथा व्यास नगरपालिकाले दिने प्रतिवद्धता जनाएको डेढ करोड रुपैयाँ समेत गरेर तत्कालका लागि चार करोडमा बहुवर्षिय निर्माणका लागि टेण्डर आह्वान गरिने अध्यक्ष श्रेष्ठले बताए ।


कोषका सदस्य दिनेशकुमार श्रेष्ठले टेण्डर आह्वानपूर्व नै कोषको खातामा रहेको रकम नगरपालिकाको खातामा जम्मा गरिने जानकारी दिए ।


व्यास नगरपालिकाले यससम्बन्धमा कोष, प्राविधिक तथा जनप्रतिनिधिबीच छलफल गरेको थियो । नगर प्रमुख बैकुण्ठ न्यौपानेको अध्यक्षतामा बसेको बैठकले नगरपालिकमार्फत टेण्डर प्रक्रिया अघि बढाउने निर्णय गरेको थियो ।

तर निर्माणको अनुगमन र अरु काममा भने कोषको पनि भूमिका रहनेछ । कोषले यसका लागि परामर्शदाता छनोट समेत गर्ने तयारी गरेको छ ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि damaulinews.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्

कभर स्टोरी